प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षको सबै नतिजा सार्वजनिक, एमाले सबैभन्दा अगाडी

last_updatमंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ क्षेत्रको नतिजा बुधबार बिहान सार्वजनिक भएको हो। विवादका कारण स्थगित भएर ढिलामात्र गणना भएको सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसका विजय गच्छदार विजयी भएसँगै प्रत्यक्षको सबै परिणाम सार्वजनिक भएको हो।

प्राप्त नतिजा अनुसार एमाले सबैभन्दा बढी ८० स्थानमा विजयी भएको छ। माओवादीले ३६, कांग्रेसले २३, संघीय समाजवादी फोरमले १० र राजपाले ११ स्थान जितेका छन्। पाँच स्थानमा भने अन्य एक सिटे र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नयाँ शक्ति, राप्रपा, राजमो, नेमकिपाले एक सिटमात्र जितेका छन् भने एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रदेशसभा प्रत्यक्षतर्फ ३३० सिट अर्थात् सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ।  बुधबार बिहान प्रदेशसभातर्फका सबै सिटको नतिजा प्रकाशित भएको हो। एमाले सबैभन्दा बढी १६८ स्थानमा विजयी भएको छ। माओवादी ७३, कांग्रेसले ४१, संघीय समाजवादी फोरमले २४ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १६ स्थानमा विजयी भएका छन्। अन्य पार्टीले भने दोहोरो सिट संख्या बनाउन सकेका छैनन्। नयाँ शक्तिले २, राष्ट्रिय जनमोर्चाले २ र नेमकिपाले एक सिट मात्र जितेका छन्। प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन्। प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा वाम गठबन्धन (एमाले र माओवादी) को वर्चश्व देखिएको छ।

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ ।

वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको भनिसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २३ सिट जितेको छ । त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।