कोसीको बहाब घट्दै,उच्च सुरक्षा सतर्कता

???????????????????????????????कोसी नदीको बहाव निरन्तर घट्दै गएको छ । मंगलबार दिउँसो सप्तकोसीमा यस वर्षकै उच्च बहाब मापन गरियो।

लगातारको झरीका कारण नदीहरुमा बढेको पानीको बहावसंगै कोसी नदीमा पनि पानी बढेको थियो । मंगलबार राति ११ बजे यो बर्षको अहिलेसम्मकै उच्च प्रति सेकेन्ड २ लाख ८५ हजार ३ सय ५० घनफिट पानीको बहाव रेकर्ड भएको थयिो ।

आज लगातार पानीको बहाव घटिरहेको छ । बुधबार साँझ ५ बजे कोशीको जलस्तर दुई लाख ३५ हजार ५ सय १० घनफिटमा झरेको  छ । कोशीब्यारेजको सुरक्षाको लागि रहेको प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भीमराज थेवेका अनुसार पानीको बहाव निरन्तर घटिरहेकाले अहिले खतराको अवस्था छैन ।

एता मुस्लिम अतिवादी संगठनहरुले कोशी व्यारेजमा आक्रमण गर्ने योजना बनाइरहेको खवर सार्वजनिक भएसँगै सुनसरी र सप्तरीको सीमानामा रहेकेा कोशी ब्यारेजको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय अधिकारीले नेपाली स्थानीय अधिकारीलाई पत्र लेख्दै आतंकवादी संगठनहरुले कोशी व्यारेजलाई पनि निशानामा राखेको पत्र पठाएपछि सुरक्षा अवस्था कडा पारिएको हो ।

‘अहिले कोशी व्यारेजमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ’ सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालले भने, ‘हरेक सबारीसाधनको चेकजाँच गर्नुका साथै शंकास्पद कुराहरुमा गम्भीर निगरानी राखिएको छ ।’

उनका अनुसार कोशी व्यारेजको सप्तरीतर्फ तथा सुनसरीतर्फ पनि सुरक्षा अवस्था कडा पारिएको छ। भारतीय सुरक्षाकर्मीको यस्तो पत्र आएपछि सुरक्षा अवस्थालाई व्यारेज आसपास क्षेत्रमा मजबुत बनाइएको ढकालको भनाइ छ । ‘पत्र आएपछि सुरक्षा समितिको बैठक बसेर छलफल गरी सुरक्षा रणनीति तयार गरेका छौं’ एसपी ढकालले भने, ‘अहिले सप्तरी र सुनसरीका सुरक्षाकर्मी चनाखो भएर काम गरिरहेका छौं ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले पनि सुरक्षा संयमता अपनाइएको बताए । उनले कोशी व्यारेज क्षेत्रको पाँच सय मिटर दायाँ बायाँ माछा मार्न र काठ संकलन गर्न पनि रोक लगाइएको बताए । ‘हुन त यो पहिलाकै नियम हो, तर सुरक्षा अवस्थालाई थप मजबुत बनाउन पुरानै नियमलाई लागू गराएका छौं’ उनले भने ।

सुरक्षा श्रोतका अनुसार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाका डिएम बैजनाथ यादवले वीरपुर सिँचाइ विभाग मार्फ़त नेपालको जिल्ला प्रशासनलाई चिठी लेखेको पाइएको छ । सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र -पठाउँदै मुस्लिम अतिवादी समूह लस्क ए तोइबा, जे एस ए महम्मद र पाकिस्तानी मूलका  इंडियन भारतीय मुजाहिद्दिन ले महत्वपूर्ण प्रतिष्ठानलाई लक्षित गरी कोशी ब्यारेजलाई पनि निशानामा राखेको हुँदा सुरक्षा गर्न अनुरोध गरेको छ ।