पूर्व राजा ज्ञानेन्द्र दाङमा

Ex-King Dang 4पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार दाङ आएका छन् । उनले घोराहीस्थित गोरक्ष रत्ननाथ मन्दिर र अम्बिकेश्वरी मन्दिर दर्शन गरेका छन् । शाहले मन्दिरमा पूजाआजा गरी सबै शक्तिपिठहरुको अवलोकन पनि गरे । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीस्थित शिवपुरी धार्मिक स्थलमा पूजाअर्चना गरेका छन् । परिवारका सदस्यहरुका साथमा धनगढी उपमहानगरपालिका चार उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुगेर उनले पुजापाठ गरेका हुन ।

पूजापाठपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले जनताको विचमा आउन पाउदा खुसी मिलेको बताए । सो क्रममा पूर्व राजा शाहले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मूर्तिमा पुजा गरेका थिए । पूर्व राजा शिवपुरी धार्मिक स्थलमा आउने भनेपछि ठुलो संख्यामा सर्वसाधारण त्यहा पुगेका थिए । सो अवसरमा समर्थकहरुले पूर्वराजाको पक्षमा नारावाजी समेत गरेका थिए ।

केही दिनदेखि पश्चिम नेपालमा रहेका पूर्व राजा शाहले हिजो बर्दियाको गुलरियामा रहेको श्री बंगलामुखी मन्दिरमा पूजाअर्चना गरेका थिए । उनी बिहीबार डोटीको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम रहेको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको इतिहास र महत्वबारे प्रकाश पारेको थियो । समितिका पदाधिकारीले मन्दिरमा भएका समस्या पनि राखेका थिए । शाहले समस्या ध्यान दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन् ।

शाहलाई स्वागत गर्न समर्थकहरुको लामो लाइन लागेको थियो । स्वागतमा उपस्थित सयौं शुभचिन्तकहरुले ‘राजा आऊ, देश बचाऊ, हाम्रा राजा प्राणभन्दा प्यारा छन्,’ जस्ता नारा लगाएका थिए । समर्थकहरुले शाहलाई फूलमालाले स्वागत गर्दै विभिन्न समस्या पनि राखेका थिए । कतिपयले राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको गुनासो गर्दै शाहलाई देशको नेतृत्व गर्न आग्रह गरेका थिए । शाहले कुनै प्रतिक्रिया नजनाई सहमतिमा टाउको मात्रै हल्लाएका थिए ।

शाह नेपालगञ्जबाट गाडीमा लमही हुँदै घोराही आएका हुन् । लमहीको अर्जुनखोलामा पनि देउखुरी क्षेत्रका समर्थकहरु स्वागत गर्न सडकमा आएका थिए । शाहले भ्रमणको उद्देश्य केही बताएका छैनन् । यसपछि नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ । केही दिनपछि सुर्खेत भ्रमणको कार्यक्रम रहेको  छ ।