चौरचन पर्व सम्पन्न

तराईका जिल्लाहरुमा निष्ठापुर्वक मनाइने चौरचन अर्थात चौठचन्द्र पर्व शुक्रवार भव्यतापूर्वक सम्पन्न भएको छ ।

ब्रतालु महिलाहरुले आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर  उदाउँदो चन्द्रमालाई अर्घ दिइएर मनाइएको हो । भगवान गणेशको श्रापबाट मुक्त हुनका लागि चन्द्रमाको पुजा गर्न थालिएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । महिलाहरुले आफ्नो श्रीमान् तथा छोराको दिर्घायु र सु–स्वास्थ्यको कामना गदै भदौ चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ ।

चौरचन पर्वको अवसरमा उदाउँदो चन्द्रमालाई अर्घ दिँदै एक ब्रतालु महिला ।
चौरचन पर्वको अवसरमा उदाउँदो चन्द्रमालाई अर्घ दिँदै एक ब्रतालु महिला ।

चौरचन पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै फलफूल, मिठाई, अम्बा, केरा, मकै, खीर र दही पूजा सामग्रीको रुपमा प्रयोग गरिन्छ । ब्रतालु महिलाले चन्द्रमालाई अर्पण दिने समयमा घरका सम्पूर्ण सदस्यहरु आँगनमा भेला भई चन्द्रमालाई ढोग्ने गर्दछन् । यो पर्वमा माटाको कौरना, कौरनी, मटकौरी, छाँछ, कोहालगायतका नयाँ वर्तनमा दहीको अविार्यता हुने गर्दछ ।

निष्ठापूर्वक चन्द्रमाको पूजा अर्थात चौरचन पर्व गर्दा परिवारमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्य रहने जनविश्वास रहँदैआएको छ । यो पर्वमा कृषि उपज र घरायसी परिकारहरुको बढी प्रयोग गरिन्छ ।

2आस्था एवम् निष्ठाकासाथ मनाइने यो पर्वमा परिवारमा भएका हरेक व्यक्तिहरुको नामबाट माटाको भाडामा दही, खीर आदी राखेर शुक्ल चतुर्थीका दिन साँझ उदाउँदो चन्द्रमालाई अर्घ दिइने प्रचलन रहेको मैथिल महासंघका अध्यक्ष एवम् संस्कृतिकर्मी विष्णुकुमार मण्डलले जानकारी दिए । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनकालागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनकालागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने प्रचलन रहेको बताउँदै संस्कृतिकर्मी मण्डलले भने– चौठीचाँदलाई चढाउने तयार पारिएको चामललगायतका पूजा सामग्री बच्चा वा पशुपञ्छी खाइदिँदा चर्मरोग हुने जनविश्वास अझैं कायम छ ।

यतिमात्र होइन, यो पर्वमा घरमा जतिवटा पशुचौपाया छ त्यतिवटा नै माटाको भाँडोमा दही, खीर आदी चढाइने गरिएकोले पशुको रक्षा तथा कल्याणका लागि समेत यो पर्व महत्वपूर्ण मानिएको संस्कृतिकर्मी मण्डलले बताए । मधेशका जिल्लाहरुमा यो पर्व हिन्दु धर्मावलम्वी समुदायले विशेष महत्वकासाथ मनाइने गरिन्छ ।