दुव्र्यसनीको नजरमा सभासद्को काम

वसन्तराज कुँवर
वसन्तराज कुँवर

नार्कोनन् नेपालमा मेरो सङ्गत बिहानदेखि बेलुकीसम्म नै पूर्वलागूऔषध सेवनकर्ताहरूसँगै हुने गर्दछ । उनीहरूले बोल्ने धेरै शब्द कोडबोर्डमा हुन्छ जुन साधारण व्यक्तिले बुझ्दैनन् । हालै केही दिनअघि संसद् भवनभित्र आधा रातमा सभासद्द्वारा कुर्सी भाँच्दै ताण्डवनृत्य देखाएको दृश्य रातको ड्युटी बसेको एक विद्यार्थीले (ड्रग्समा परी उपचारमा आएको व्यक्तिले) देखेछन् । भोलिपल्ट उनी साँझमा मसँग हिँड्न खटाइएका रहेछन् । हाीमहरू विष्णुमतीको किनारतर्फ ओर्लियौँ । मेरो पछिपछि हिँडिरहेका ती विद्यार्थीले मलाई सुनाउँदै भने, ‘सर हिजो राति संसद् भवनमा भेजा र साइकोहरूले बबाल गरे नि ।’ मैले सोधेँ– के गरे हँ ? उनले हाँस्दै भने– सब नेताहरू बुझ, गोटी, बुटी खाएझैँ गरी ठिस भएका थिए र जंकीले जस्तै गरी मेचहरू भाँच्दै फाल्दै थिए । यति भनी उनी खुब हाँसे । उनको भनाइ थियो राति संसद् भवनमा नेताहरू ठिस र भेजा अर्थात् पागलझैँ अस्वाभाविक काम गर्ने दिमाग नभएका मानिसहरूजस्ता भएका थिए र सायद उनीहरूले एक दुव्र्यसनीले झैं बुझ् (रक्सी), गोटी (ट्याबलेट) वा बुटी (गाँजा) खाएको हुनुपर्दछ ।
मैले हिँड्दाहिँड्दै फेरि सोधेँ, ‘ती मेच फालिरहेको नेताहरू देख्दा तिम्लाई कस्तो लाग्यो हँ ?’ उनले तत्काल हाँस्दै भने, ‘सर ती त तोर्पे नै हुन् नि ।’ उनीहरूको भाषामा तोर्पे भनेको आफूलाई खुबै जान्ने–सुन्ने ठान्ने तर वास्तवमा त्यो क्षमता नभएको व्यक्ति भन्ने बुझिन्छ । मैले फेरि सोधेँ, ‘तोर्पेहरूलाई त्यो संसद् भवनमा पठाएर देशले के पाउला त ?’ उनले जोससाथ भने, ‘यस्ता साइको (पागलजस्ता व्यक्ति) हरूलाई पठाएर के हुन्छ र ? यी त धर्तीका बोझ अन्नका नास मात्र हुन् । खान्छन् र दिसापिसाबको थुप्रो लगाउँछन् । देशलाई यिनले खाली हप्याग दिन्छन् ।’ उनीहरूको भाषामा हप्याग भनेको हदैसम्म दिक्क पार्ने, रिस उठाउने र तनाव दिने व्यक्ति हुने गर्दछ । त्यस दिन ती विद्यार्थीले भनेपछि मैले बल्ल बुझे कि ती नेताहरूले म र मजस्तै थुप्रै नेपालीलाई हप्याग पारिरहेका रहेछन् । कुरा गर्दै बाटो काट्न मलाई पनि खुब रमाइलो लागिरहेको थियो । मैले कुरो अगाडि बढाउँदै भने– नेताले यसरी हप्याग पार्दै गएपछि अनि जनतालाई के हुन्छ त ? उनले भने– जनताको भेजा तात्नुपर्ने हो, तर हप्याग भएका जनता कापाजस्ता छन्, जसले आफूमाथि जति शोषण गरे पनि सहिरहन्छन । यति भनी उनी फेरि खुब हाँसे । उनले भनेका थिए– जनतालाई हप्याग अर्थात् दिक्क पारेपछि जनताको भेजा तात्नुपर्ने अर्थात् जनता रिसाउनुपर्ने थियो, तर यहाँका जनता कापा अर्थात वेश्याजस्तै छन् जसमा शोषण सहने आदत नै परिसक्यो । यति गम्भीर कुरा उनले बहुतै हल्का ढङ्गले भनेका थिए ।
म ती विद्यार्थीका लागि निकै ठूलो व्यक्ति थिएँ । आफू मरिमरी हाँस्दा पनि म नहाँसेको देखेपछि उनी टक्क रोकिए र सरी सर भने । मैले भने– तिमीले मलाई निक्कै गहिरो कुरा बुझायौ । मेरो कुरा सुनेर उनी फेरि प्रसन्न बने र निरपराध हाँसो हाँसे । मैले कुरा अगाडि बढाउँदै सोधेँ, ‘भन त जनताले प्रतिकार गरेनन् र नेताहरूले त्यही ठिस र साइको काम गर्दै हामीलाई हप्याग पार्दै गए भने अनि देशको हालत के हुन्छ त ? मेरो प्रश्नमा ती केटा अलि गम्भीर भए । केहीबेर सोचे र भने– सर त्यसो भयो भने त रोडिज् भइहाल्छ नि । यिनीहरूले त मात्र देशको दस्ती ह्याप्स गरिरहेका छन । उनले रोडिज् शब्दबाट देश बर्बाद हुन्छ भन्न खोजिरहेका थिए । देशको दस्ती भन्नाले मुलुकको पैसालाई ह्याप्स गरिरहेका छन् भन्नाले खाइरहेका छन् भनेर चिन्ता जाहेर गरिरहेका थिए । मलाई त्यस दिन महसुस भयो वास्तवमा लागूऔषध सेवन गरे पनि उनीहरूमा देशप्रति चिन्ता र चासो प्रसस्तै हुँदोरहेछ
म हिँड्दाहिँड्दै खेतको आलीमा बसेँ र उनलाई पनि छेउमै बस्न लगाएँ । मैले उनलाई छेउमै बसाएर सोधेँ, ‘तिमीले भनेझैँ तिनले देशलाई रोडिज् बनाइरहेका छन्, देशको पैसा ह्याप्स गरिरहेका छन् भने जनता फेरि तिनलाई किन चुनेर नेता बनाउँछन त ? मेरो प्रश्न पूरा भुइँमा खस्न नपाउँदै उनले भने, ‘यही कुराले त मलाई औडा (सहिनसक्ने) बनाउँछ त सर । मेरो विचारमा यो कुरा ड्रग्स सेवन गर्ने झारपात–झारपात केटाहरूले च्वाँक–च्वाँक केटीहहरू फसाएजस्तै हो । झारपात–झारपात केटाहरूले कुरै गरेको भरमा च्वाँक–च्वाँक केटी फसाउँछन् र पछि ती केटीहरूले खुब दुःख पाउँछन् । यस्तै ती नेताको कुरामा विश्वास गरी नेपालका जनता फसेका र दुःख पाएका हुन् । यति भनी ती केटा फेरि खुब मज्जाले हाँसे ।
म निक्कैबेर चुप बसेको देखेपछि उनले फेरि भने– सर मलाई त यी नेताहरू पैसा र पदका लागि हन्टिङमा हिँडेका र संसद् भवन जंक्सनजस्तो मात्र लाग्यो । ड्रग्स खोज्न गएको कार्यलाई उनीहरू हन्टिङ गएको र खराब साथीहरू भेला हुने ठाउँलाई जंक्सन भन्ने गर्दछन् । उनका लागि नेताहरू फगत पैसा र पदका लागि दौडिरहेका र खराब साथीहरू भेट्ने थलोको रूपमा संसद्लाई प्रयोग गरिरहेको भन्ने परेको रहेछ । उनले अगाडि भने– नेताहरू कौवाजस्ता चलाख र पाचके जोत्को पनि छन् । यिनीहरूले नेपाली जनताको खुब गिदी चाट्ने भए । उनीहरूको शब्दमा पाचके/जोत्को भन्नाले गफाडी र गिदी चाट्ने भन्नाले दिक्क पार्ने व्यक्ति थिए । अनि मैले हिँड्दै सोधेँ, ‘संसद्मा मेच भाँच्ने ठिसहरूलाई तिम्रो विचारमा के गर्नुपर्छ ?’ उनले उत्तेजित हुँदै भने, ‘देशका लागि बाल मतलब नगर्ने यस्ता व्यक्तिलाई सेना लगाई टपकटपक टिपेर बाहिर लगी भाटा हान्नुपर्छ । ड्रग्स खानेहरू छडी खाएकोलाई भाटा हानेको भन्ने गर्दछन् ।
त्यस दिन ती केटासँग मेरा थुप्रै कुरा भए । बाटामा उनले तीनवटा थप मार्मिक कुरा पनि गरे । पहिलो थियो– एकपटक नारायणीको तीरमा गाँजा खाएर सुत्दा दुईजना बूढा गोठालाले उनीहरूलाई खेतमा पानी लाउन नसकेको कुरा बताउँदै नारायणीको पानी नेपालले विदेशलाई बेचेको कुरा सुनाएका रहेछन् । दोस्रो– यस्तै, भारतमा ड्रग्स किनेर चोर बाटो आउँदा नेपालको सीमा मिचिएको देखेको रहेछन् । र तेस्रो– भारतमा ड्रग्स किन्न जाँदा त्यहाँ एक व्यक्तिले नेपाल र भारत दुवैको नागरिकता देखाएको रहेछ उनलाई । यस्ता घटनाले उनलाई राज्य सञ्चालकप्रति आक्रोसित बनाएको रहेछ ।
एक घन्टाको घुमाइमा मैले ती युवकबाट थुप्रै सिकेँ, घर आइपुग्ने बेलामा मैले तिनलाई सोधेँ, ‘तिमीहरू (दुव्र्यसनीमा परेकाहरू) र अस्ति मेच भाँच्ने सांसदहरूमध्ये देशका लागि को घातक होलान् ?’ उनले तत्काल उत्तर दिँदै भने, ‘देशका लागि ती संसद्हरू घातक छन् किनकि हामीले जनताको पैसा खाएका छैनौँ, सुविधा र गाडी लिएका छैनौँ, देश टुक्र्याउने खेल पनि खेलेका छैनौँ, बन्द गरेर अरूलाई दुःख दिएका पनि छैनौँ, दुःख दिएका छौँ भने केवल आफू र आफ्नै परिवारलाई मात्र दुःख दिएका छौँ । तर, यिनले त देशलाई नै हप्याक पारिसके ।’ त्यस दिन ती दुव्र्यसनमा परेका व्यक्तिले मैले सोचेभन्दा धेरै गहिरो कुरा गरे र अन्तमा आफूहरूभन्दा देशका लागि अहिलेको कुर्सी तोड्ने सांसदहरू घातक भएको बताए । वास्तवमा को घातक छन् त्यो कुरा पाठकले नै छुट्याउनु होला । मैले एक दुव्र्यसनीको संसद्प्रतिको विचार जस्ताको तस्तै राखिदिएको छु ।लेखक नेपाल पुलिस को पुर्ब एसएसपी हो