नगरपालिकाको तीन लाखले मधेशी पत्रकारमा खैलावैला, जिल्ला शाखा विघटन, रकम कुम्ल्याउन एक आपसमा हानाथाप

???????????????????????????????जिम्मेवारी पुरा गर्न नसकेको भन्दै मधेशी पत्रकार समाज नेपालको सप्तरी शाखा विघटन गरिएको छ । केन्द्रिय महासचिव आर.सी. यादवले प्रेस विज्ञप्ति जारी गरी शाखा विघटनको आधिकारीक जानकारी दिएका हुन् ।

२०७२ साल असोजमा गठन भएको शैलेन्द्रकुमार सिंह नेतृत्वको कार्य समितिको कार्यावधि समाप्त भएपनि विधानतः जिल्ला अधिवेशन गर्नुपर्ने जिम्मेवारी पुरा गर्न नसकेकोले शाखा विघटन गरिएको यादवले जनाएका छन् ।

‘समाजको विधान र शाखा सञ्चालन सम्बन्धी नियमावली अनुसार प्रत्येक बर्ष शाखा सम्मेलन गर्ने र तेश्रो बर्षमा शाखा सभा गर्ने प्रावधानलाई पुरा गर्न नसकेकोले आजैका मिटिदेखि शाखा विघटन गरिएको छ’ यादवद्वारा वुधवार जारी विज्ञप्तिमा भनिएको छ ।

२०७३ श्राबण मसान्त भित्र समाजको नयाँ कार्य समिति गठन गर्न शाखा सदस्य शुभचन्द्र झाको संयोजकत्वमा नरेश कुमार चौधरी र पंकज कुमार झा सदस्य रहेको तदर्थ समिति समेत गठन गरिएको सो विज्ञप्तिमा उल्लेख छ ।

यता, शाखा विघटनसँगै सो शाखासँग सम्वन्धित पत्रकारहरुको खैलावैला सुरु भएको छ । केहि समय अघि पत्रकारलाई सहयोग गर्ने नाममा राजविराज नगरपालिका कार्यालय सप्तरीले उपलब्ध गराएको ३ लाख रुपैयाँ के हुने हो ? भन्ने विषयमा अन्यौलता उत्पन्न भएपछि पत्रकारहरुमा खैलावैला सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका जिल्ला सचिव ओमप्रकाश साह सवार मोटरसाईकलले राजविराज निवासी एक ब्यक्ति घाईते भएपछि नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले सहयोग स्वरुप उक्त रकम उपलब्ध गराएका थिए । नेपाल पत्रकार महासंघको आन्तरीक विवादका कारण शाखा मार्फत रकम लिन असक्षम भएपछि मधेशी पत्रकार समाज मार्फत उक्त रकम निकासाको ब्यवस्था मिलाईएकोमा हालसम्म सो रकम श्रृजना फाईनान्सको खातामा जम्मा छ ।

शाखा अध्यक्ष प्रकाश खतिवडा, उपाध्यक्ष श्रवण देव, सचिव साह, सदस्यद्वय संजिव विक्रम साह र विनयलाल कर्णको आन्तरिक मतभेदका कारण हालसम्म सो रकम खातावाट निस्कन नसकेको श्रोतले जनाएको छ । शाखा विघटनसँग सोहि रकमको विषयमा पत्रकारहरु विच थप कौतुहलता उत्पन्न भएको छ ।
यता, शाखा विघटनपछि राजविराज नगरपालिकाका कार्यकारी अधिकृत गुरुङ्गमाथि समेत प्रश्न चिन्ह खडा भएको छ । सरसफाईको फर्जि विलभर्पाई संकलन गरी उक्त रकम वाँडेको भन्दै त्यसका विषयमा गुरुङ्गले जवाफ दिनुपर्ने भन्दै नगरवासी आक्रोसित भएका छन् । ब्यक्तिलाई खुसी पार्न राज्यकोष दुरुपयोग गरेको विषयमा तत्काल छानविन गरी गुरुङ्गलाई कारवाही गर्न समेत उनीहरुले माग गरेका छन् ।

अर्कोतर्फ तिन लाखको हल्लाखल्लासँगै पत्रकारको नाममा संगठन अध्यक्ष वनेर वसेका सिंहले समेत पदको दुरुपयोग गर्दै आएको रहस्य खुलेको छ । समाजका अध्यक्ष रहेका सिंह जिल्ला विकास समितिको एलजिसिडिपी अन्तर्गतका सहजकर्ता र  शान्ति समितका सद्स्य रहेका छन ।