नेपाल–भारत सिमाक्षेत्रको सुरक्षा व्यवस्था बढी संवेदनशील : रञ्जिता रञ्जन

भारतको बीरपुरमा आयोजित नेपाल–भारतका सञ्चारकर्मी र सिमा सुरक्षा बल (एसएसबी) बिचको सेमिनारमा बोल्दै सुपौल जिल्लाकी लोकसभा सदस्य रञ्जिता रञ्जन ।
भारतको बीरपुरमा आयोजित नेपाल–भारतका सञ्चारकर्मी र सिमा सुरक्षा बल (एसएसबी) बिचको सेमिनारमा बोल्दै सुपौल जिल्लाकी लोकसभा सदस्य रञ्जिता रञ्जन ।

नेपाल–भारत सिमाक्षेत्रको सुरक्षा व्यवस्था बढी संवेदनशील र चुनौतीपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
आइतवार साँझ भारतको बीरपुरमा आयोजित नेपाल–भारतका सञ्चारकर्मी र सिमा सुरक्षा बल (एसएसबी) बिचको सेमिनारमा बोल्दै यस्तो चिन्ता व्यक्त गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि भारत सुपौल जिल्लाकी लोकसभा सदस्य रञ्जिता रञ्जनले भारत–नेपाल सिमावर्ती क्षेत्र अपराधको ठूलो अखाडा बन्दै गएको बताइन् ।
गत वर्ष पूर्णिया जिल्लामा मात्र १५ ओटा बलात्कारका घटना र २५ ओटा अपहरण भएको तथ्यांक प्रस्तुत गर्दै उनले ती अपराधमध्ये अधिकांशले भारत–नेपाल सिमा क्षेत्रको मार्ग प्रयोग गरेको खुलासा गरिन् । आफूले भारतीय गृहमन्त्रीसमेतलाई यसबारे ध्यानाकर्षण गराउने जानकारीका साथ रञ्जनले दुवै देशका सञ्चारकर्मीहरुलाई पनि यसबारेका समाचारलाई गम्भिरता र जिम्मेवारीका साथ प्रस्तुत गर्न आग्रह गरिन् ।

2जम्मु काश्मीर र पाकिस्तानको सिमा सुरक्षा भारत–नेपालको सिमा क्षेत्रका तुलनामा सहज रहेको भन्दै उनले यी दुवै बिचको  खुला सिमा, भाषा, भेषभुषा, संस्कृतिलगायतको समानताले गर्दा अपराधी र आम नागरिक छुट्याउन गाह्रो हुने गरेको बताइन् । दुवै देश बिचको सिमा क्षेत्रमा तस्करी, अपहरण, चेलीबेटी बेचबिखन तथा अन्य विभिन्न अपराधहरु हुने गरेकोले यसबारे जिम्मेवारीका साथ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई लोकसभा सदस्य रञ्जनले आग्रह गरिन् ।
बिरपुर स्थित एसएसबी १८नम्वर बाहिनीका बाहिनीपति डि.एन. बम्बोईले रोटी बेटीको सम्बन्ध भएको भारत–नेपाल सिमा क्षेत्रमा सुरक्षाको काम बढी चुनौतीपूर्ण रहेको भन्दै आफूहरुले नेपालतर्फका सिमा सुरक्षामा खटेका सुरक्षाकर्मी समेतको समन्वयमा काम गर्दैआएको दावी गरे । उनले सिमावर्ती क्षेत्र आसपासको सुरक्षा, बोर्डर क्राइम, तस्करी रोक्नुका साथै बिपद्मा परेका जनतालाई उद्धार गर्ने काम समेत एसएसबीले गर्दैआएको जानकारीका साथ काम गर्दा हुने सामान्य गल्ती कमजोरीलाई समेत सच्याएर आफूहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । बम्बोईले यस्तो सेमिनार एसएसबीको बारेमा यदाकदा हुने गलतफहमी हटाउनसमेत मद्दत पुग्ने दावी गरे ।
कार्यक्रममा नेपालको सुनसरी, सप्तरी र बीरपुरका सञ्चारकर्मीसँगै विभिन्न राजनीतिक दलका नेताहरुसमेतको सहभागिता थियो ।