चुनावले चौतर्फि तनाव

‘हो लोकतन्त्रलाई संस्थागत गर्न, ०६२\०६३को जन आन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक उपलब्धीलाई जोगाउन पक्कै पनि मुलुकमा स्थानिय निकाय चुनावको अपरिहार्यता रहेको छ, तर यसको अर्थ एकलौटि रुपमा ज्ञानेन्द्र जस्तै चुनावको घोषणा गर्नु उपयुक्त हुँदैन, आत्मघाति हुन्छ ।’

जागरण डेस्क
राजविराज ।

             चुनावलाई लोकतन्त्रको महापर्व भन्ने गरिन्छन, कुनै पनि लोकतान्त्रीक मुलुकमा चुनाव भए लगत्तै उल्लासको माहौल हुन्छ । तर पहिला स्वतन्त्र विद्यार्थि युनियन र त्यस पछि स्थानिय निकायको चुनाव घोषणा भए लगत्तै सप्तरी सहित तराई÷मधेशका जिल्लाहरुमा भने उल्लास त कता हो कता झन् तनावपुर्ण माहौल उत्पन्न भएको सर्वसाधारणहरुको टिप्पणी छ ।

‘१९ बर्ष पछि स्थानिय निकायको चुनाव हुन लाग्यो, झण्डै ८ बर्ष पछि स्ववियु निर्वाचन पनि घोषणा गरिएको हो, तर पर्याप्त तयारी बगैर’, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली भन्छन्, ‘सरकारले प्रर्याप्त तयारी र आपसि सहमति वनाउन नसक्दा चुनावले तनाव जन्माएको हो ।’

           images5राजा ज्ञानेन्द्रकै पालामा खारेज गरिएको स्थानिय निकाय चुनावका लागि पछिल्लो लामो समयदेखि नागरिक समाजका अगुवा तथा सर्वसाधारणहरुले जोडदार आबाज उठाउँदै आएका थिए । स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदाको अस्तव्यस्तता र बढदो आर्थिक अनियमितता तथा भ्रष्टाचारले आजित सर्वसाधारण आफै चुनावको पक्षमा भएपनि घोषित निर्वाचन प्रति बहुसंख्यक सर्वसाधारण अन्यौलमै रहेको भन्सालीको भनाई छ ।

‘राज्य पक्षले कुनै पनि हालतमा चुनाव गराएरै छाडने खालको अभिव्यक्ति दिईरहेका छन् भने, आन्दोलनमा रहेका मधेशी मोर्चा भने चुनावलाई औचित्य हिन भन्दै गरेका छन्, यस्तो अवस्थामा तराई÷मधेशका जनता माझ अन्यौलता देखिनु स्वभाविक हो’, मधेशी नागरिक समाजका अगुवा बद्रिनारायण झा भन्छन्, ‘लामो बन्दको मारवाट अझै पनि तराई÷मधेश निस्कन सकेको छैन्, चुनावको घोषणासँगै सर्वसाधारणमा पुनः बन्दको त्रास देख्न थालिएको छ ।’

‘चुनाव हुन्छ नै’ भन्ने प्रति अझै पनि सर्वसाधारण विश्वस्त भईसकेको अवस्था नरहेको झाको भनाई छ । ‘लामो बन्द हडताल पश्चात दुवै पक्ष विच सम्बादको वातावरण देखियो, संविधान संशोधनका कुराहरु पनि निकै जोडसोडका साथ उठायो, जसले मधेशका जनता माझ स्थिरताको सन्देश प्रवाह भएको थियो’, उनले भने, ‘फेरीद्वन्द्वको माहौल जन्मीएको छ, मधेशी मोर्चा जुनसुकै वेला पनि सडकमा ओलिर्न सक्ने सम्भावना निकै वढेर गएको छ, त्यसैले होला बहुसंख्यक तराई÷मधेशवासीलाई चुनावले उल्लास भन्दा पनि तनाव सृजना गरेको छ ।’

स्थानिय निकाय चुनाव घोषणा अघि नै स्ववियु चुनाव घोषणा गरिएको थियो । तर घोषणा सँगै सप्तरी स्थित एक मात्र महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसको अवस्था झन् अस्तव्यस्त र तनाव पुर्ण वन्न पुग्यो । चुनावीद्वन्द्वकै कारण पछिल्लो एक महिना यता क्याम्पसमा नियमित पठन पाठन समेत हुन सकेको छैन ।

अझै पनि क्याम्पस प्रमुखको कार्य कक्ष, लेखा शाखा, परीक्षा शाखा लगायतका महत्वपुर्ण फाँटहरुमा तालाबन्दी नै रहेको छ । क्याम्पसमा बढदो तनावलाई देख्दै क्याम्पस प्रशासनले अनिश्चित कालका लागि स्ववियु निर्वाचननै स्थगित गरिदिएका छन् ।

मधेशवादी दल निकटका विद्यार्थी संगठनहरुको दवावका कारण राजविराज लगायत तराई÷मधेशका अधिकांश क्याम्पसहरुमा १८ गते हुने भनि तोकिएको स्ववियु निर्वाचन स्थगित गरिएको हो । क्याम्पसको निर्वाचन स्थगित भएपछि झन् स्थानिय निकायको निर्वाचन प्रति अन्यौलता बढेको अवकास प्राप्त प्राचार्य मिना ठाकुर वताउँछिन् ।

‘स्ववियु निर्वाचन जस्तै अन्तिम समयमा आएर स्थानिय निकायको चुनाव पनि स्थगन गरिने हो की, भन्ने शंका बढेर गएको छ’, उनले भनिन्, ‘अन्यौलमा रहेको चुनावले उल्लास हैन तनाव मात्रै दिने गर्छन् ।’ चुनाव घोषणा लगत्तै एक दिने सांकेतिक बन्दसँगै मधेशी मोर्चाले आफ्नो ‘स्ट्याण्ड’ स्पष्ट पारिसकेको वताउँदै ठाकुर भन्छिन्, ‘लोकतान्त्रीक परिपाटीमा चुनाव भनेको सर्व पक्षिय सहमतिवाट घोषणा गरिनुपर्छ ।’

बहुमतको नाममा सरकार पक्ष वा एकाखाले मन मिल्ने दलहरुको मिलोमतोमा मात्रै चुनाव घोषणा गरिएकोले यस्तो अन्यौल पुर्ण अवस्था आएको बरिष्ठ पत्रकार तथा अधिवक्ता विष्णु मण्डलको बुझाई छ । ‘सवै राजनीतिक शक्तिहरुको धारणा बुझ्नु प¥यो नी’, उनले भने, ‘संविधान संशोधनका लागि ६ महिने लामो बन्द भयो, दर्जनौले ज्यान गुमाए तर ती सवलाई वाईपास गरी सरकार तथा तीन÷चार दलले गरेको चुनाव घोषणालाई कुनै पनि एंगलले जायज भन्न मिल्दैन ।’

मुलुकका केहि ठुला नेता तथा दलहरुले आफ्नो ‘इगो’का लागि चुनाव घोषणा गरेर मुलुकलाई पुनः द्वन्द्व तर्फ लम्काएको मण्डलको बुझाई छ । उनी भन्छन्, ‘हो लोकतन्त्रलाई संस्थागत गर्न, ०६२÷०६३को जन आन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक उपलब्धीलाई जोगाउन पक्कै पनि मुलुकमा स्थानिय निकाय चुनावको अपरिहार्यता रहेको छ, तर यसको अर्थ एकलौटि रुपमा ज्ञानेन्द्र जस्तै चुनावको घोषणा गर्नु उपयुक्त हुँदैन, आत्मघाति हुन्छ ।’