प्रधानमन्त्रीको चीन भ्रमण नेपालको लागि कोसेढुङगा : परराष्ट्रमन्त्री थापा

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा

बुटवल/ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत र चीन भ्रमणमा भएका सम्झौताबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताएका छन् । छिमेकी दुई मुलुक भारत र चीनबीच भएका आर्थिक, व्यापारिक र पारबहन सम्झौता कार्यान्वन गरी नेपाललाई आगामी नेपाललाई पा“च वर्षभित्र विकशित राष्ट्र बनाउनुपर्नेमा जोड दिए ।

राप्रपा नेपालले सोमबार बुटवलमा आयोजना गरेको हिन्दुत्व जागरण शभालाई संबोधन गर्दै थापाले मुलुकलाई आर्थिक समृद्विको लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । थापा आइतबार मात्र चीनबाट स्वदेश फर्केका हुन ।प्रधानमन्त्रीको भारत र चीन भ्रमण नेपालको लागि कोसेढुङगा सावित भएको छ, थापाले भने, ‘अब यही उपलब्धीलाई कार्यान्वन गरी दुई विकशित राष्ट्रको बीचमा रहेको नेपालले पारबहन, व्यापार, इन्धन सम्झौताको फाइदा लिए विकशित राष्ट्र बन्नुपर्छ ।’

राप्रपा नेपालका अध्यक्ष समेत रहेको मन्त्री थापाले आफ्नो पार्टी सरकारमा गए पनि संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुनुपर्ने माग नछोडेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टीलाई सरकारमा गएपछि हिन्दु राष्ट्र, संघीयता होइन सुद्विढ स्थानीय सत्ता र संवैधानिक राजतन्त्रको माग छोडिएको छैन ।’ उनले राप्रपा नेपाल अबको निर्वाचनमा पहिलो शक्ति बनेर नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने भन्दै अबको निर्वाचनमा आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह समेत गरे ।

उपप्रधानमन्त्री कमल थापाले धर्मनिरपेक्ष राष्ट्र विदेशीको इशारामा भएको बताए । उनले संविधानसभामा आफ्नो पार्टीले धर्मनिरपेक्षताको विपक्षमा मतदान गरेको भएपनि आफूहरुको कुनै सुनुवाई नभएको बताए । थापाले जनताको अभिमत विपरित धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको बताए । हिन्दु राष्ट्रको पक्षमा राप्रपा मात्रै उभिएको भन्दै अब आम नेपालीको आवाज बन्नुपर्नेमा जोड दिए ।

नेपाल विश्वमै सनातन हिन्दुहरुको देश भएकाले धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्रको पक्षमा आफुहरु रहेको उनको भनाइ छ । उनले संविधान सर्वगुणयुक्त नभएको भन्दै अब अन्य पार्टीको लागी पनि धर्मनिरपेक्ष घा“डो भएको बताए । ‘संविधान जारी भएको छ, तर कार्यान्वयनमा समस्या छ’ उनले भने ।नया“ संविधानले सबै राजनीतिक पार्टीका विचार-भावना समेटन नसकेको उनको भनाइ छ ।

थापाले अब मुलुकमा हिंसा होइन शान्ति मार्फत देशको आर्थिक समृद्धि गर्न लाग्न सबै राजनीतिक दलहरुलाई एकजुट बन्न आग्रह समेत गरे ।थापाले नेपाली जनताले कहित्यै आवाज नउठाएको धर्म निरपेक्ष राष्ट्र बनाउनु ठूलो भूल भएको बताए । उनले जनताको माग बिना संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र राखिएकोमा आफूहरुको आपत्ति रहेको बताए ।

उनले कांग्रेस एमालेका नेताहरुले पछाडि नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भने पनि निर्णायक अवस्थामा उनीहरुले धोका दिएपछि नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुगेको बताए । त्यही भएर राप्रपा नेपालले नया“ संविधानमा हस्ताक्षर नगरेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री निरञ्जन थापाले नेपाली जनताको माग बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको बताए । उनले प्रमुख राजनीतिक दलहरुले विदेशीको डलरको खेती गरेर नेपाललाई हिन्दू राष्ट्रबाट हटाएर धर्म निरपेक्ष राष्ट्र बनाएको दाबी गरे ।

उनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएले राजनीतिक पार्टीले ठूलो धोका दिएको दाबी गरे । त्यस्तै पार्टीका महामन्त्री राजेन्द्र लिङ्देलले नेपाललाई हिन्दू राष्ट्र नबनाए आगामी पुस्ता हामीहरुलाई धिक्कार गर्ने दाबी गरे । कार्यक्रममा जिल्लाका विभिन्न गाविसहरुबाट पार्टीका कार्यकताहरु सहभागी थिए।