नेपालमा बढ्दो चिनियाँ प्रभाव र भारत विरोधी गतिविधिबारे भारत जानकार : विदेश मन्त्रालय

Indiaभारतले चीनसँग इन्धन खरिद गर्ने नेपालको निर्णयले विद्यमान आपूर्ति तथा राजनीतिक संकटको समाधान दिन नसक्ने बताएको छ ।

जवाहरलाल नेहरू भवनमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले चीनबाट इन्धन खरिद गर्ने निर्णयले समाधान नदिने आशयको टिप्पणी गरेका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालको कुल आवश्यक्ता मध्ये दुई तिहाइ इन्धन वीरगंज रक्सौल नाकाबाट जाने गरेको उल्लेख गर्दै त्यहाँ भैरहेका प्रदर्शनको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिएका छन्। सीमा क्षेत्रमा देखिएको अवरोधले देशका अधिकांश भागमा चर्को इन्धन संकट निम्तिएको भन्दै सरकारले चीनबाट इन्धन खरिद गर्ने विकल्प अघि बढाएपछि भारतको पछिल्लो प्रतिक्रिया आएको हो।

रक्सौल (वीरगन्ज) नाका नखोली अन्यत्र जहाँबाट जसरी पेट्रोलियम पदार्थ ल्याए पनि स्थिति सहज नहुने संकेत गर्दै प्रवक्ताले नेपालमा बढ्दो चिनियाँ प्रभाव र भारतविरोधी गतिविधिबारे भारत जानकार रहेको बताए।

उनले मधेसी मोर्चाले नेपालमा जनाएको संविधानबारेको असहमति र नसुल्झेका राजनीतिक मुद्दालाई सम्बोधन गर्नै बाँकी रहेको बताउँदै हालै दिल्ली भ्रमणमा आएका नेपालका परराष्ट्रमन्त्री कमल थापाले ‘मधेस क्षेत्रमा देखिएको समस्या राजनीतिक भएको र यसलाई राजनीतिक प्रकृतिबाटै सुल्झाइने प्रतिबद्धता जनाएको’ बताएका थिए।

प्रवक्ता स्वरूपले अर्को एक जिज्ञासामा भारतमा सेवारत रहेर अवकाशप्राप्त पूर्वगोर्खा सैनिकको पेन्सन वितरण रोक्का भएकोबारे विदेश मन्त्रालयलाई जानकारी नरहेको स्पष्ट पारेका थिए। ‘नेपाल–भारत सम्बन्ध आफैंमा सांस्कृतिक, सभ्यतागत र ऐतिहासिक पहिचानमा जोडिएको छ,’ उनले भने, ‘दुई देशबीच रोटीबेटीको सम्बन्ध छ, नेपालको मधेस क्षेत्रमा देखिएको समस्या समाधानमा राजनीतिक तहमा वार्ता सुरु भइसकेको स्थिति छ।

आशा छ, दुई देशबीचको सम्बन्ध पुन: पुरानै स्थानमा आउनेछ।’ उनले भारतले पछिल्ला दुई वर्षमा २ अर्ब डलरको सहयोग अनुदान उपलब्ध गराएको सन्दर्भ उल्लेख गर्दै ‘तर, यो आर्थिक सहयोगका आधारमा मात्रै द्विदेशीय सम्बन्ध निर्धारित हुन नसक्ने’ स्पष्ट पारेका थिए।

प्रवक्ता स्वरुपले नेपालको एउटा पक्षले आफनो संबिधानप्रति असहमति राख्दै भारतीय सामान आपुर्ति हुन नदिएकाले पेट्रोलको आपूर्ति रोकिएको दावि गरे । नेपालमाथि भारतले कुनै किसिमको नाकाबन्दी नगरेको दोहो¥याउँदै उनले अवरोध नभएका नाका मार्फत भारतीय आयल निगमले नेपालको मागको एक तिहाइ इन्धन दैनिक पठाइरहेको उल्लेख गरेका थिए ।