चीन भ्रमण सकेर प्रधानमन्त्री फिर्ता

Pm_Return_From_China_PM_Oli_164947008साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री केपी ओली आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण उपलव्धीमूलक भएको प्रतिक्रिया दिए ।

उनले भ्रमणका क्रममा पारवहन, ब्यापार तथा भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको बताए । चीन भ्रमणबाट नेपालका लागि उल्लेख्य सहयोग प्राप्त भएको उनको भनाई थियो ।

दुई देशबीच भएका पारवहनलगायतका सम्झौताले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री ओलीले बताए । चीनबाट इन्धन ल्याउन दुई सरकारबीच व्यवसायिक सम्झौता गर्ने गरी सहमति भएको पनि ओलीले जानकारी गराए । त्यस्तै नेपालमा इन्धन भण्डारण गृह बनाउन सघाउन पनि चीन सहमत भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङ र आप्नो तर्फबाट समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणको निम्ता दिएको भन्दै प्रधानमन्त्री ओलीले सन् दुई हजार सोह्रभित्रै नेपालमा चिनियाँ उच्चस्तरीय राजनीतिक मण्डलको भ्रमण हुने आशा व्यक्त गरे ।

नेपालको नयाँ संविधानलाई स्वागत गर्दै चीनले नेपालको आर्थिक विकासमा सदैव सहयोग गर्ने वचन दिएको पनि उनले बताए । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार लगायत सांसद एवम् सरकारी उच्च अधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।

हिमालय एयरलाइन्सको विशेष चार्टर्ड विमानबाट ९० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन उडेका प्रधानमन्त्री ओली सोही जहाजमा फर्केका हुन्  टोलीमा ओलीपत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, आपूर्तिमन्त्री गणेशमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विभिन्न दलका सांसद, मुख्यसचिव सोमलाल सुवेदी, सचिवहरू, सहसचिवहरू, उद्योगी व्यवसायी र सरकारी सञ्चारमाध्यमका प्रतिनिधि रहेका थिए ।
ओलीले चिनियाँ प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए ।‌ ओलीको चीन भ्रमणका क्रममा पारवहनसहित महत्वपूर्ण १० वटा सम्झौता भएका थिए । दुई देशबीचको १५ बुँदे संयुक्त विज्ञप्तीमा चीनबाट इन्धन आयतसम्बन्धी सम्झौता पनि चाँडै गर्ने सहमति भएको थियो ।