निलंवित सभासद् सञ्जय साह सहित दुई दर्जनको घर, जग्गा रोक्का

9670जेलमा रहेका सञ्जय कुमार साह(टकला)समेत २६ जनाको घर जग्गा सहितको सम्पत्ति  रोका गरिएकोछ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला मालपोत कार्यालय धनुÈालाई साउन २७ गते लेखेको पत्रमा साह सहित २६ जनाको घर जग्गा रोक्का गर्न निर्देशन दिएकोछ । सम्पति शुद्धिकरण अनुसन्धान बिभागमा दर्ता भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको उजुरीको सम्बन्धमा यस ब्यूरोबाट सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ तथा सम्पत्ति शुद्धिकरण निवारण नियमावली २०६६ बमोजिम अनुसन्धान भइरहेकोले घर, जग्गाहरु रोक्का राख्न पत्राचार गरिएकोछ ।

नेपालभर रहेका जग्गाहरुको बिबरण आवश्यक परेकोले उल्लेखित बिबरण तथा कागजातहरु यथासिघ्र ब्यूरोमा उपलब्ध गराई आरोपितहरुको नाउँमा भएका जग्गाहरु कसैलाई कुनै प्रकारले हक हस्तांतरण गर्न, धितो वा बन्धक दिन, बिक्रीबितरण गर्न नपाउने गरि अर्को आदेश नभए सम्म रोक्का राख्न ब्यूरोले निर्देशन दिएकोछ ।

ब्यूरोले उपलब्ध गराएको जग्गाहरुको बिबरण बाहेकका जग्गाहरु खोजतलाश गरी बिबरण उपलब्ध गराई रोक्का राख्न समेत निर्देशन दिइएको छ ।
आरोपित व्यक्तिहरुको नाममा बिगतमा कुनै जग्गाहरु भई हाल नामसारी भै अन्य व्यक्ति वा संस्थाको नाममा कुनै पनि प्रकारले नामसारी भै गएको भए सोको समेत जानकारी उपलब्ध गराउन ब्यूरोले मालपोत कार्यालयलाई निर्देशन दिएकोछ ।

ब्यूरोले हाल सिराहा कारागारमा रहेका सञ्जय साह(टकला), निजकी श्रीमती रंगीला कुमारी साह, उनका पिता साधु साह, आमा दुलारी देवी साह, भाई, रामकुमार साह, बहिनीहरु अनिता कुमारी साह, देवन्ती कुमारी साह, मुन्नी कुमारी साह, बबिता कुमारी साह र ससुरा लक्ष्मण साहको नाममा दर्ता रहेको घर, जग्गाहरु रोक्का गरेकोछ ।
त्यसैगरि साहका मामा बिक्रम पजियार, बिक्रम पजियारका छोरा सुजित पंजियार, अजित पजियार र अमर पजियारको घर, जग्गा समेत ब्यूरोले रोक्का गरेकोछ ।

ब्यूरोले घर जग्गा रोका गरेकाहरुमा ओमप्रकाश यादव, लटु भने रामनरेश कुमार यादव, रामबिनोद यादव, राजकुमार पूर्बे, राम नरेश महतोकी श्रीमती गुलाम देवी महतो, नविन कुमार यादव, सुजित पाण्डे, सर्लाही जिल्ला घर भएका मनोज सिंह, राममिलन राउत र धिरज महतो रहेकाछन ।
यसैगरि दिपेन्द्र ठाकुर र उनकी श्रीमती निभा कुमारी ठाकुरको नाममा दर्ता रहेको घर जग्गा समेत ब्यूरोले रोक्का गराएकोछ ।