नेपाल–भारत सम्बन्धमा चोट पुग्नसक्छ : भारतीय दूतावास

MMS_1011-300x199भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डिसीएम) विनयकुमारले सप्तरी जिल्लाका मधेसवादी दलका नेताहरुलाई आन्दोलन चर्काउन आग्रह गरेको भन्ने समाचारप्रति दूतावासले गम्भीर आपत्ति जनाएको छ।

दूतावासका डिसीएम विनयकुमारले सबै पार्टीका जिल्ला नेतासँग भेटगरेको दूतावासले जनाएको छ। ‘डिसिएमले सबै दलका नेतासँग छलफल गरेका हुन्’, भारतीय दूतावासकी प्रवक्ता रुबी जस्पृत शर्माले सप्तरी जागरण ऑनलाइन सित भनिन्, ‘ करिब ७ मिनेट भएको सामुहिक डिनर छलफल वास्तवमा भारत सरकारको लगानीमा सञ्चालित विकास योजना केन्द्रित थियो।’

जिल्ला तहका नेतासँगको भेटमा विकास योजनाबारे मात्र कुराकानी भएको उनले बताइन्। ‘भेटमा कुनै राजनीतिक विषयमा कुराकानी भएको छैन। हाम्रा डिसिएम भारतीय लगानीका विकास योजनाबारे कुराकानी गर्न तथा स्वास्थ्य शिविरका लागि त्यहाँ पुग्नु भएको हो।’

मधेस आन्दोलन चर्काउन उक्साएको भन्ने समाचार तथ्यहीन भएको भन्दै उनले त्यस्ता समाचारले नेपाल—भारत सम्बन्धलाई अप्ठ्यारो पार्न सक्ने उल्लेख गरिन्। ‘केही मिडियामा जुन किसिमले समाचार आएको छ त्यसमा कुनै सत्यता छैन। यस्तो पीत पत्रकारिताले नेपाल—भारत सम्बन्धमा चोट पुग्न सक्छ।’

मंगलबार साँझ सप्तरीको राजविराज पुगेका भारतीय दूतावासका डिसीएम विनयकुमारले सप्तरीमा भारतीय दूतावास लगानीका पाँच योजना दश वर्षदेखि अलपत्र रहेकोले निकाश बारे कुराकानी गरेका थिए । ती योजनाको प्रगतिबारे भारतीय दूतावासले चासो राख्दै आएको प्रवक्ता शर्माले उल्लेख गरिन्।