जिर्णोधारको पर्खाईमा सप्तरीका सडकहरु

हिलाम्य राजविराज–कुनौली सडक । यो सडक जिल्लाकै पहिलो कालो पत्रे सडक हुन ।
हिलाम्य राजविराज–कुनौली सडक । यो सडक जिल्लाकै पहिलो कालो पत्रे सडक हुन ।

मुलुककै पुराना सडकहरुमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौदेखि जीर्ण छ । अवषेश मात्र वाँकि रहेको सो सडकसँग जोडिएको जिल्लाको दर्जनौ गाविसको भविष्य नै अन्यौलग्रस्त वनेको छ ।

तराई मधेशकै विकासको मेरुदण्डका रुपमा मानिएको हुलाकी सडकको अवस्था र आवश्यक्ता वारे वेला वखत राजनतेताहरुले नवोलेको होईनन्, सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा पनि निकै चर्चा हुने गर्छछन् यस सडकको । तर सडकको अवस्था हेर्दा ती भाषण र प्रतिवद्धताहरु चुनावी एजेण्डामै सिमित भएको यस सडकसँग जोडिएका गाउँलेहरुको गुनासो छ ।

सप्तरीकै पहिलो कालोपत्रे सडक राजविराज कुनौली सडक खण्डमा ठुलो सवारी साधन नचेलको झण्डै एक डेढ दशक भन्दा वढि भयो । पछिल्लो केहि समययता खाँडो नदिको वहाव नै फर्किएपछि यो नदी हो कि सडक भन्ने छुट्टयाउनै गा¥हो भएको सर्वसाधारणको प्रतिक्रिया छ ।

सदरमुकाम राजविराजदेखि हनुमाननगर हुँदै भारदहस्थित पुर्व पश्चिम लोकमार्गलाई जोड्ने हनुमाननगर भारदह सडक खण्ड पनि पछिल्लो केहि वर्षदेखि जर्जर अवस्थामा जिर्णेधारको पर्खाईमा छन् । गत वर्ष सो सडकलाई लक्षित गरी थुप्रै आन्दोलनहरु गरिए । तर, सडकको जिर्णोद्धार गर्नेतर्फ सम्वन्धित निकायको अझै ध्यान पुग्न सकेको छैन ।

यता पहाडी जिल्लाहरुसँग जोड्न कञ्चनपुर फत्तेपुर सडकखण्ड १५ बर्षदेखि जीर्णोद्धारको पर्खाईमा छ । प्रत्येक वर्ष उक्त क्षेत्रका अगुवाहरु सडकका लागि आन्दोलन गर्ने गर्दछन् तर अवस्था भने उस्तै । गाउँले भन्छन्, ‘अब त आन्दोलन गरेर पनि थाके, खै कहिले यस प्रति राज्यको ध्यान पुग्ने हो थाहै भएन् ।

प्रसिद्ध शक्तिपिठ छिन्नमस्तासँग जोडिएको राजविराज–छिन्नमस्ता सडकका लागि पनि आन्दोलनको क्रम जारीनै छ । छिनमस्ता शक्ति पिठका पिठाधिश महाकान्त ठाकुरले भने, ‘पत्रकारहरुको पद यात्रा देखि लिएर सर्वसाधारणहरुको प्रदर्शन समेत भयो, यहाँ पुगेका शासक, प्रशासक र मन्त्री सम्मले प्रतिवद्धता पनि गरे तर अवस्था अझै पनि उस्तै ।’

सरकारी लगानीमा एक वर्ष अघि उक्त सडकको केहि खण्ड कालो पत्रे गरीएपनि केहि महिना न वित्दै उख्लीन थालिएको छ । ठेकेदारद्वारा कमसल सामग्रीको प्रयोग गरिएका कारण निर्माण कार्य पुरा नहुँदै सडक उखलिन थालिएको छिन्नमस्ता मन्दीर विकास समितिका अध्यक्ष रामनारायण यादवको आरोप छ ।

उक्त अनियमिततामा सडक विभागका कर्मचारीहरुको समेत संलग्नता रहेको उनी वताउँछन् । उनी भन्छन्, ‘सडक विभागका कर्मचारी वा अन्य सरोकारवाला निकायको संलग्नता नभएको भए, यत्रो होहल्ला र आन्दोलनका बाद वनाउन लागिएको सडकमा कमसल सामग्री प्रयोग गर्ने साहस ठेकेदारले पक्कै पनि गर्नेथिएन होला ।’

जिल्लाको पक्की सडकहरु मात्रै होईन ग्राभेल गरिएका कृषि सडक र अन्य कच्ची सडकहरुको अवस्था पनि उस्तै छ । कठौना–पातो सडक, कल्याणपुर–बोदे बर्साइन सडक, इनरुवा–कुनौली सहितका सडकहरुमा पनि सर्वसाधारणहरु अत्यन्त जोखिम पुर्ण यात्रा गर्न वाध्य छन् ।

यसैगरी जिल्ला स्तरीय कृषि सडकहरु पोर्ताहा–वकधुवा, भारदह–पकरी, रुपनगर–कञ्चनपुर पथरी–कमलपुर–फत्तेपुर, जण्डौल–कुशहा, महुली–लोहजारा–हनुमाननगर, पकरी–प्रसवनी, हरीहरपुर–पकरी–तिलाठी, विषहरीया–मुसहर्निया, सखडा–गाविन्दपुर, शम्भुनाथ–वनैनिया, कल्याणपुर–वनौली लगायतका सडकहरु पनि नाममा मात्रै सीमित वन्न पुगेको छ । जिविस सप्तरीको तथ्यांकमा यस्ता दर्जन बढी सडक भएपनि अधिकांश सडकहरुका वारेमा स्थानीय वासिन्दाहरुलाई जानकारी समेत छैन ।

‘समग्रमा भन्नु पर्दा सप्तरीमा हाल काम लायक एउटा पनि सडक रहेको छैन’, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली भन्छन्, ‘पूर्व–पश्चिक राजमार्गलाई छाडिदिने हो भन्ने हाल सप्तरी सडक विहिन भएको छ, भन्दा अतिशयोक्ति नहोला ।’

सडक विहिनताको अवस्थामा सप्तरीवासी विकासिय दृष्टिले अपाङ्ग हुन पुगेको उनको टिप्पणी छ । ‘सडकलाई विकासको मेरुदण्ड मानिएको हो, तर सकडै नभएको जिल्लाको विकास कसरी सम्भव होल त ?’ भन्साली मात्रै नभई अधिकांश सप्तरीवासीको यस्तै प्रश्न छ ।’

जिल्ला विकास समिति तथा सडक विभाग लगायतका निकायहरुवाट सडकहरुको मर्मत सम्भार तथा नयाँ सडक निर्माणका नाममा वर्षैनी करौडो रुपैयाँ खर्चिने गरेका छन् । दुवै निकायको आँकडालाई नियाल्ने हो भने पछिल्लो दुई वर्षमा सप्तरीमा सडकको नाममा झण्डै ५० करोड भन्दा वढि रकम खर्चिएको छ ।

खासगरी जिल्ला स्थित कच्ची तथा कृषि सडकहरुका लागि प्रत्येक वर्ष असार मसान्तमा जिल्ला विकास समिति सप्तरीले ठुलो लगानि गर्ने गरेका छन् । चालु आर्थिक वर्षमा पनि आरआईडिपी, एसएनआरटीपि सहितकाहरुको सहयोगमा झण्डै दुई करोड भन्दा वढि लगानी गरिएको जिल्ला विकास समिति योजना शाखाले जनाएको छ ।

‘भाँचिएको मेरुदण्ड कहिले बन्ला ?’

कालोपत्रे परै जाओस अब त माटो र ग्रयाभेलको अबसेस समेत देखिदैनन् । खाल्डै खाल्डो अनि हिलाम्य सडकमा पैदल यात्रा पनि जोखिम पुर्ण भएको छ । ‘तराई विकासको मेरुदण्ड’ भनेर व्याख्या गरिने हुलाकी सडकको सप्तरी स्थित खण्ड पछिल्लो डेढ दशक भन्दा लामो समयदेखि जर्रजर्र अवस्थामा छन् । तर राज्यले भने आश्वासन वाहेक केहि पनि दिन नसकेको स्थानियहरुको गुनसो छ । राज्यले दिने आश्वासनका विच पछिल्लो लामो समयदेखिको समस्या झेल्दै आएका सर्वसाधारणको एउटै प्रश्न हुन्छ, ‘भाँचिएको मेरुदण्ड कहिले बन्ला, हाम्रो अवस्था कहिले सुध्रिएला ?’

हुलाकी राजमार्गको राजविराज–खुरहुरीया खण्ड ।
हुलाकी राजमार्गको राजविराज–खुरहुरीया खण्ड ।

पछिल्लो संविधान सभा निर्वाचनका वेला हुलाकी सडक सप्तरी मात्रै नभई तराई मधेशका अन्य जिल्लाहरुमा समेत ठुलो चुनावी मुद्दा बनेको थियो । ‘चुनाव पछि यस सडकका लागि पक्कै पनि केहि हुन्छ होला भन्ने हामिले सोचेका थियौ’, सडक छेउमै रहेको सप्तरीको जमुनी मधेपुरा गाविसका श्यामप्रकाश यादवले भने, ‘अहिले पनि भाषणमै सिमित भएको छ, हुलाकी सडकको मुद्दा ।’

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न गाउँ तथा मुख्य नगरहरुलाई जोडने हुलाकी मार्ग भत्किएर ठूला–ठूला खाल्डाहरु भएको छ । सडक खण्डमा रहेका विभिन्न पुलहरु समेत भत्किएकाले झन् जोखिम बढेको छ । तराईको वीरगञ्ज, सिम्रौनगढ, गौर, मलंगवा, जलेश्वर, सिरहा, राजविराज हुँदै भद्रपुर लगायतका सदरमुकाम तथा बजारहरु जोड्ने यो सडक निर्माणमा तदारुकता नदेखाइएका कारण सडकको अवस्था झन जर्जर बन्न पुगेको छ ।

असार महिनाको सामान्य वर्षामा पनि पानी जमेर बाटो बिग्रँदा यातायातका साधन चल्न कठिनाइ हुने गरेको मलेकपुर–५ खुरहुरियाका व्यवसायी हरिनारायण साहले बताए । ‘सामान्य वर्षामा पनि यातायातका साधन चल्न गाह्रो हुन्छ, रातिको समयमा हिडडुल गर्न समेत जोखिम मोल्नुपर्ने बाध्यता छ’, उनले भने, ‘ठाउँ–ठाउँमा भत्किएका जीर्ण पुलले गर्दा साइकल तथा पैदलयात्री दुर्घटनाको सिकार हुने गर्छन् ।’ बयलगाडा, ट्रयाक्टर, टेम्पु, जीपलगायतका यातायातका साधनहरु अनियन्त्रित भई पल्टिने गरेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनको भनाई छ ।

दैनिक हज्जारौं जनता हिँडने सडकको दुरावस्थाका कारण पटक–पटक दुर्घटना समेत हुने गरेको स्थानियहरु वताउँछन् । जिल्लाबाट पटक–पटक सभासद्देखि मन्त्रीसम्म भए तर सर्वसाधारण जनताको जीवनजिविकासँग जोडिएको हुलाकी सडक निर्माणका लागि ठोस पहल गर्न नसेको बेल्ही चपेना–४का राजु चौधरीले वताए ।
तराईका जिल्लाहरु जोड्ने द्रुत मार्गका रुपमा सुविधासम्पन्न बनाउने उद्देश्यका साथ भारत सरकारले पूर्वबाट मेचीको भद्रपुरदेखि रङगेली, विराटनगर, राजविराज, सिरहा, जनकपुर, मलङगवा, कलैया, वीरगन्ज, त्रिवेणी, परासी, भैरहवा, बहादुरगञ्ज, नेपालगञ्ज, धनगढी हुँदै महाकालीपारीको दोधारा चाँदनीसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको छ । सडक निर्माणको ठेक्का भारतीय निर्माण कम्पनी जेभीआर, जिबीआर र गावरले पाएको छ।

सन् २०१० जुनदेखि सडक निर्माण कार्य सञ्चालन भएको छ । यद्यपी सम्वन्धित कम्पनीका ठेकेदारको ढिलासुस्ती तथा सडक फराकिलो गर्ने क्रममा अतिक्रमित घर, टहराहरु भत्काउन तथा रुख कटान गर्ने क्रममा ठाउँठाउँमा स्थानीयवासिन्दाहरुले अवरोध पुर्याउने गरेका कारण सडक निर्माण कार्यले गति लिन नसकेको बताइन्छ । यस्तै हुलाकी सडकमा पर्ने पुलहरु निर्माण गर्ने जिम्मा नेपाल सरकारले लिए पनि कामले अपेक्षाकृत गति लिनसकेको छैन ।

६ करोड खर्चियो तर भएन यातायात सुचारु

खाँडो नदिको वाढीले पछिल्लो एक दशक देखि अस्तव्यस्त पारेको सप्तरीको राजविराज कुनौली सडक अन्तर्गत तिलाठी–रम्पुराको तीन किलोमिटर सडक खण्डमा अझै यातायात सुचारु गर्न सकिएको छैन । लामो समयदेखि जिर्णोधारको पर्खाईमा रहेको उक्त खण्डमा जिर्णोधार कार्य थालिएपनि सम्बन्धीत ठेकेदारहरुले काममा व्यापक अनियमितता गरेका कारण यस्तो अवस्था भएको सर्वसाधारणको गुनासो छ ।

तीन किलोमिटर उक्त सडक खण्डको जिर्णौधार गर्दै यातायात सुचारु गर्न सरकारले ६ करोड भन्दा वढी बजेट विनियोजन गरेको तीन वर्ष वित्न लाग्दा समेत उक्त सडक आवतजावत योग्य हुन नसकेको भन्दै स्थानियहरुले छानविनको समेत माग गरेका छन् ।

बर्षा याममा प्रत्येक वर्ष उक्त सडक खण्डमा यातायात अबरुद्ध हुन थालेपछि आर्थिक बर्ष ०७०÷०७१ मै सडक विभागले राजविराज–कुनौली सडक अन्तर्गत झण्डै ६ करोड भन्दा बढीको छुट्टा–छुट्टै योजनाहरु ल्याएका थिए । जसअन्तर्गत हाल खाँडो नदीले सडक कटान गरेको स्थानको छेउमै पुल निर्माण गर्ने कार्य समेत रहेको छ । तर उक्त पुलको निर्माण कार्य समेत दुई वर्ष देखि अलपत्र रहेको छ ।

३१ असार, २०७१ मै सम्झौता गरेको काठमाण्डौका पप्पु-मृत सञ्जीविनी जेयूले हाल सम्म त्यहाँ तीन वटा पिल्लर निर्माण वाहेकको काम गर्न सकेको छैन । ३० असार, २०७३ सम्म म्याद रहेको उक्त कामका लागि ५ करोड ४२ लाख ९५ हजार ६ सय १२ रुपैयाँ १० पैसा छुट्याईएको ठेकेदार कम्पनीले जनाएको छ ।

यता तिलाठी देखि बेल्ही भन्सार सम्मको झण्डै १ किलोमिटर सडकमा १० हजार घन मिटर माटो, ८ सय घन मिटर ग्राभेल तथा दुई वटा कल्भर्ट निर्माणका लागि एडि बिल्डर्सले ५७ लाखमा टेन्डर कबोल गरेका छन् । यद्यपी दुई बर्ष वितिसक्दा समेत माटो तथा ग्राभेलको काम अझै पुरा हुन सकेको छैन । ठेकेदार रणधिर ठाकुर(कन्हैया) आफुले सम्झौता बेमोजिमको काम पुरा गरिसकेको दावि गर्दछन् । तर स्थानियहरु भने ठाकुले गुणस्तरहिन काम गरेको भन्दै त्यसको छानविनको माग गरेका छन् । स्थानियहरुको एक समुहले जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुमा समेत उजुरी गरेका छन् ।

व्यापारीक विकासका दृष्टिकोणले समेत राजविराज–कुनौलि सडक खण्ड सप्तरीका लागि अत्यन्तै महत्वपुर्ण रहेको उद्योगा वाणिज्य संघ सप्तरीका महासचिव सुरेशकुमार सिंह वताउँछन् । ‘हाईवे सँग जोडिएको मुलुककै सवै भन्दा नजिकको भन्सार नाका राजविराज भन्सार कार्यालयसँग जोडिएकोले यो सडक अत्यन्तै महत्वपुर्ण छ’, उनले भने ।