दशगज्जा दुवै देशका प्रहरीको नियन्त्रणमा, दुवै देशका सुरक्षा अधिकारीको बैठक जारी, सिमाना ठप्प

सप्तरीको तिलाठीमा बाँधको निरीक्षण गर्दै दुवै देशका सुरक्षा अधिकारी ।
सप्तरीको तिलाठीमा बाँधको निरीक्षण गर्दै दुवै देशका सुरक्षा अधिकारी ।

भारतीयले एकतर्फी रुपमा निर्माण गर्न लागेको बाँधको दुवै देशको सुरक्षा अधिकारीहरुले आज अनुगमन गरेका छन् । दुवै देशका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरी घटनाबारे जानकारी लिएका छन् । दोहोरो झडपले उग्र रुप लिएपछि शुक्रबार बिहानै देखि दुबैतर्फ व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरी घटनास्थललाई दुवै पक्षका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र भारत बिहार सुपौलका डि.एम. (डिस्ट्रिक मजिस्ट्रेट) वैद्यनाथ यादव नेतृत्वको टोलीले निर्माणाधिन बाँधको संयुक्त रुपमा अवलोकन गरेका छन् । बाँधको विषयलाई लिएर अहिले नेपाल र भारतका सुरक्षा अधिकारी बीच भारतको कुनौलीमा संयुक्त बैठक जारी छ ।

नेपालको तर्फबाट सप्तरीका प्रमुख जिल्ला बलदेव गौतमको नेतृत्वमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायव निरीक्षक निरकृष्ण अधिकारी लगायतका सुरक्षा अधिकारीहरु सहभागी भएका छन् । यसैगरी भारतीय पक्षबाट सुपौलका डिस्ट्रिक्ट मजिस्टेट बैद्यनाथ यादव, सशस्त्र प्रहरी सिमा सुरक्षा बल ४५औं बटालियनका कमाण्डेन्ट रामाअवतार भथोलियालगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।

दशगजा निरीक्षण पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भारत बिहार राज्य सुपौल जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट यादवले दुवै देशका सहमती बिना दशगजा क्षेत्रमा कसैले निर्माण कार्य गर्न नपाउने निर्देशन दिएको बताए ।

भारत बिहार, सुपौलका डि.एम. वैद्यनाथ यादव सप्तरी र सुपौलको सिमाना तिलाठीतर्फ जाँदै ।
भारत बिहार, सुपौलका डि.एम. वैद्यनाथ यादव सप्तरी र सुपौलको सिमाना तिलाठीतर्फ जाँदै ।

उनले नेपाल भारतबीच सदियौ पुरानो कायम रहेको ‘रोटी र बेटीको’ सम्बन्ध कसैले चाहेर भङ्ग नहुने बताउँदै हिजो भएको झडपलाई दुर्भाग्यपूर्ण रहेको बताउँदै दोषीलाई कार्वाही गर्ने सञ्चारकर्मीहरुलाई बताए । उनले यो समस्याको स्थायी समाधान खोज्न भारत सरकारले १९ करोड १७ लाख रकम बिनियोजन गरेकोले पानीलाई साविककै बाटो तर्फ फर्काइने काम हुने जनाए ।

नेपालीहरुलाई दुःख दिने नियत हाम्रो नभएको र जनस्तरमा देखिएको झिनामसिना समस्यालाई तत्काल दुवै देशका पदाधिकारीहरुले मिलाउने बताए । बाँधको दिर्घकालिन समाधान खोज्न हाम्रो बैठक बस्दैछ, यसबारे हामी दुवै पक्ष मिलेर निर्णय लिनेछौं यादवले भने ।

भारतीय पक्षबाट बिहीबार दशगजामा भईरहेको बाँध निर्माण कार्य रोक्ने क्रममा भारतीय पक्षबाट गरिएको आक्रमणमा परी तिलाठीका दर्जन बढी बासिन्दा घाइते भएका छन् । ढुङ्गा, लाठी, फट्ठा आदिले प्रहार गर्दा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये देवनारायण, हर्षवद्र्धन कर्णलगायतको  राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको छ ।

दशगजा क्षेत्रमा भएको घटनापछि भारतको कुनौली नाका बिहानैदेखि ठप्प रहेको छ । दैनिक हज्जारौं नेपालीहरुको आवागमन हुने व्यापारिक बजारका सम्पूर्ण पसलहरु बन्द रहेको छ । दैनिक उपभोग्य सामग्रीकालागि कुनौली जाने नेपालीहरुलाई दुव्र्यवहार गरेर स्थानीयवासिन्दाहरुले फर्काएका छन् । यसैगरी भारतीयलाई नेपाल आउनमा समेत रोक लगाएको छ ।

घटनास्थलको अवलोकन गर्दै सप्तरीका सिडिओ गौतम र सुपौलका डि.एम. यादव ।
घटनास्थलको अवलोकन गर्दै सप्तरीका सिडिओ गौतम र सुपौलका डि.एम. यादव ।

दशगजा क्षेत्रमा बाँध निर्माण हुन थालेपछि सिमावर्ती क्षेत्रका आधा दर्जन गाविस डुबानमा पर्ने खतरा बढेकोले आफूहरुले निर्माण कार्य तत्काल रोक्नुपर्ने अडान नेपाली पक्षले राखेका छन् । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो । दुबै पक्षका सुरक्षा अधिकारीहरुको संयमता र सतर्कताका कारण अप्रिय घटनाबाट जोगिएको छ ।