नव निर्वाचित राष्ट्रपति भण्डारीद्वारा सपथ ग्रहण

bidyaराष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गराउने क्रममा श्रेष्ठले मुलुक, जनता र ईश्वरको नाममा सपथ लिन्छु भन्ने बाक्यांश पढेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीले पनि पछ्याउदै ईश्वरको नाममा सपथ लिएकी थिइन्।

यसअघि नेपालको प्रधानमन्त्री पदमा पुगेका वा मन्त्री बनेका कुनै पनि बामपन्थी नेताहरु त्यसमा स्वयम् विद्यादेवी भण्डारी मन्त्री हुदा पनि ईश्वरको नामको सट्टा जनताको नाम मात्रै उच्चारण गर्ने गरेका थिए।
नवनिर्वाचित राष्ट्रपति भण्डारीले शपथपत्रमा हस्ताक्षर गरेपछि निर्वतमान राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गरेका थिए ।

भण्डारीले नेपालको दोस्रो राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै एमाले पार्टी सदस्यता सहित सम्पूर्ण जिम्मेवारी र संसद सदस्यताबाट राजीनामा दिएकी छन्।

नयाँ संविधानको धारा २९७ को उपधारा ३ बमोजिम बुधबार संसदमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई १ सय १३ मत अन्तरले पराजित गर्दै पहिलो महिला राष्ट्रपति बनेकी हुन्। भण्डारीले बिहीबार एक बक्तव्य जारी गरी यस्तो घोषणा गरेकी हुन।

उक्त निर्वाचनमा ५ सय ९७ सदस्य रहेको संसदमा खसेको ५ सय ४९ मतमा भण्डारीले ३ सय २७ मत प्राप्त गरी निर्वाचित भएकी थिइन।

भण्डारीद्धारा बुधबार जारी प्रेस विज्ञप्ति अनुसार, उनले राष्ट्रपति पदको गरिमा र संविधान प्रदत्त दायित्व निष्पक्षतापूर्वक निर्वाह गर्न आफू सम्बद्ध राजनीतिक दल एमालेको केन्द्रीय उपाध्यक्ष, सो दलसँग सम्बन्धित जनवर्गिय संगठनको नेतृत्व लगायत संसद सदस्यको जिम्मेवारीबाट राजीनामा गरेकी हुन्।

समारोहमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा अङ्गका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।