ठूला तीन दलका नेताहरुले बन्धक बनाएका छन् ।

 2राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले संविधानसभालाई ठूला तीन दलका नेताहरुले बन्धक बनाएका कारण माघ ८ भित्र संविधान आउने सम्भावना करिब करिब समाप्तै हुन लागेको बताएका छन् ।

बुधवारदेखि झापाबाट शुरु हुने पार्टीको मेची महाकाली संकल्प रथ यात्रामा सहभागी हुन त्यसतर्फ लागेका थापाले सप्तरीको बिरेन्द्र बजारमा मंगलवार पत्रकार सम्मेलन मार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले संविधानसभामा जुन हिसाबले संविधान निर्माणका लागि छलफल हुनुपर्ने हो, त्यस्तो नभएको बताउँदै ठूला नेताहरुले बन्धक बनाएर राखेको कारणले नै संविधान नबन्ने अवस्था आएको दावी गरे ।

उनले भने ‘ जनताले भोट दिएर नै हाम्रो पार्टीलाई संविधानसभाको चौथो शक्ति बनाएका छन्, तर हामीसित छलफल समेत गरिदैन । भन्नका लागि सहमतिबाट संविधान बनाउने भनिए पनि आफूहरुसित निःषेधको व्यवहार भईरहेको नेता थापाको भनाई थियो । उनले संविधानसभालाई ठूला दलको रबर स्टाम्प र लाचार छायाबाट मुक्त गरी जुन किसिमको छलफल हुनुपर्ने हो त्यस्तो भए संविधान बन्ने सम्भावना थोरै भए पनि बाँकी रहेको भन्न छुटाएनन् ।

संविधान बनाउन संघियतामा कुरा नमिलेको भनिए पनि संघियता भन्दा जनताको  अधिकार सम्पन्न संविधान बनाउनु जरुरी रहेको उनको सुझाव रहेको छ । आफूहरुसित संघियताको विकल्पमा जनताको घरघर अधिकार पुर्याउने फर्मुला रहेको खुलासा गर्दै थापाले जनतालाई अधिकारसम्पन्न  तुल्याउनु नै संविधानको मूल उद्देश्य हुनुपर्ने बताए । आफूहरुको रथयात्रा राष्ट्रियता र नेपाली पहिचानका लागि रहेको भन्दै उनले हिन्दु राष्ट्रले नै यस्तो पहिचान दिनसक्ने दावी गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पृष्ठभूमी स्मरण गर्न आग्रह गर्दै नेता थापाले उनले पनि नेपाललाई हिन्दू राष्ट्रकै रुपमा देख्न चाहेको बताए ।