चितवनमा स्क्रब टाइफसको संक्रमण

स्क्रब टाइफसचितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन् । ७० जना बिरामीको रगत परीक्षण गर्दा १७ जनामा स्क्रव टाइफसको संक्रमण फेला परेको हो । यसअघि बैशाखयता भदौ पहिलो सातासम्ममा चितवनमा मात्र १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो ।

उता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भने भदौको दोस्रो साताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको दाबी गरे। चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा स्क्रब टाइफसका संभावित विरामीको परीक्षण थालिएको छ ।नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण पाँचजनाको ज्यान गइसकेको छ ।

नेपालमै सबैभन्दा बढी चितवनमा रोग फैलिएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली नै पठाएर अध्ययन गरेको छ ।मुसामा हुने एक प्रकारको किर्ना ‘माइट’ले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन् ।