तराई मधेसका जायज मागलाई तत्काल सम्बोधन गर : उपराष्ट्रपति

uprastpati.उपराष्ट्रपति  परमानन्द झाले तराई मधेसमा भइरहेको आन्दोलनको समर्थन गर्दै वक्तव्य दिएका छन् । झाले उपराष्ट्रपतिको लेटर प्याड प्रयोग गरेर राजनीतिक व्यक्तव्य दिएका हुन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति झाले तराई मधेसका जनतामाथि राज्यले विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाएका छन् । उनले दलहरुले बहुमतको नाममा सीमांतकृत समुदायसँग विगतमा भएका सहमति र सम्झौता र अन्तरिम संविधानलाई वेवास्ता गरिएको बताएका छन् ।

सहमति र सम्झौता कार्यान्वयन नभएकाले तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उनले आन्दोलनलाई सम्बोधन गर्न सरकारले उचित कदम नचालेको समेत बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘सुदूरपश्चिम क्षेत्रका कतिपय स्थानीय बासिन्दाको मागलाई तत्कालै सम्बोधन गरी सात प्रदेशको सीमांकन गरिने र तराई मधेसका जनताले उठाएको जायज मागहरुलाई यतिका दिलन वितिसक्दा पनि सम्बोधन नगरिनुले राज्यको विभेदपूर्ण व्यवहार उजागर गरेको छ ।’

उपराष्ट्रपति झाले सरकार र सत्तारुढ दलहरुलाई आन्दोलनरत पक्षसँग सार्थक र परिणाममुखी वार्ता गरी सम्बोधन गर्न आग्रह गरेका छन् ।

Parmananda-Jha-Statementउपराष्ट्रपतिले बहुमतमा नाममा सीमान्तकृत समूदायसँग विगतमा भएका सहमति, सम्झौता र ती सहमति सम्झौताका आधारमा तत्कालीन नेपालको अन्तरिम संविधान २०६३ मा संशोधनमार्फत गरिएका कतिपय व्यवस्थालाई वेवास्ता गरिनु राम्रो र सुखद होइन,’ विज्ञप्तीमा लेखिएको छ । उनले अन्तरिम संविधानका के कस्ता प्रावधान र अधिकार नयाँ संविधानमा छुटेका हुन् भन्ने खुलाएका छैनन् ।