दाउद सहित ४० आतंकवादी संगठन पाकिस्तानद्वारा संचालित

अन्डर वल्र्डका डान दाउद
अन्डर वल्र्डका डान दाउद

अन्डर वर्डका कुख्यात अपराधी दाउद इब्राहीम विगत २० वर्ष देखि पाकिस्तानमा हरेका खुलासा भएको छ ।

दाउदले दुवई स्थित आफ्ना एक मित्र सँग गरिरहेको कुराकानीको केही अंश भारतीय न्यूज च्यानल आजतकले सार्वजनिक गरेपछि मोष्ट वाण्टेड दाउद पाकिस्तानको कराँचीमा बसेर भारत विरुद्ध आतंकवादी क्रियाकलाप गरिरहेका रहस्य बाहिर आएको हो ।

सन् १९९३ मा भारतको मुम्बईमा भएको बम काण्डका मुख्य योजनाकार दाउद पाकिस्तानबाटै आफ्नो कारोबार संचालन गर्दै आईरहेको छ । दाउनको दुबईमा ११ सय करोडको सम्पत्ति रहेको छ भने कराचीमा हजार करौडको चल अचल सम्पत्ति इकवालको नाममा खरिद गरेका छन् । कराची सहित एसिया महादेश उनको ५ लाख वर्ग फिट जग्गा जमिन रहेको आजतकले जनाएको छ ।

टेलिफोनमा दाउदले म आफैं न्यायाधीश अदालत र प्रधानमन्त्री सरह भएको बताएका छन् । आफ्नो कारोबार लिखित नभई मौखिक हुने गरेको उनले दावी गरेका छन् ।

भारतका केन्द्रिय गृहराज्य मन्त्री किरण रिजिजु मुम्बइ सिआईबीका पूर्व डिआईज ओपी चटवाल, पुर्व आईपीएस वाइपी सिंहले दाउदलाई अविलम्ब भारतलाई सुपुर्दगी गर्न पाकिस्तानसँग आग्रह गरेका छन् । गृहराज्यमन्त्री रिजिजुले पाकिस्तानले नै दाउदलाई पठाएर मुम्बई हमला गराएको भन्दै भारतले दाउदलाई गिरफ्तार वा ओसामाविन लादेन जस्तै कार्वाही गर्नुपर्ने संचार माध्यमहरुलाई बताएका छन् ।

यता भारतको अर्को प्रमुख शहर बेंगलौरमा भएको बम विष्फोटको मुख्य योजनाकार सीमी र ईण्डियन मुजाहिदीन भएको भारतीय गुप्तचर संस्था एनआइएले जनाएको छ । यी दुई आतंकवादी संगठन पनि पाकिस्तानबाटै संचालन रहेका छन् । जसको कनेक्सन नेपाल र विहारसँग जोडिएको छ । भारत सरकारले बेंगलौर बम विष्फोटमा संलग्न बारे सुचना दिने व्यक्तिलाई १० लाखको पुरस्कार घोषणा गरेका छन् । उक्त विष्फोटमा आमा छोरा घाइते भएका थिए । जस मध्ये आमाको मृत्यु भएको छ ।

मुम्बई नरसंहारका मुख्य योजनाकार लश्कर ए तोेइवाका कमाण्डर जकी उर रहमान लखवीलाई पाकिस्तानको इस्लामावाद उच्च न्यायालयले रिहा गर्ने आदेश दिएको छ । लखवीको रिहाईबाट स्पष्ट रुपमा पाकिस्तान आतंकवादीलाई संरक्षण दिईरहेको प्रष्ट हुन आएको छ । मुम्बई आक्रमणका १० आतंकवादी मध्ये पक्राउ परेका कसाबले पनि लखवीको नाम सुरक्षा अधिकारीलाई बताएका थिए । ६ वर्ष पछि मंगलबार रावल पिण्डी स्थित अडियाला जेलबाट लखबी मुक्त हुँदै छ, दश लाख धरौटी बुझाएर ।

सोमबार अबेर राती आतंकवादी संगठन तहरीक ए तालिवानका कमाण्डर अदनान रसीदले पाकिस्तानको अज्ञात स्थलबाट भारतीय संचार माध्यमलाई उपलब्ध गराएको भिडियो टेपमा सन् १९७१ मा पूर्वी पाकिस्तान (बंगलादेश) मा भएको नरसंहारमा होस् या सन् १९४७, ४८ तथा १९६५ मा काश्मीर आक्रमणमा पाकिस्तानी सेना र आईएसआईको प्रत्यक्ष संलग्नता देखाएका छन् । हालै पाकिस्तानको पेशावरमा भएको १ सय ३२ स्कूले बालबालिकाको सामुहिक हत्या पछि रसिदको यो भिडियो टेपलाई अर्थपूर्ण रुपमा हेरिदै छ ।

विभिन्न अध्ययनले के देखाएको छ भने पाकिस्तानी गुप्तचर संस्था आईएसआई र पाकिस्तानी सेनाको निगरानीमा ४० भन्दा बढी आतंकवादी संगठनहरु पाकिस्तानमा कार्यरत रहेका छन् । जसले बेलाबेलामा भारत विरुद्ध आतंक मचाउने गरेका छन् । भारतको राजधानी दिल्ली, पुणे, मुम्बई, हैदरावाद, गुजरात, महाराष्ट्र लगायतका प्रमुख शहरमा भएको बम विष्फोटमा कुनै न कुनै पाकिस्तानी आतंकवादी संगठनकै संलग्नता रहेको देखिन्छ । पाकिस्तानले आतंकवादीलाई आश्रय दिएकोमा अमेरिका लगायत विभिन्न मुलुकले निन्दा गर्दै आईरहेको छ ।