नेपाली सेनाले गरे भगवती पोखरीको सरसफाई

राजविराज स्थित चण्डी भगवती पोखरीमा सरसफाई गर्दै कृष्णदल गण भलुवाही व्यारेकका सेनाको टोली
राजविराज स्थित चण्डी भगवती पोखरीमा सरसफाई गर्दै कृष्णदल गण भलुवाही व्यारेकका सेनाको टोली

लामो समयदेखि फोहोर रहेको राजविराज–१ मा पर्ने चण्डी भगवती मन्दिरको पोखरी नेपाली सेनाको टोलीले शुक्रवार बिहान सरसफाई गरेका छन् ।

कृष्णदल गण भलुवाही व्यारेकका सेनाको टोलीद्वारा उक्त पोखरीको सरसफाई गरिएको हो । दशैंको बेला मेलासमेत लाग्ने चण्डी भगवती मन्दिर आसपासको क्षेत्रलाई पनि सरसफाई गर्ने क्रममा पोखरी सफा गरी कामको थालनी गरिएको नेपाली सेनाका प्रमुख सेनानी भुवनेश्वर आचार्यले जानकारी दिए । उक्त पोखरीको सरसफाइ कार्य पुरा नभएको कारण सरसफाइ कार्यलाई निरन्तरता दिइने उनले बताए ।

सरसफाई गर्ने क्रममा निर्देशन दिदै श्रीकृष्ण दलका गणपति भुवानेश्वर आचार्य
सरसफाई गर्ने क्रममा निर्देशन दिदै श्रीकृष्ण दलका गणपति भुवानेश्वर आचार्य

दुईओटा प्लाष्टिकको बोटसमेत लिएर आएका नेपाली सेनाका जवानहरुले पोखरीको बिच भागसम्म पुगेर फोहोर तथा झारपात संकलन गरेका थिए । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराज नगरपालिका, वडा प्रहरी कार्यालय, युवा अभियान नेपालसमेतले सहभागिता जनाएका थिए ।

नेपाली सेनाको नेतृत्वमा गरिएको पोखरी सरसफाईले नगरवासीले प्रशंसा गरेका छन् । यतिमात्र होइन, नेपाली सेनाले विगतका दिनमा सप्तरीको विपद् व्यवस्थापन र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दैआएको छ । नव आगन्तुक गणपति आचार्यले समेत सप्तरीवासीको दुःखमा साथ दिने अपेक्षा गरिएको छ । विगतका दिनमा तत्कालिन गणपति राजेन्द्रमणि गिरीले सप्तरीमा कुशलतापूर्वक सर्वसाधारणसँग हातेमालो गरेर अगाडि बढेका थिए ।