धरानलाई साँस्कृतिक नगरीको रुपमा विकास गर्न हामी तयार छौं ः प्रथम सचिव अभयकुमार

कार्यक्रमका विशिष्ठ अतिथिद्वय भारतीय दुतावासका प्रथम सचिव अभय कुमार (बायाँ) र भारतीय दुतावास क्याम्पस औफिस बिराटनगरका चिफ पि.के. चालिया (दायाँ)  ।
कार्यक्रमका विशिष्ठ अतिथिद्वय भारतीय दुतावासका प्रथम सचिव अभय कुमार (बायाँ) र भारतीय दुतावास क्याम्पस औफिस बिराटनगरका चिफ पि.के. चालिया (दायाँ) ।

बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शुक्रवार धरानको होटल रत्ना इनमा “कल्चर नगरी” को पहिलो श्रृंखला आयोजना गरियो । कल्चर नगरीको पहिलो श्रृंखला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर बिक्रमप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो भने धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख टंक न्यौपानेले अध्यक्षता गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले भन्नुभयो, “भारत र नेपालबीच सांस्कृतिक तथा बौद्धिक आयामहरु साटासाट गरी सवल गराउँनको लागि हामीले काठमाण्डौमा अनेक सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्देआएका छौं । हामीले नेपालभरि छरिएका प्रतिभाशाली लेखक तथा कविहरु समेटेर काठमाण्डौभन्दा बाहिर पनि पोएमाण्डु र कन्र्भसेसन्स नामक दुई मासिक कार्यक्रमहरु संचालन गर्ने योजना बनाएका थियौं ।

तसर्थ हामी यी दुई कार्यक्रम धरानमा आयोजना गर्दै छौं । हामी आश्वस्त पार्न चाहन्छौं कि यो एक सुरुवातमात्र हो । कल्चर नगरी अन्य स्थानहरुमा समेत आइपुग्ने छ ।”

प्रेस, सुचना एवं संस्कृति विङका समेत चिफ रहेका अभय कुमारले सन् १९५० को सन्धि पछि नेपाल र भारत बीच राजनीतिक, साँस्कृतिक एवं सामाजिक क्षेत्रमा सम्बन्ध अझ मजबुत भएको बताउँदै काठमाण्डौ बाहिर पहिलो पटक यस्तो प्रकारको कार्यक्रम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको विचार व्यक्त गर्नुभयो ।

भानुभक्तको परिकल्पनाबाट नेपालको परिकल्पना  आएको बताउँदै सचिव कुमारले कवि र रचनाकारहरुको सम्बन्ध सदियौ–सदियौं पुरानो रहेको बताउनुभयो । सचिव अभय कुमारले भन्नुभयो –‘तपाईहरुसित भेटघाट गर्न, तपाईहरुको विचार सुन्न, धरान आएको छु । म तपाईहरुलाई धेरै–धेरे धन्यवाद दिन चाहन्छु । धरानसँग भारतको आजबाट थप नयाँ सम्बन्धको सुरुवात भएको छ । म आज पर्यटकीय नगरी भेडेटार हेर्न मौका पाए । मलाई धेरै राम्रो लाग्यो । हुस्सुको अंगालोमा एकछिन भेडेटारमा रमाउन पाउँदा औधी नै खुशी लागेको छ ।’ उहाँले धरानलाई साँस्कृति नगरीको रुपमा विकास गर्न भारत सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा भारतीय दुतावास क्याम्पस औफिस विराटनगरका प्रमुख पि.के. चालियाले नेपाल भारत बीच कायम सदियौं पुरानो सम्बन्धलाई यस्ता प्रकारको कार्यक्रमले थप आयाम सिर्जना गर्र्ने बताउँदै भारत नेपालको विकासमा सदैव हातोमालो गरेर अगाडी बढ्न चाहेको प्रष्ट पार्नुभयो । पहिलो सत्रमा आयोजित “कन्र्भसेसन्स” मा नेपालका मुर्धन्य कवि तथा लेखक कुन्ता शर्मा र भिेम देवानले आफ्ना सृजनाबारेमा प्रवचन दिनुभयो भने समालोचक दीपक न्यौपानेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । त्यसैगरी, दोश्रो सत्रमा आयोजित “पोएमाण्डु” मा धरान, इटहरी र विराटनगरका पन्ध्र जना प्रखर तथा उदाउँदा कविहरुले नेपाली, हिन्दी र अंग्रेजी भाषामा आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।