डा.सिके राउतको प्रेरणाको श्रोत रौवाहीवाली रहिनन्

रौवाहीवाली
रौवाहीवाली

२०४८ साल तिरको कुरा हो। त्यतिबेला म आफ्नो फुसको दलानमा टूकी बालेर टोलका अरू बच्चाहरूसँगै पढिरहेको हुन्थे। दिनभरि बाहिर यता-उतिका कामबाट थाकेर आउनुभएका बा कुर्सीमा बसेर हामीलाई पढाउँदै हुनुहुन्थ्यो, थकान मार्दै हुनुहुन्थ्यो। पूरै घुम्टो ओढेकी, सेतो सारी लगाएकी एउटी आईमाई आएर बाको छाँया समेत नपर्ने ठाउँमा उभिन्थी, र गाउँ-समाजले न्याय दिलाइदिनुपर्यो भनेर घु्म्टोबाटै मन्द आवाजमा गुहार्थी। एक विधवा, एक दलित, एक असहाय, अक्षर नचिन्ने, केही नबुझ्ने, दैनिक मजदूर, सर्वहारा – धेरै विशेषण थिए उसका लागि। त्यसमाथि पोखरीको छेऊमा रहेको फुसको घरमा केहीले आगो लगाई दिएका दिए, उसलाई कूटपीट गरेका थिए, र उसको साबिकको जमीन आफ्नो हो भनेर नापेर उसलाई विस्थापित गरेका थिए, र ऊ अर्काको घरमा बस्न बाध्य भएकी थिई। अन्तत: बा र गाउँका अरू केही बुजुर्गहरूले उसको मुद्दा उठाउने निर्णय गरे, जसको कारणले गाउँ दुईभागमा विभाजन भयो – पक्ष र विपक्ष। दलित हुनाले छोइने, नेपाली न बुझ्ने, अरूको अगाडि न बोल्ने जस्ता समस्याहरूसँग दैनिक उनलाई जुधिरहेको देखें। बूबा वा अन्य ठूलाबड़ासंग बोल्दा पनि -सीधा न बोलेर कुनै बच्चा वा कसैलाई मध्यमा राखेर “कहियो जे कहै छै [भन कि यो भन्छ…] भनेर बोल्ने गर्थिन्।
अन्तत: उनले २०४८ सालबाटै त्यो मुद्दा लडिन्, बजारको मुख नदेखेकी उनी अदालतसम्म पुगिन्, र जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च सम्मै पुगिन्। २००४ सालकै भोगचलनको प्रमाण उनीसंग रहे पनि १६ धूर जमीनको त्यो संघर्ष उनी जीवित रहँदा सम्म समाप्त भएन, २०४८ सालबाटै मुद्दा लडेकी उनी म २०६८ सालमा नेपाल फर्किदा पनि उसको त्यो संघर्ष जारी नै रहँदा र उनलाई आफ्नो आंगनमा देख्दा एकचोटि मैले अचम्म पनि मानेको थिए र एक हिसाबले दिक्क नै मानेको थिएँ कि बेलुका खानका लागि पनि दिउँसो काममा नगईकन नहुने मानिस यसरी नेपाली सरकारी अड्डा-अदालत धाउँदै पूरै जीवन बरबाद पारेछ, जति पैसा राजविराज धाउनमा खर्चेकी होली त्यतिमा त १६ धूर त के, १६ कठ्ठा जमीन नै किन्न सक्थी। तर उसको संघर्षमय जीवनले मलाई ठूलो पाठ सिकाएर गएको थियो संघर्ष न्यायको लागि भएको हो, आत्मसम्मानको लागि भएको हो, र उसको जीवन त्यही न्याय र आत्मसम्मानको लागि खर्चिएको हो, १६ धूरको लागि होईन। र एउटा अनपढ, अछूत, असहायले न्यायको लागि त्यति संघर्ष गर्नसक्छ भने आजभोलि हरेक सरकारी कोठाको अगाडी लम्पसार परेर नतमस्तक हुने हामीमा न्यायको लागि लडने त्यो ऊर्जा किन न आएको होला?

रौवाहीवालीको २०४८ मुद्धामा सप्तरी जिल्ला अदालतले गरेको फैसला
रौवाहीवालीको २०४८ मुद्धामा सप्तरी जिल्ला अदालतले गरेको फैसला

जिल्ला अदालतले १६ धूरै जमीन उनको कायम गर्यो, पुनरावेदन र सर्वोच्चले ९ धूर उनको कायम गर्यो, तैपनि अझै भोगचलनको लागि प्रशासनले उनको त्यो जमीन खाली गराउन सकेको छैन। अन्तत: रौवाहीवाली न्याय न पाएरै यही महिना बितिन्। आज उनकी बुहारी सबै फाईल लिएर आएकी थिईन्, मुद्दा अगाडि बढाउनुपर्यो भनेर। किन हो किन, उनको बुहारीमा पनि म रौवाहीवाली कै झलक देख्दछु। सलाम छ रौवाहीवाली तिमीलाई, हात खाली भए पनि, पेटमा केही न भए पनि न्यायको लागि अन्तिम सांससम्म लडने प्रेरणाको रूपमा तिमी सदैव हामी बीच जीवित नै रहनेछौ। स्वराज कायम भएपछि कस्तो न्यायलय स्थापना गर्ने भनेर पनि तिमी एउटा आधारस्तम्भको रूपमा रहिरहनेछौ।

रौवाहीवालीको बुहारी
रौवाहीवालीको बुहारी

एउटा कुरोको खेद मलाई अवश्य लागेको छ: ४-५ महिना अगाडि तिम्रो विषयमा डक्यूमेन्टरी बनाउने वा कुनै टिवी च्यानलमा तिम्रो कुरा ल्याउने भनेर मैले कुरा पनि चलाएको थिए, तर त्यतिकैमा मेरो गिरफ्तारी भयो र तिम्रो त्यो संघर्षलाई सबैको प्रेरणाका लागि जोगाउन सकिन। सम्झना स्वरूप माटोको यो घरमा तिमीले बनाएका बुट्टाहरू हेर्दैछु । (अहिले जुन घरमा म गाउँमा बस्छु, त्यसको भित्तामा माटोपनि उनैले लगाएकी हुन्, लिपेकी-पोतेकी पनि उनैले हुन् — विदेशमा कमाउने उनको छोराले अरू कसैको घरमा काम नगर्नू भन्दा-भन्दै पनि उनले सुटुक्क हाम्रो दलान बनाउन सहयोग गरेकी थिईन्।)
हाम्रो समाज भित्र यस्ता अनगिनित समस्याहरु छन् जसमाथि न राज्यको ध्यान पुगेको न मिडियाको । हामी केवल त्यस्ता फगत विषयको पछि कुदेका छौं जसले न व्यक्ती, न समाज र राज्यलाई फाइदा पुगेको छ । यो कथा पढे पछि तपाई आफैलाई प्रश्न गर्नुहोला एक पटक यो राज्यले गरिबलाई न्याय दिन सक्छ वा सक्दैन ? यो देशको कानून कसका लागि हो ? नेपालमा यि यस्ता निमुख्खा जनताले कहिले कानून, राज्य र समाजिक न्यायको अनुभुति गर्ने ।
जब सम्म राज्यले हरेक नागरिकलाई समानता, समन्याय, र अधिकार दिँदैन तब सम्म यस्ता सिके राउतहरु जन्म लिई रहनेछन् । हिजो मधेशमा रधुनाथ ठाकुर, गजेन्द्र नारायण सिंह, रमेश महतो हुँदै अहिले देखा परेको सिके राउत जस्तोको आवाजलाई तत्काल सम्बोधन गर्नुको विल्कप राज्य सँग छैन ।

                                                                                                                                                                                                सिके राउतको फेसबुकबाट साभार