नेपाली सेनालाई चीन सरकारको ५० करोड सहयोग

Rajendra-Chatri-Sapath-8चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ करोड चिनियाँ युआन (करिब ५० करोड) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । यसबाट नेपाली सेनालाई आधुनिकीकरण गर्न र क्षमता विकास गर्न सहयोग पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बेइजिङमा सोमबार दुवै सेना प्रमुखले सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । चीन भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ समकक्षी फाङ फङहवैसँगको भेटपछि सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले सेनाको क्षमता अभिवृद्धि गर्नका लागि चिनियाँ जनमुक्ति सेनाले तालिम उपलब्ध गराउने बताए । सेनाको मोबाइल अस्पताललाई अझै विस्तार र प्रभावकारी बनाउन तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि अत्याधुनिक उपकरण प्रदान गर्ने कुरा पनि सम्झौतामा उल्लेख छ ।

चिनियाँ सेनाले नेपाली सेनाका अधिकृतलाई चीनमा उपलब्ध गराउँदै आएको व्यावसायिक तालिमलाई अझै विस्तार गर्नेबारे पनि सम्झौता भएको छ । चिनियाँ सेनाले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाको पालामा मोबाइल अस्पताल तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि सहयोग उपलब्ध गराउन थालेको हो ।

सोमबार भएको भेटमा चिनियाँ सेना प्रमुख फाङले नेपाली सेनाको कार्यकुशलता र विश्व शान्तिमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति क्षत्रीले चिनियाँ सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाली सेनाले स्वतन्त्र तिब्बतको सधैं विरोध गरेको उल्लेख गरे ।

उनले दुई देशबीचको मैत्री सम्बन्धमा सैनिक सहयोग आदानप्रदानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । भेटमा दुई पक्षीय सहयोगसँगै आपसी अनुभव आदानप्रदानमा पनि कुराकानी भएको भ्रमण टोलीमा सहभागी एकजना सैनिक अधिकारीले बताए ।

नेपालमा गत वैशाखमा गएको भूकम्पको उद्धारमा नेपाली सेना र चिनियाँ उद्धार टोलीको सहयोगबारे पनि छलफल भएको थियो । चिनियाँ जनमुक्ति सेना प्राकृतिक प्रकोपको उद्धारमा विश्वमै पहिलो स्थानमा रहेको र नेपालको भूकम्पमा गरेको उद्धार कार्यले सबै नेपालीको मन जितेको भन्दै प्रधानसेनापति क्षत्रीले प्रशंसा गरेका छन् ।