कोशीको कहर र राज्य विहीन गोबरगाढा

???????????????????????????????केहिदिन यता सप्तकोसी नदीको बहाब निरन्तर बढदै छ। मंगलबार दिउँसो सप्तकोसीमा यस वर्षकै उच्च बहाब मापन गरियो, पानीको बहाब २ लाख ८५ हजार २३४ क्यूसेक मापन गरिएको छ । चेतावनी स्वरुप प्रशासनले ब्यारेजमा रातो झण्डा र दुई वटा रातो बत्ती बालेका छ। कोसी छेउछाउका बस्तीमा बसोबास गर्नेहरु त्रसित छन्। कोसीको ‘कोप भाजन’ देखेका जो कोही त्रस्त छन्। यस्तो बेला कोसी नदीको बीच भागमै रहेका बस्तीका बासिन्दा कस्तो भय, त्रास र पीडा झेलिरहेका होलान्?

चारैतिर कोसीले घेरिएको सप्तरी गोबरगाढाका झण्डै तीन सय बढी परिवार यस्तै भय, त्रास र पीडा झेल्दै आएका छन्। कतिखेर कोसीको ‘प्रलय’ बस्ती छिर्ने हो भन्ने त्रासले आफूहरुको निद्रा र चैन हराएको ‘टापु’ गाउँका स्थानीयहरु बताउँछन्। ‘त्यस माथि अत्यावश्यक औषधि र खाद्यान समेतको अभाव’, त्रसित गाउँले भन्छन्, ‘यहाँ बस्नुको कुनै विकल्पनै छैन, कलिला बालबालिका, महिला तथा बृद्धबृद्धासहित जोखिम मोलेर बस्नु पर्ने बाध्यता हामी छौं।’

गत बर्ष घोषणा गरिएको हनुमाननगर–योगिनीमाई नगरपालिकामा गोबरगाढा पनि गाभिएको छ। यद्यपि जिल्लाकै ‘अतिविकट’ ठाउँ मध्ये पहिलो स्थानमा नै पर्छ गोबरगाढा। ‘चारै तिर कोसीले घेरिएका छौं’, स्थानीय हरिनारायण यादव भन्छन्, ‘गाउँबाट बाहिर जतासुकै जान पनि कम्तीमा आधा दर्जन भंगालो र खोलाहरु तर्नुपर्ने हुन्छ।’
भंगालो र खोलाहरु तर्नलाई आवश्यक पर्ने डुंगासमेत  छैनन् गोबरगाढाबासीसँग। २ बर्षअघि गाविसको बजेटवाट तीन वटा डुंगा किन्नलाई डेढ लाख रुपैयाँ निकासा गरिएको थियो। तर गाविस सचिवदेखि जिल्ला विकास समितिका प्राविधिकले कमिशनमै आधा पैसा खाई दिएको गाउँलेहरुको गुनासो छ। ‘त्यतिवेला ३÷४ जना बस्ने खालको ३ वटा साना डुंगा किनिएको थियो’, स्थानीय रामचलितर सदाले भने, ‘ती डुंगापनि गाउँकै नेता टाइप व्यक्तिहरुको नियन्त्रणमा रहेको र उनीहरु आफ्नो व्यक्तिगत प्रयोजनका निम्ति मात्रै प्रयोग गर्ने गर्छन।’

पछिल्लो शनिबारदेखि स्थानीय करिब ३ सय परिवार गोबरगाढामा अलपत्र परेका छन्। आइतबार सप्तरीका प्रहरी प्रमुख एसपी भिम ढकालले गोबरगाढाका डेढ सय परिवार सम्पर्क विीहन रहेको बताएपछि सोमबार जोखिम मोलेर गोबरगाढा पुगेका सप्तरीका सञ्चारकर्मीले त्रासपूर्ण अवस्थामा समस्यै समस्याका बीच बाँच्दै गरेका झण्डै तीन सय बढी परिवारसँग भेट्न सफल भए।

‘स्वास्थ्य चौकी बन्द, सिटामोल पनि छैन’

पछिल्लो चार दिनदेखि ज्वरो लागेर विरामी रहेकी ५० बर्षीया स्थानीय शान्तिदेवी सदा उपचारकालागि नजिकै रहेको हनुमाननगर बजार आउँदै गरेकी थिइन्। तीन वटा भंगालो तरेर पतिका साथ हनुमाननगर तिर आउँदै गरेकी उनले जिउभरी लगाएको कपडा भिजेको थियो। चिसोले उनी काप्दै थिइन्। ‘गाउँमा स्वास्थ्यकर्मी भए यसरी ज्यान जोखिममा पारेर जानुपर्ने थिएन’, उनले भनिन्, ‘गाउँमा त सिटामोलसम्म छैन, घरेलु उपचारले ठिक हुने अवस्था नरहेपछि जोखिम मोलेर पनि डाक्टरसम्म जानु पर्ने बाध्यता छ।’

???????????????????????????????बाढीको त्रासकाबीच दिन काट्दै आएका यहाँका अधिकांश स्थानीय बिरामी रहेका छन्। ‘भाइरल ज्वरो’ सुघाखोकी, झाडा पखाला’ लगायतको रोगका कारण प्रायः जसो घरमा एउटा/दुई जना बिरामी रहेको स्थानीय स्वास्थ्य स्वयम् सेविका तेतरीदेवी यादवले जानकारी गराइन्।

‘साउन, भदौको समयमा हाम्रो तिर त्यसै सर्दी, बुखारको प्रकोप हुन्छ’, उनले भनिन्, ‘त्यसमाथि बस्तीको चारै तिर पानी जमेपछि झन् झाडा पखाला, पेट दुख्नेलगायतका विरामी बढ्दै गएका छन्।’ आफ्नै घरमा दुई जना नाति, नातिनी र एक जना बुहारी विरामी रहेको बताउँदै उनले भनिन्, ‘तीन दिनदेखि छटपटाई राखेको अवस्था हो, तर उपचारको कुनै प्रबन्ध छैन।’

तेतरीकै गाईगोठमा बर्षौदेखि सञ्चालनमा रहेको गोबरगाढाको स्वास्थ्य चौकी पछिल्लो दुई महिनादेखि ठप्प छ। स्वास्थ्यकर्मी आएको छैनन्, औषधि समेत नरहेकोले झन् समस्या भएको यादवको भनाइ छ। ‘स्वास्थ्यकर्मी त्यसो पनि आकल झुकल गाउँ आउँने गर्छन्, स्वास्थ्य चौकी चलाउने मै हुँ’, उनले भनिन्, ‘औषधि भएको भए बाँडथे, त्यो पनि छैन।’

गोबरगाढास्थित स्वास्थ्य चौकीमा दुईवटा दराज बाहेक केही छैनन्। ती दुवै दराज खोलेर दोखाउँदै तेतरीले भनिन्, ‘हेर्नुसन, दुवै खाली छ, सिटामोलसमेत नभएको अवस्था हो।’ सिटामोल लगायत अत्यावश्यक औषधि र एक जना स्वास्थ्यकर्मीको असाध्यै खाँचो रहेको गाउँलेहरुको भनाइ छ।

‘खाद्यान छैन, नुन पनि पाउन गाह्रो’

बाढीले चारैतिरबाट घेरिएका कारण नजिकको हाटबजारसमेत आवत जावत गर्न कठिनाई भएपछि गोबरगाढामा हाल खाद्यान संकटसमेत भएको छ। यहाँका बासिन्दाहरुको मुख्य व्यवसाय भनेको भंीिस पालन हो। भैंसीको दुध बेच्ने तथा त्यही पैसाबाट चामललगायतका खाद्यान ल्याएर आफूहरु खाने गरेको स्थानीय मिश्रीलाल यादवको भनाइ छ।

‘बाढीका कारण हाटबजारसम्म जान सक्ने अवस्था नै छैनन्’, उनले भने, ‘सात दिन भयो भात खाएको छैन।’ घरमा भएको गहुँको पिठोको रोटी खाएर जसोतसो बस्नु पर्ने बाध्यता आएको उनको भनाइ छ। आफू जसोतसो बसेपनि बालबच्चाहरु भने निकै समस्यामा परेको उनी बताउँछन्। ‘बच्चाहरु बुझ्दैनन्, भातका लागि कराउँछन, तर भात कहाँबाट ल्याइदिउँ?’, यादवले भने।

यहाँका स्थानीयले खेती गरेपनि असारदेखि असोज सम्मको वर्षा याममा प्रायः डुवानमै पर्ने गरेका कारण यहाँ धान उत्पादन भने खासै नहुने गरेको कृषक हरि यादव बताउँछन्। यद्यपी हिउँदका बेला गहुँ भन्ने राम्रै उत्पादन हुने गरेको उनको भनाइ छ।

हाल गोबरगाढामा नुनसम्मको अभाव सृजना भएको छ। यहाँ दुई वटा पसलहरु छन्। एउटा सहकारी पसल र एउटा निजी तर दुवैमा भन्ने नुनको अभाव । कोसी पीडित सहकारी पसलका सञ्चालक इन्द्रदेव यादवले भने, ‘कोसीको बाढीका बीच आफ्नो ज्यान जोगाउन गाह्रो छ, उपभोगक्ताका लागि समान कसरी ल्याउनु ?’ त्यहाँ सञ्चालित दुवै पसलमा हाल कुनै पनि समानहरु नरहेको पसल सञ्चालकहरुले जनाएका छन्।

‘नेताहरु पनि आउँदैनन्’

सदरमुकाम राजविराजवाट मात्र १२ किलोमिटर पूर्वमा अवस्थित गोबरगाढामा हाल सम्म कुनै सांसद वा दलका ठूला नेतासमेत नआएको गाउँलेहरुको गुनासो छ। लोकतन्त्र आएयता दुई वटा संविधान सभाको चुनाव भएपनि हालसम्म कुनै पनि सांसद वा दलका ठूला नेताहरु गोबरगाढासम्म नआएको स्थानीय खटरु यादवको भनाइ छ। ‘चुनावका बेला भोट पनि माग्न आएन’, यादवले भने, ‘भोटसम्म माग्न नआउनेबाट अरु के आश गर्न सकिन्छ र?’
गोबरगाढा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ। यस क्षेत्रवाट राष्ट्रिय तथा मधेशको राजनीतिमा प्रभाव राख्ने व्यक्तिहरु प्रतिनिधित्व गर्ने गर्दछन् । हाल यस क्षेत्रवाट नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल सांसद छन्। मण्डल अघि जयप्रकाशप्रसाद गुप्ता यस क्षेत्रवाट कयौं पटक निर्वाचित भई मन्त्रीसम्म भए।???????????????????????????????

उप–सभामुख गंगाप्रसाद यादव पनि यसै क्षेत्रबाट रहेका छन्। यसका अतिरिक्त सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष नवरकिशोर साह र मधेश राष्ट्र समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह पनि यसै क्षेत्रवाट प्रतिनिधित्व गर्दछन्। यद्यपी हालसम्म यी ठूला नेताहरु मध्ये कोही पनि आफूहरुको पीडा बुझ्न गोबरगाढा सम्म नआएको गाउँलहरुको गुनासो छ।

‘छैनन् राज्यको उपस्थिति’

गोबरगाढा भारतीय सीमानासँग जोडिएको भएपनि यहाँ सुरक्षा निकायसमेतको उपस्थिति नदेखिएको स्थानीयको भनाइ छ। सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलावखत चहल पहल गर्ने गरेपनि नेपाली सुरक्षाकर्मी भने बर्षमा एकआध पटक मात्रै हेर्ने गरिएको स्थानीय लक्ष्मण यादवको भनाइ छ ।

‘पछिल्लो पटक संविधान सभा चुनावका बेला हाकिम आएका थिए’, स्थानीय लक्ष्मण यादवले भने, ‘त्यस पछि देखेको छैन, हिउँदका वेला यसो घुमफिर तथा पिकनिक गर्न बर्षमा एकआध पटक जिल्लाबाट केही मैन्छे आउन गर्छन, तर हाम्रो पीडा बुझ्न कोही आउँदैनन्।’

शनिबारदेखि स्थानीयहरु सम्पर्क विहीन रहेको भनि प्रहरीले नै जानकारी गराएपनि उनीहरुसँग सम्पर्क बनाउनेतर्फ स्थानीय प्रशासन अझै गम्भीर नदेखिएको नागरिक समाजका अगुवा बद्रीनारायण झाको भनाइ छ । द्वन्द्वकालमै विस्थापित भएको प्रहरी चौकी हालसम्मपनि पुर्नस्थापना गर्न सकिएको छैन।

13735771_10207044377255679_4853330831348348246_oगोबरगाढा पुग्यो राज्य

चारैतिरवाट कोसीले घेरिदा संकटमा रहेको सप्तरीको गोबरगाढा गाउँमा बुधवार राज्यको उपस्थिति भएको छ ।

गोबरगाढावासी कोसीको भंगालोमा थुनिएको र त्यहाँका बासिन्दाको ज्यान संकटमा परेको समाचार कान्तिपुर सहितका संचारमाध्यममा प्रकासित भएपछि बुधवार सप्तरी प्रसासनको टोली गोबरगाढा पुगेको हो ।

बुुधवार साँझ आफूहरुको टोली कोसीको चारवटा भंगालो पार गर्दे गोबरगाढा पुगेको सप्तरीका एसपी भिमप्रसाद ढकालले जानकारी दिए । टोलीमा ढकाल सहित सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतम,सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल,नेपाली सेनाको श्रीकृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य,राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सुमन बैध,सशस्त्र प्रहरी नायव उपरिक्षक निरप्रसाद अधिकारी सहितको टोली गोबरगाढा पुगेको एसपी ढकालले जानकारी दिए । उनले पाँच घण्टा लगाएर चारवटा भंगालो पार गरि बस्ती पुगेको बताए ।

कोसीको बीचमा रहेका गोबरगाढाबासीलाई भुजा र चिउरा बितरण गरिएको उनले बताए । सरकारी टोलीले स्थानियसित उनीहरुको समस्याका वारेमा समेत छलफल गरेको उनले बताए । सरकारी अधिकारीहरुको टोली बुधवारै राती फर्किने कार्यक्रम रहेको एसपी ढकालले बताए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले बुधवार तीनजनाको स्वास्थ्य टोली औषधी सहित गोबरगाढा पठाएको छ । बरिष्ठ जनस्वास्थ्य प्रशासक बिजयकुमार झाले गोबरगाढा स्वास्थ्य चौकीका इनचार्ज नरेन्द्र सिंह सहित तीनजना स्वास्थ्यकर्मीको टोली पठाइएको जागरणलाइ बताए ।

चारै तिर कोसी नदीले घेरिएका कारण बर्षा याममा गोबरगाढासम्म पुग्न डुंगा लिएर निकै जोखिम पूर्ण यात्रा गर्नुपर्ने हुन्छ। सदरमुकाम राजविराजवाट झण्डै १२ किलोमिटर दक्षिण पूर्वमा रहेको  यस गाविससम्म पुग्नलाई कम्तीमा चारवटा नदीहरु तरेर जानु पर्ने हुन्छ। कोसी तथा अन्य सहायक नदीहरुले चारैतिर घेरिएका कारण गोवरगाढामा हालसम्म राज्यले आफ्नो स्थायी उपस्थितिसमेत जनाउन सकेको थिएन।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खाँडो, जिता, महुली, भलुवाहीसहितका नदीहरुमा आएको बाढीका कारण तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, कोइलाडी, कोबसाइन, विसहरीया, दिघवा, तोपा, कजौली, बथनाहा, महदेवा, पकरी, भगवतपुर, देउरीभरुवा, पोर्ताहा, भारदह, मधवापुर, त्रिकौल, मैनाकडेरी, फत्तेपुर, कमलपुर, बैरबा सहितका गाविसहरु निकै हदसम्म प्रभावित भएको छ।

सप्तरीका झण्डै डेढ दर्जन बढी गाउँका करिब ४ हजार परिवार बाढीवाट प्रभावित भएका छन्। विपद्को क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस सोसाइटी सप्तरीका अनुसार खाँडोलगायत विभिन्न नदीहरुमा आएको बाढीका कारण सप्तरीका ४ हजार परिवारको झण्डै १२ हजार घर डुवानमा परेका छन्। जिल्लाभरी करिब १ हजार ५ सय घर बाढीका कारण क्षतिग्रस्त भएको नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले बताए। बाढीले हजारौ विघा खेती योग्य जग्गामा लगाईको धान बाली नष्ट पारेका छन्।