नुवाकोट र ललितपूर जिल्लाको लागि ने.रु. ८.३६२ करोड भारतीय सहयोग

DSC04907 (2)२९ जुलाई, २०१४ मा भारतीय राजदूतावास, काठमाडौंले जिल्ला विकास समिति, नुवाकोट र श्री त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयबीच विद्यालय भवन निर्माणको लागि र ललितपूर उपमहानगरपालिका कार्यालय, ललितपुर तथा ललितपुर बिकास समाजबीच ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि दुई अलग–अलग सम्झौतापत्रमा हस्ताक्षर ग¥यो ।

सन् १९६२ मा मिडल स्कूलको रुपमा स्थापित तथा २००५ मा उच्च माविमा स्तरोन्नती गरिएको श्री त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालय नुवाकोट जिल्लाको विदूर नगरपालिकामा अवस्थित छ । विद्यालयमा हाल उपलव्ध पूर्वाधार जिर्ण हुनुको साथै सवै विद्यार्थीहरु अटाउन सकिएकोे छैन ।  भारत सरकारको ३.६३२ करोड अनुदान सहयोगमा निर्माण गरिने नयाँ भवनबाट विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरु उपलब्ध भै करिव ५०% छात्रा सहित ११०० जना भन्दा धेरै विद्यार्थीलाई सहज शैक्षिक वातावरण सृजना हुनुको साथै जिल्लाको शिक्षा विकासमा समेत टेवा पुग्ने  छ ।
यस परियोजना अतिरिक्त, भारतको ने.रु. २४ लाख सहयोगमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस निर्माण गरिनुको साथै ने.रु. ८.६५ करोड लागतमा अन्य पाँच परियोजनाहरुको निर्माणकार्य जारी छ । भारतले ६ ओटा एम्वुलेन्ससमेत यस जिल्लालाई प्रदान गरिसकेको छ ।
ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहर – क) कुल देवता आँगन घर, ख) लुखुशी पाटी, ग)श्रीबाच्छा महावीर आजु निवास, घ) भिन्चया बहाल डिगी र ङ) नहवहाल टोल सुधार क्षेण जिर्णोद्धारको लागि समेत भारतले ने.रु. ३.६१६ करोड सहयोग प्रदान गर्ने छ ।
ललितपुर जिल्लाका गंगा पोखरी, श्री महानयन बौद्ध समाज गुम्वा र सो को मन्दिर, कम्पाउण्ड र गेटको स्वरुप परिवर्तन गरी सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि ने.रु.  १.१४ करोड अनुदान सहयोग प्रदान गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास काठमाण्डौ र शहरी विकास तथा भवन निर्माण विभागबीच हालसालै  हस्ताक्षर भइसकेको छ ।

नेपालका सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षणको उपादेयता अन्तर्गत सहयोग गरिने उक्त परियोजनाहरुले नेपाल र भारतबीचको घनिष्ठ सम्वन्धको साथै सो को लागि भारतले दर्शाएको महत्वलाई उजागर गर्दछ ।
यस परियोजना अतिरिक्त, ललितपुर जिल्लामा भारतको ने.रु. ८.५२ करोड लागतमा अन्य तीन परियोजनाहरु समेत पूरा भैसकेका छन् भने भारतको ने.रु. ५.२५ करोड लागतमा अन्य दुई परियोजनाहरु सुचारु छन्  । जिल्लामा भारतले  १० वटा एम्वुलेन्सहरु तथा ६ वटा स्कूल बससमेत प्रदान गरिसकेको छ ।
नुवाकोट जिल्लाको परियोजना जिल्ला विकास समिति, नुवाकोटद्वारा नेपाल सरकारको विद्यमान नीति नियम अनुसार कार्यान्वयन गरिनेछ भने ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुर तथा ललितपुर बिकास समाजले कार्यान्वयन गर्ने छन् । यी निकायहरु परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि समेत जिम्मेवार रहनेछन् ।
नेपालमा बढ्दो विकासकोे महत्वलाई आत्मसात गर्दै सो को लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिवद्ध रहेको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी मूलतः शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ४९० भन्दा धेरै परियोजनाहरुको लागत  ने.रु. ६५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।