कोसी ‘कलिङ’

016-23122017060537आरके अदीप्त गिरी/बिहानीको घामको कलिलो लाली जब कोसी नदीमा खस्छ, नदी नै रङमय देखिन्छ । रविकिरणको स्पर्शसँगै यस आसपासको दैनिकी चलमलाउन सुरु गर्छ । काँधमा जाल र हुन्डी बोकेर जलारीहरू झिसमिसेमै कोसी किनार पुगिसकेका हुन्छन् । र, गुजाराका लागि जाल थाप्ने उनीहरूको दैनिकी त्यही सेरोफेरोमा घुमिरहन्छ ।

देशको पूर्वी जिल्ला सुनसरी । सुनसरीको पश्चिमी भागबाट बग्ने सप्तकोसी नदी नेपालको सबैभन्दा ठूलो नदी हो । विशाल जलराशि भएको यस नदीमा जल–पर्यटन पनि उत्तिकै फस्टाएको छ । सप्तरी, उदयपुर र सुनसरी यी तीन जिल्लाको बाटो भएर कोसी निरन्तर दक्षिण गइरहेको छ ।
कोसीको सेरोफेरो विविधतामय छ । यसै नदीको प्राकृतिक गढवरपर विविध जातिको बसोबास छ । यही नदी आसपासको कोसीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक एवं जैविक विविधताले धनी छ । जसरी ती विविध वन्यजन्तु र वन पैदावरका लागि कोसीटप्पु रमणीय कुञ्ज हो, त्यसरी नै कोसी आसपासका गाउँबस्तीका लागि कोसी नदी जीवनको स्रोत हो । अर्थात् जीवननदी । तर, कहिलेकाहीँ यही नदी अभिशाप मात्र होइन भयंकर काल बनी उर्लिन्छ, साउन–भदौको भेलसँगै ।

012-23122017060124-1000x0ठूलो समतल भूपरिवेशमा फैलिएको कोसी नदी जतिजति दक्षिण बग्छ, त्यति यसको आयतन बढ्दै जान्छ । बर्खामा यसको स्वरूप भयंकर बन्छ । गत बर्खामा यस नदीको प्राकृतिक बहाव अवरुद्ध हुँदा बस्तीमा पसेको बाढीले ठूलो विनाश निम्त्यायो । प्राकृतिक वितण्डाबाट प्रवाभित यहाँको जनजीवन पनि बिस्तारै पुरानै लयमा फर्किंदै छ । अहिले भने ध्यानमग्न सप्तऋषिझैँ सप्तकोसी शान्त देखिन्छ ।
कोसीटप्पुदेखि बराह क्षेत्रसम्मको यस नदीमा सिकार, जलक्रीडा र तीर्थाटनको महत्त्व अधिक छ । नौका शयर, माछा पक्रने तथा अन्य प्रकारका जलक्रीडा गर्ने सम्भावना बोकेको यस भेगको सबैभन्दा महत्त्वपूर्ण नदी यही हो । हिन्दुहरूको पवित्रताको प्रतीक पनि हो यो नदी । कोसी नदीकै अगाध स्नेह र श्रद्धा पालेर कैयौँ श्रद्धालु भक्तजन यस नदीको तटमा स्नान गर्दै प्रार्थनारत देखिन्छन् । यहाँको जल देशका विभिन्न भागमा रहेका शिवालयमा लगेर चढाउने कार्यका लागि पनि सप्तकोसी ज्यादै प्रख्यात छ ।

‘चराहरूको स्वर्ग’ को नामले प्रख्यात कोसीटप्पुमा बर्सेनि चराहरूको संख्या बढ्दो छ । देश र विदेशका विभिन्न भागबाट ‘स्वर्ग’ मा लीलाटन गर्न आउने चराहरू मख्ख हुँदै यहाँबाट फर्कन बिर्सन्छन् । र, त यहाँ चराको जनसंख्या निरन्तर वृद्धि भइहेको छ । नयाँनयाँ प्रजातिका चराहरू पनि यहाँ पहिलोपटक फेला पर्ने गरेका छन् ।

आरक्षभित्रको वनकुञ्ज यहाँका विविध वन्यजन्तु तथा चराचुरुङ्गीहरूको उपस्थितिले चलायमान र क्लान्तिमय बन्छ । ठूलाठूला नदीका भंगलाहरूले टापु नै टापु बनाएको यसको ल्यान्डस्केप साँच्चिकै मन लोभ्याउने खालको छ । सानोतिनो समुद्रमा उठेका टापुहरूको देश भएकैले होला यसलाई ‘कोसीटप्पु’ भनिएको !

नेपालमा पाइने ८ सय ८७ प्रजातिका चरामध्ये आधाभन्दा बढी अर्थात् ४ सय ९० प्रजातिका चराहरू कोसीटप्पुमै पाइन्छन् । विश्वमै दुर्लभ मानिएका ३५ प्रजातिका चराको सुरक्षित ‘स्वर्ग’ पनि यही छ । चराहरूबाट मोहित भएरै बर्सेनि हजारौँको संख्यामा देशी–विदेशी पर्यटकहरू यस आरक्षमा आइपुग्छन् । लाग्छ— कोसीटप्पु प्राणीजगत्को जीवित संग्रहालय नै हो ।

१ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोसीटप्पु आरक्ष सन् १९७६ मा स्थापना भएको हो । यो सन् १९८७ मा विश्व सम्पदाको रामसार अभिसन्धिमा सूचीकृत भएको पहिलो रामसार क्षेत्र पनि हो ।09-23122017060329

कोसीटप्पु अर्ना (जंगली भैँसी) पाइने देशको एक मात्र संरक्षित क्षेत्र पनि हो । चरा जातिको ‘सिमतित्रा’ पनि यस आरक्षमा मात्रै पाइन्छ । कोसीमा डल्फिन, हात्ती, दुर्लभ जातका पुतली, गोही, अजिंगरसमेत पाइन्छन् । अक्टोबरदेखि फेब्रुअरीसम्म यहाँ साइबेरिया, डेनमार्क, तिब्बत र दक्षिण भारतका विभिन्न स्थानबाट समेत चराहरू जाडो छल्न आइपुग्छन् । कान्तिपुर