नेपालको लागि भारतीय राजदूतमा पुरी सिफारिस

Manjeev-Singh-Puri-भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जितसिंह पुरीलाई सिफारिस गरेको छ। नेपाल सरकारले उनको एग्रिमो स्वीकृत गरेपछि उनी कार्यभार सम्हाल्न केही सातापछि काठमाडौं आउनेछन्। राजदूत रन्जित रे साढे तीनवर्षे कार्यकाल सकेर बुधबार स्वदेश फर्केका छन्।

‘नयाँ राजदूतमा मन्जितसिंह पुरीको नाम आएको छ’, काठमाडौंस्थित भारतीय दूतावास स्रोतले भन्यो, ‘नयाँ राजदूतको नाम बुधबार हामीले नेपालको परराष्ट्र मन्त्रालयमा पठाएका छौं।’
उनी हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत छन् ।

परराष्ट्र सेवा, राजनीतिक तह वा सुरक्षा निकायबाट को आउने भन्ने बहसपछि अन्तत: परराष्ट्र सेवा अनुभवी क्याडर नै नेपालका लागि राजदूतमा सिफारिस भएका छन् । नेपाल सरकारबाट अग्रिमा (सहमति) गएपछि उनी नेपालका लागि भारतीय राजदूत हुनेछन् ।बुधबार देखि नेपालमा भारतीय राजदूत खाली भएको छ । र, दूतावासका उपप्रमुख विनय कुमार (DCM) ले कार्यवहाक राजदूतको जिम्मेवारी सम्हालेका छन् ।

कूटनीतिक मामिलाका विज्ञ पुरी सन् १९८२ का व्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । उनले सन् २००९ देखि २०१३ सम्म न्युर्योक उपप्रमुख भएर काम गरिसकेका छन् । सन् २०११ देखि २०१२ सेक्युरिटी काउन्सिलको टिममा वरिष्ठ सदस्यको हैसियतमा काम गरेका थिए । विभिन्न देशमा रहेका भारतीय नियोग र दिल्लीस्थित मन्त्रालयमा रहेर काम गरेका पुरी १९५९ मा जन्मेका हुन् । उनी सेन्ट स्टेफेन्स कलेज दिल्लीका टपर हुन् ।

उनले एसिया प्यासिफिक पार्टनरसिप बोर्डको सदस्य भई काम गरेका थिए। पुरी सन् २००५ देखि २००९ सम्म भारतीय विदेश मन्त्रालयस्थित संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख थिए।

विदेश सेवामा रहँदा राजदूतमा प्रस्तावित पुरीले दुईपटक जर्मनीस्थित भारतीय दूतावासमा काम गरेका छन्। उनी जर्मन भाषमा राम्रो दख्खल राख्छन्। उनले जर्मनीको बर्लिनमा भारतीय सांस्कृतिक केन्द्र स्थापना गरेका थिए। पुरीले बैंकक, काराकास, केपटाउन, मस्कटस्थित भारतीय दूतावासमा काम गरिसकेका छन्। भारतमा रहेको नेपाली दूतावास लामो समयसम्म राजदूतविहीन रहने गरे पनि भारतले नेपालमा राजदूत फर्कनुअघि नै नयाँ राजदूतको नाम सिफारिस गरेर अग्रिमा दिइसकेको हुन्थ्यो । तर, यसपटक भने राजदूत फर्कने दिनमा नयाँ नाम सिफारिसगरेको छ ।

करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश फर्कंदै छन्। उनको कार्यकाल मंगलबार सकिएको छ। रेले मंगलबार नै भारतको विदेश सेवाबाट समेत अवकाश प्राप्त गरेका छन्।

भारत सरकारले नयाँ राजदूत पठाउन नसक्दा २८ वर्षपछि काठमाडौंस्थित भारतीय दूतावास राजदूतविहीन भएको हो।

‘सामन्यतय भारतले नेपालस्थित दूतावास एक दिन पनि राजदूतविहीन राख्ने गरेको छैन । अहिले कार्यरत राजदूत कार्यअवधि सकिई बिदा भइसक्दा पनि नयाँ नाम सिफारिस हुन नसक्नुले केही समस्या छ भन्ने देखाउँछ,’ पूर्व परराष्ट्र सचिव दिनेश भट्टराईले टिप्पणी गरे, ‘नेपालमा नयाँ राजदूत पठाउने कुरामा भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच कुरा नमिलेको हो कि जस्तो देखिन्छ ।’

राजदूतको रुपमा रेको कार्यकाल नेपाल–भारत सम्बन्धको इतिहासमै सबैभन्दा तित्ततापूर्ण अवस्थाबाट गुज्रियो । रेकै कार्यकालमा नेपालको संविधानसभाले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ५ महिना नाकाबन्दी लगायो । मधेसी दललाई अनावश्यक रुपमा उचालेको आरोपसमेत भारत र राजदूत रेमाथि लाग्यो ।

भारतले २८ वर्षअघि काठमाडौं दूतावास करिब ती महिना राजदूतविहीन राखेको थियो । तत्कालीन राजदूत ए.आर. देओ (सन् १९८६ फेब्रुअरी २४– १९८९ डिसेम्बर ३१) कार्यकाल सकी फिर्ता भएपछि दूतावास २ महिना २० दिन राजदूतविहीन बनेको थियो । देओपछि पूर्व सेनाध्यक्ष एस.के. सिन्हाले सन् १९९० फेब्रुअरी २० मा नेपालमा भारतीय राजदूतको पद सम्हालेका थिए ।