जनकपुरमा मोर्चाको बैठक सुरु

madhesi morchako janakpurma baithak 1संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु भएको छ । जनकपुरस्थित होटल सिटीस्टारमा शनिबार साँझ साढे पाँच बजे सुरु भएको बैठकमा मोर्चासम्बद्ध चार वटै दलका अध्यक्षलगायत १२ जना नेता सहभागी छन् ।

विगत ७८ दिनदेखि मधेसमा जारी आमहड्ताल तथा नाकाबन्दीलाई कायमै राखी आन्दोलनलाई थप सशक्त बनाएर अगाडि बढ्न नयाँ रणनीति निर्माणको लागि बैठक बसेको बैठकस्थलमै रहेका तमलोपाका केन्द्रीय सदस्य उदय तिवारीले बताए। मधेसको जनजीवन अस्तव्यस्त भए पनि राज्यले आन्दोलनप्रति गम्भीरता नदेखाएको आरोप लगाउँदै उनले अबको आन्दोलन थप सशक्त बनाउन यो बैठक केन्द्रीत रहेको जानकारी दिए।

अपरान्ह एक बजेदेखि नै बैठक सुरु हुने भनिए पनि सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई यहाँ आइपुग्न ढिलाई भएका कारण ढिलो सुरु भएको हो। बैठकमा महतोसहित तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपा अध्यक्ष महेन्द्र राय यादव, फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, तमसपाकी उपाध्यक्ष रानी शर्मा तिवारी, फोरम केन्द्रीय सदस्य हरिनारायण यादव, सद्भावना केन्द्रीय सदस्य लालकिशोर साहलगायत छन्।