छठको उल्लाससँगै रोजगार र आम्दानि पनि

सप्तरीको बभनगामाकट्टी–८ मंसापुरकी फुलोदेवि मरिक आफ्ना छोराका साथ बाँसका सामग्रीहरु बनाउन व्यस्त ।
सप्तरीको बभनगामाकट्टी–८ मंसापुरकी फुलोदेवि मरिक आफ्ना छोराका साथ बाँसका सामग्रीहरु बनाउन व्यस्त ।

सप्तरीको बभनगामाकट्टी–८ मंसापुर बस्ने असर्फि मरिकको परिवारलाई अचेल भ्याईनभ्याई छ । ६ जनाको परिवार पछिल्लो एक महिनादेखि दिनरात काम गरेपछि माग बमोजिमको सामग्री तयार गर्न नसकेको असर्फिको भनाई छ ।

‘छठ पर्वका लागि ठुलो संख्यामा नाङ्गलो, ढकिया, कोनिया लगायतका सामग्रीहरुको माग छ’, सोमवार विहान राजविराज–हनुमाननगर सडकको छेउमै रहेको आफ्नो घर अगाडी काम गर्दै भेटेका असर्फिले भने, ‘भोली(मंगलवार) विहान सम्म जसरी भएपनि सवै ग्राहकहरुलाई चाहिए जतिको सामग्री पु¥याउनु पर्ने हुन्छ ।’

बभनगामाकट्टी, पातो, कजौली, मंसापुर लगायतका नजिकका बस्तीहरुमा रहेका आफ्ना एक सय जति ग्राहकहरुलाई अझै बाँसका सामानहरु उपलब्ध गराउन बाँकि नै रहेको असर्फिसँगै काम गरीरहेकी उनी पत्नी फुलोदेवि मरिकले वताईन् ।

सप्तरीको हनुमाननगर–८ का रामचन्द्र पण्डित छठ पर्वका लागि माटोका भाडाहरु बनाउँदै ।
सप्तरीको हनुमाननगर–८ का रामचन्द्र पण्डित छठ पर्वका लागि माटोका भाडाहरु बनाउँदै ।

‘विहान २ बजेदेखिनै काम थाल्छौ’, फुलोले भनिन्, ‘छोरा, बुहारी, नाति नातिनी सबै मिलेर काम गरिरहेका छौ, आज(सोमवार) रातभर जागेर भएपनि सबै समान बनाउनु पर्ने हुन्छ ।’ ८ दिन अघि नै गाउँकै एक जना किसानवाट २५ वटा बाँस किनेर ल्याएको उनले बताईन् ।

असर्फि मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने प्रायःजसो डोमहरुलाई अचेल व्यस्तता बढेको छ । छठ पर्वका लागि बाँसका सामग्रीहरुको माग बढेका कारण डोमहरुलाई यसरी भ्याईनभ्यााई भएको हो ।

सप्तरीको दक्षिणी भेगमा पर्ने लौनियाँ निवासी राजकुमार मरिक छठका बेला आफुहरु चल्ती आउने गरेको बताउँछन् । ‘यति बेला त निकै चल्ती हुन्छ हाम्रो’, नागरिकसँग कुराकानी गर्दै ३६ बर्षिय राजकुमारले भने, ‘हाम्रो रोजगार भने १२ महिने चल्ने होईन, हाम्रो रोजगारको मुख्य सिजननै छठ पर्व हो ।’

यतिवेला प्रति डोम परिवार ५ देखि २५ हजार सम्म कमाउने गरेको उनको भनाई छ । एउटा कोनियाँ ८० देखि १०० रुपैयाँ सम्म विक्ने गर्दछन भने ढकियाका लागि हाल १५० देखि ३०० सय सम्म तिर्नु पर्ने बाध्यता रहेको तिलाठी–७ का चन्दन झा बताउँछन् । त्यस्तै नाङ्गलो मुल्य हाल १६० देखि ४०० सम्म रहेको छ ।

राजविराज–१ स्थित हटियामा माटोका सामग्रीहरु बेच्दै एक कुम्हाले महिला ।
राजविराज–१ स्थित हटियामा माटोका सामग्रीहरु बेच्दै एक कुम्हाले महिला ।

हुनेखानेहरुका लागि रमाईलो मात्रै होईनन्, अति विपन्न तथा पिछडीएकाहरुको लागि रोजगार समेत लिएर आउने गरेको हुँदा छठको महत्व अझै बढेको संस्कृति परम्पराका क्षेत्रमा कलम चलाउँदै आएकी अवकाश प्राप्त प्राचार्य मिना ठाकुर बताउँछिन् । यस पर्वले अति पिछडीएका डोम, चमार लगायतका जाति हुन वा कुम्हाले, मालि जस्ता विपन्नहरु सबैका लागि रोजगार र आम्दानि ल्याउने गरेको उनको भनाई छ ।

डोम जस्तै कुम्हालेहरुका लागि पनि छठ ठुलो व्यापारिक अवसर हो । सप्तरीको हनुमाननगर गाविस–८ का ४५ बर्षिय रामचन्द्र पण्डितले भने, ‘खेतवाट माटो ल्याउने, चाक चलाउने, माटोका काच्चा भाँडाहरु आगोमा पकाउने र भाडो पुर्ण रुपमा तयार भएपछि त्यसलाई बजार ल्याएर बेच्ने, पछिल्लो महिना दिन यता हाम्रो लागि नियमित दिनचर्या नै यहि हो ।’

कुम्हालेले बनाउने हात्ति, घैला, दिप लगायतका सामग्री विना छठ पुजा सम्भव हुँदैन् । हाल बजारमा १ सय देखि २५० रुपैयाँ सम्म घैला, हात्ती लगायतका सामग्रीहरु विक्रि हुने गरेको अर्का युवा कुम्हाले रामचन्द्र पण्डितले जानकारी गराए । तर वर्षको एक सिजन मात्रै कमाई हुने गरेका कारण आफुहरु पेशा नै संकटमा परेको उनको गुनासो छ ।

रोजगार, आम्दानि र हर्षोल्लासका निम्ती मात्रै नभई तराई क्षेत्रमा बसोबास गर्ने मैथिल मधेशी समुदायमा कथित छुवाछुत प्रथा कायमै रहेको वेला छठ पर्वले समाजिक सदभाव र जातिय विविधताको सन्देश समेत प्रवाह गर्ने गरेको राजविराज स्थित बैष्णवि काली मन्दीरका मुल पुजारी पण्डित राजिव झा बताउँछन ।

डोमले बनाएको बाँसका समग्री, कुम्हालेले बनाउने माटोका समानहरु, चमारले बजाउने बाजा, मालिले ल्याएको फुल तथा विभिन्न सामग्रीको अपरिहार्यतालाई छठ पर्वले दिने समाजिक सदभाव तथा जातिय विविधताको सन्देशका रुपमा ग्रहण गर्न सकिए यसले पक्कै पनि कथित जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्न सार्थक हुने पण्डित झाको भनाई छ ।