खाँडोको नदीको बिनास, नियति र निकास

युवा संचारकर्मी जितेन्द्रकुमार झा ( तिलाठी )
युवा संचारकर्मी जितेन्द्रकुमार झा ( तिलाठी )

मनसुनसँगैको बाढी र डुबान ! जोखिम र त्रासको माहौल ! सिमानामा छिमेकि सँगको तनाव ! सञ्चार माध्यम देखि समाजिक सञ्जाल सम्ममा उग्र चर्चाको विषय ! नाना थरिकमा बहस र तर्क ! टँप टू बोटम अनुगमन निरीक्षण ! बाढी पिडितको नाममा देश विदेशमा राहत संकलन ! राहतकै लागि लडाई ! अनि विस्तारै सेलाउँदै जान्छ मुद्दा ! फेरी अर्को बर्ष उहि त्रास, उहि जोखिम ! फेरी पुरानै नियति !, असार तिरको बाढी सप्तरीको तिलाठी लगायत दक्षिणी भेगका सर्वसाधारणका लागि बर्षैनी उस्तै हो ।

बाढी र डुबानका बेला खासगरी प्रत्येक वर्ष असार देखि भदौं सम्म यस क्षेत्रको समस्या वारे चौतर्फि चर्चा भएपनि आफुहरुको समस्या राज्यका लागि गम्भीर मुद्दा नै बन्न नसकेको स्थानियहरुको गुनासो छ । ‘हाम्रो लागि यो नयाँ समस्या होईन, दशकौ पुरानो नियति हो यो’, तिलाठीका पूर्व गाविस अध्यक्ष दिनेश्वर मिश्र भन्छन्, ‘स्थाई समाधान तर्फ राज्यले कहिले पनि ध्यान नै दिएन ।’

खासगरी मुख्य धारका राजनीतिक दलहरुको नैराश्यता र राज्यको गैर जिम्मेवार रवैयाका कारण आफुहरु बर्षैनी जसो डुबानमा पर्न बाध्य रहेको स्थानियहरुको बुझाई छ । ‘नेताहरुमा स्वहित राजनीतिक स्वार्थ र कर्मचारीहरुमा व्याप्त कमिशन खोरी र भ्रष्टाचार समस्याको मुख्य कारक हो’, मिश्रले भने, ‘बाहिरवाट हेर्दा डुवानका अन्य थुप्रै प्राबिधिक कारणहरु देखिएला तर मुख्य कारक तत्व राजनीतिक खिचातानि र भ्रष्टाचार बाहेक अरु केहि पनि हैन ।’

खाँडोको प्राकृतिक बहाबलाई बाधित गर्दै दशकौ अघि भारतीयहरुले दशगज्जा क्षेत्रमै बनाएको बाँधको समस्या वारे नेपाल सरकार तथा यस क्षेत्रका जनप्रतिनिधिहरुले कहिले पनि गम्भीरता पुर्वक बोल्न समेत नसक्नु, खाँडो नदी नियन्त्रणका लागि थालिएको तटबन्ध निर्माण कार्यमा नाता, गोता, जात, भोटबैंक इत्यादीका आधारमा ‘नक्शा डिजाईन’ गर्नु, आफु अनुकुलका उपभोक्ता र ठेकेदारलाई मात्रै काम दिनु लगायतका कारणले दक्षिणी भेगका सर्वसाधारणको पिडा जसका तस रहेको हो ।

‘मुल समस्या भनेको दक्षिण तर्फ नदिको सहज निकास नहुनु हो’, तिलाठीका पूर्व गाविस उपाध्यक्ष अमिर झा भन्छन्, ‘उत्तर दक्षिण भएर वग्ने खोलाको प्राकृति बहाब थुन्ने गरी विचमै बाँध बनाई दिएर डुबानको समस्या भएको हो ।’

चुरे क्षेत्रवाटै सप्तरीको तिलाठी हुँदै भारत बिहारको कुनौली ग्राम पञ्चायत भई दक्षिण तर्फ वग्ने खाँडो नदीमा भारतीयहरुले सिमा क्षेत्रमै ३ किलोमिटर लामो बाँध बनाई दिएका छन् । सोहि बाँधका कारण नदिको प्राकृतिक बहाब थुनिएर खाँडो नदिको दक्षिण तर्फ निकास नै थुनिएको छ । नदिको बालुवाले झण्डै ४ किलोमिटर जति खाँडोको बहाव नै पुरिएको हो । सप्तरीमा कोसी पछि सवभन्दा वढि बालुवा ल्याउने नदि खाँडो नै हुन् ।

नदिको निकासनै ठुलौ चुनौती

शनिवारको बाढीको पनि मुख्य कारक भनेको त्यहि बाँध नै रहेको स्थानिय गाउँलेहरुको दावि छ । ‘दक्षिण तर्फ नदिको बहाब थुनिए पछि उत्तर तर्फ तपाई जस्तो सुकै तटबन्ध बनाई दिएपनि नदिलाई नियन्त्रीत गर्न सकिदैन’, विपदको क्षेत्रमा लोमो समयदेखि काम गर्दै आएको सप्तरीको रम्पुरा मल्हनियाँका देवनारायण यादव भन्छन्, ‘पानीको सहज निकास नभएर ठाउँ ठाउँमा बाँध भत्किएको हो, कतिपय ठाउँमा अफर फ्लो भएर पनि बाढी पसेको हो ।’

समावर्ती भारतीय भागमा जवरजस्ती वाँध वाधेर नदिको मुहान वर्षौ देखि थुनेर राखेका कारण यस वर्ष पनि नेपाल तर्फको आधा दर्जन भन्दा वढि गाविसहरु डुवानमा परेका हुन् । भारतीयहरु झण्डै दुई दशक देखि आफ्नो भागमा वाँध वाधि नदिको मुहान वन्द गरी दिएका कारण सप्तरीको रम्पुरा मल्हनीया, सकरपुरा, कोईलाडी, लौनियाँ, तिलाठी, हनुमान नगर लगायतका गाविसहरु यसरी डुवानमा पर्ने गर्दछन् ।

कुनौली वोर्डर स्थित कोशीको पश्चिमी तटवन्ध देखि सप्तरीको तिलाठी गाविस स्थित खाँडो नदि सम्मको झण्डै तीन किलो मिटर भु–भागमा भारतीयहरुले सन १९७४ देखि नै निर्मण गर्न थालेको स्थानियहरुको भनाई रहेको छ । त्यती वेला उनीहरुकै वाँधका कारण उत्तर दक्षिण भएर नेपाल वाट भारत तर्फ वग्ने तिन वटा नदिहरु खाँडो, महुली र जिता नदि आफ्नो प्राकृतीक वहाव परिवर्तन गरी पुर्व पश्चिम हुँदै पुर्ण रुपमा नेपाल तर्फ वाग्न लागेको स्थानिय अञ्जनीकुमार दास वताउँछन् ।

निकासको अर्को विकल्प सुलिस गेट पनि बन्द

भारतीयहरु वाँध निर्माण गरी सके पश्चात पानि निकासको एउटा ठुलो माध्यम कुनौली वोर्डर स्थित पुर्वि कोसी तटवन्धमा रहेको फलामे सुलीस गेट थियो । पानीको वहाव वढन थालेपछि सुलिस गेट खोली पानिलाई निकास दिने गरेका कारण समेत केहि मात्रामा भएपनि वाढीको चाप कम गरिन्थ्यो ।

तर पछिल्लो केहि वर्ष यता कोसी नदिको वहाव पुर्व तर्फ गएपछि वाँध छेउमा भारतीयहरुले खेती गर्न लागेको र यसरी सुलीस गेटमा पानि निकास दिँदा आफुहरुको वालि नष्ट हुने भन्दै उनीहरुले उक्त सुलिस गेटलाई समेत वन्द गरेपछि झन पानिको चाप वढन थालेको छ । यसरी दक्षिणी र पुर्व दुवै तर्फवाट पानिको वहावलाई भारतीय पक्षद्वारा नियन्त्रीत गरीएपछि सप्तरीको दक्षिणी भेगका यी गाविसहरुका हाजारौ सर्वसाधारण वर्षैनी दुई तिन महिना जति यसरी नै कष्टकर जिवन विताउँ वाध्य हुने गर्दछन् ।

‘सिमामा जुध्दा पनि अवस्था उस्तै’

त्यसो त गत वर्ष तिलाठी कुनौली सिमानामै रहेको बाँधलाई खाँडो नदिले कटान गरेपछि तिलाठीवासीको विरोधका कारण भारतीय पक्षले वनाउन सकेनन् । यद्यपी तीन किलोमिटर लामो तटबन्धका विच ५० मिटर जति कटानका कारण नेपाली भु–भागलाई खासै प्रभाव नपरेको स्थानिय देवनारायण यादवको भनाई छ ।

भारतीयहरुले बनाएको विवादित बाँधको केहि भाग कटान भएपछि त्यसलाई पुर्ननिर्माण गर्न खोज्दा गत वर्ष दुवै तिरका स्थानियहरु विच झडप समेत भएको थियो । झडपका क्रम नेपाल तर्फको तिलाठीका आधा दर्जन वढि घाईते समेत भएका थिए ।

‘हाम्रो प्रतिवादका कारण गत वर्षको कटान पश्चात भारतीयहरुले उक्त बाँधलाई पुर्ननिर्माण गर्न सकेनन्’, यादवले भने, ‘एकातिर ५० मिटर जति मात्रै बाँध कटान भएको थियो, अर्को तिर बर्षौ देखिको अवरोधका कारण खाँडो नदीको प्राकृतिक मुहाननै पुरिएको अवस्था छ, यसै कारण हाम्रो भु भाग वर्षेनी डुवानमा पर्ने गरेका छन् ।’

नेपाल र भारतका स्थानियहरु विच खाँडो विवादमा झडप पनि पहिलो पटक भएको होईन । स्थानिय वुढापाकाहरुका अनुसार पहिला–पहिला नेपाल तर्फ वाढिको जोखिम वढन थालेपछि यस क्षेत्रका अञ्चलाधिश, प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक अधिकृतहरुको सक्रियतामा नेपालीहरु रातारात भारत पसेर वाँध काटने गर्दथे, यस प्रकरणमा कयौ पटक दुवै तर्फका स्थानियहरु विच वाझावाझ समेत भएको उनीहरु वताउँछन् ।

यद्यपी त्यतिवेला देखि हाल सम्म आफुहरुले उठाउँदै आएका मुद्दा, भोग्दै आएको समस्या र पिडा, सिमा क्षेत्रमा झेल्नु परेको तनाव इत्यादीले सवैले आ–आफु अनुकुल स्वार्थ पुर्तिका लागि मात्रै प्रयोग गरिरहेको पिडित गाउँलेहरुको आरोप छ ।

तटबन्ध निर्माणमा पनि विवादै

यता खाँडो नदिलाई नियन्त्रीत गर्ने उद्देश्यले गत वर्षदेखि नदिको दुवै छेउमा तटबन्ध निर्माणको कार्यलाई सरकारले प्राथमिकता साथ अघि सारेका छन् । खाँडो नदि नियन्त्रण परियोजनाको कार्यालयलनै पहिलो पटक राजविराजमा स्थापना गरीएको छ । तर काममा पनि तिलाठी खण्डमा ठुलो विवाद उठेपछि काम हुन नसकेको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार खाँडो नियन्त्रणका लागि यस वर्ष बजेट आएपनि तिलाठी बासीकै अबरोधका कारण नदिको दुवै तिर तटबन्ध निर्माण हुन नसकेको हो । खाँडो नदी संघर्ष समितिका संयोजक तिलाठीका रामलखन यादवका अनुसार सरकारले प्रस्ताव गरेको बाँधले स्थानिय गाउँलेको झण्डै १ हजार विघा जमिन नदिमै समाहित हुने देखिएपछि गाउँलेहरुले बाँधको विरोध गरेका हुन् ।

‘०२८ सालको सर्वेमा खाँडोको मुल धार वग्ने जग्गा किटान गरिएको छ, त्यस अनुरुपनै नदिको मुहान खन्ने तथा तटबन्ध बनाउने योजना अघि सार्दा उपयुक्त हुने हाम्रो ठहर छ’, यादवले भने, ‘कुनै नेताको व्यक्तिगत भोट बैंक जोगाउन नदिको एलानी जग्गालाई थाति राखेर सर्वसाधारणको निजी जग्गा हुँदै नदिको मुहान खन्नु कहाँ जायज हुन्छ र, यस्तो अवस्थामा हामि विरोध नगरे के गर्नु ?’

‘राजनीतिमा अगाडी, विकासमा पछाडी’

सप्तरीको दक्षिणी भेगमा पर्ने उक्त भु–भाग नेपाली राजनीतिमा निकै महत्वपुर्ण स्थान राखेका छन् । नेपालको प्रजातान्त्रीक आन्दोलन होस वा भारतीय स्वतन्त्रता संग्राम यस भु–भागले दुवै तर्फको राजनीतिक आन्दोलनमा आफ्नो सक्रिया सहभागीता जनाएका छन् ।

तर राज्य पक्षको उदासिनताका कारण यो भुभाग सधै भरी पिडित नै हुन वाध्य छन् । विगत एक दशक देखि जर्जर रहेको यो भु–भागमा हाल सम्म पनि राज्यको ध्यानाकर्ष हुन नसकेको प्रति अत्यन्तै आक्रोशीत वनेका छन् यहाँका वासिन्दाहरु ।

यस क्षेत्रवाट निर्वाचित भएर गएकाहरु नेपाली राजनीतिमा चर्चित पात्रहरु वन्न पुगेपनि यस क्षेत्रकालागी उनीहरुको उक्त चर्चा र विजयले कुनैपनि उपलब्धी ल्याउन सकेको देखिदैन् । यस क्षेत्रमा निर्वाचित स्वर्गिय गजेन्द्र नारायण सिंह पटक–पटक मन्त्री भए, नेपाली राजनीतिमा उनको उपस्थिीति पनि सक्रिय नै देखिएको तर यस क्षेत्रको विकासका निमित्ति कहिले पनि उनको सक्रियता भने देखिएन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृह राज्य मन्त्री रामकुमार चौधरी पनि यसै क्षेत्र वाट निर्वाचि भएर संसद पुगे तर उनको कार्यकाल पनि यस क्षेत्रका लागि कुनै उपलब्धी ल्याउन सकेनन् । पछिल्लो पटक यसै क्षेत्रवाट जितेर गएका माओवादी नेता उमेश यादव सिंचाई मन्त्री बन्दा समेत यस क्षेत्रको समस्या समाधान गर्न सकिएन ।

नेपालमा प्रजातन्त्रका लागि आन्दोलन चलिरहेका वेला विपी कोईराला, गणेशमान सिंह जस्ताको अश्राय स्थत यही क्षेत्र थियो । त्यती वेला यस क्षेत्रका जनताहरुलाई निकै सहयोग पनि गरेका थिए उनीहरुलाई तर प्रजातन्त्र आए पश्चात उनका लागि पनि महत्व राखेनन यस क्षेत्रको समस्याले । नेपाली त नेपाली यस क्षेत्रले त भारतीय स्वतन्त्रता संग्रामका महानायकहरु जय प्रकाश नारायण, जेपी लोहिया सहितकाहरुलाई समेत आश्राय दिए तर तीनै आजाद भारतीयहरुले जवरजस्ती वनाएको वाँधका कारण यो क्षेत्र प्रभावित हुँदै गएको छ ।

बाढिले मारमा किसान, व्यवसायिक विकास पनि ठप्प

वर्षैनी वाढीका कारण सप्तरीको दक्षिणी भेगको आर्थिक विकास हुन सकेको छैन् । यस क्षेत्रका ८५ प्रतिशत जनताहरु कृषिमा आधारीत रहेका छन् तर यीनिहरुले लगाएका धान वालिहरु लगभग प्रत्येक वर्ष डुवानका कारण वर्वाद हुनेगरेको कृषकहरुको गुनासो रहेको छ ।

सप्तरीको रम्पुरा मल्हनीयाँ गाविस–६ का देवकृष्ण यादव भन्छन्, ‘यस क्षेत्रका कृषकहरु प्रत्येक वर्ष हजारौ विघामा धान वालि लगाउने गर्दछन तर हाल सम्म पनि कुनै खासै उपलब्धी उक्त खेतीवाट देखिएको छैन् ।’ जति सुकै वालि लगाएपनि वर्ष भरी खान पनि धौ धौ हुने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘कहिले सुख्खाको मार त कहिले डुबानको समस्या, यस क्षेत्रका कृषकहरु चौतर्फि पिडा मात्रै भोग्न बाध्य छन् ।’
यसका अतिरीक्त सुखा याममा हुने गहुँवाली यहाँका कृषकहरुको मुख्य आधार रहेको उनी वताउँछन् । गहुँको वेलामा नदिमा पानिका वहाव कम हुने गरेकोले गँहु उब्जाले यस क्षेत्रका कृषकहरुलाई जिवन निर्माण गर्न अलि सहयोग पु–याएको उनको भनाई छ ।

भारतीय नाका सँग जोडिएका हुनाले यस क्षेत्रमा व्यवसाय व्यापारका निकै सम्भावनाहरु देखिएका पनि उपयुक्त व्यवसायीक वातावरण, शान्ति सुरक्षाको अभाव र सवभन्दा महत्वपुर्ण यस नाकालाई सदरमुकाम राजविराज वा जिल्लाका अन्य भाग सँग जोडिने सडकको जर्जताका कारण यस क्षेत्रका वासिन्दाहरु व्यवसाय समेत वाट वञ्चित रहेको छ ।

खाँडो नदिको प्रभाव अघि राजविराज–कुनौली सडक खण्ड दुरुस्त रहेको वेला यस क्षेत्रमा निकै व्यापारीक चहल पहल हुने गरेको अहिले पनि स्थानियहरुलाई सम्झना छन् तर खाँडो नदिले सडक नै वगाई दिएपछि हाल उक्त क्षेत्र सप्तरी सदरमुकामवाट विच्छेद हुन पुगेको स्थानियहरु वताउँछन् । स्थानियहरुका अनुसार उक्त क्षेत्रमा विगत एक दशक देखि सवारी साधनहरु चल्न सकेका छैन् ।

सडकनै अवरुद्ध भएपछि उक्त क्षेत्रमा कृषि वजार र खेतीका अतिरीक्त आय आर्जनको अर्को कुनै पनि विकल्प भने रहेको देखिदैन् । नदिको वहाव नियन्त्रीत गरीएका कारण अव्यवस्थीत पानिले तिलाठी गाविस स्थित वेल्ही भन्सारमा रहेको कृषि वजारलाई समेत नराम्ररी प्रभावित पारेका छन् ।

कृषि वजारको दर्जा रहेको भएपनि कुनै वेला उक्त वजारमा नुन देखि सुन सम्म सवै उपभोग्य सामग्रीहरु पाईने गरेको भएपनि हाल उक्त वजार वर्षौदेखि उजार भएको छ ।

के त समाधानको उपाय ?

‘सबभन्दा पहिला त दशगज्जा क्षेत्रमा नदिको सहज बहाबका लागि सरकारले प्राथमिकतामा पहल थाल्नु पर्छ’, पछिल्लो लामो समयदेखि तिलाठीलाई नेतृत्व गर्दै आएका पूर्व अध्यक्ष मिश्र भन्छन्, ‘दक्षिण तर्फको सहज बहाब खोज्न नसके समस्या समाधान गर्न गा¥हो छ ।’

दक्षिण तर्फ सहज भईसकेपछि तिलाठीमा जग्गाको विवाद समाधान नहुन्जेल तत्काललाई पुरानै तटबन्धको मर्मत सम्भार गर्न सकिए तत्कालका लागि डुबानको समस्यावाट निजात पाउन सकिन्छन् । ‘दिर्घकालिन निकासका लागि ०२८को सर्भे बमोजिम पुरानै वाटो नदि फर्काउन सकिए किसानहरुलाई पनि पिडा हुने थिएन र नदिको बहाब पनि नियन्त्रीत हुने थियो’, मिश्रले भने ।