कोलम्बियामा युद्धविराम घोषणा

कोलम्बियामा युद्धविराम घोषणाकोलम्बियाका फार्क विद्रोहीहरुले आजबाट निर्णायक युद्धविराम घोषणा गर्दैछन् । आईतबार टिमोचेन्को भनिने फार्कका नेताले त्यहाँका राष्ट्रपतिले सेनाका लागि पनि तय गरेको समय पारेर युद्धविराम घोषणा गर्न लागेका हुन् । क्युबाको राजधानी हवानामा युद्ध रोक्ने सहमति सहित शान्ति सम्झौता भएपछि निर्णायक युद्धविराम हुन लागेको हो ।

घोषणासँगै पाँच दशकदेखिको युद्ध अन्त्य गर्दै उनीहरुलाई कानुनसम्मत् गैरफौजी राजनीतिक अभियान सञ्चालन गर्न बाटो खोल्ने बताइएको छ । शान्ति सम्झौतालाई अक्टोबर दुई तारिखमा हुने मतदानबाट अनुमोदन गर्ने कोलम्बियाको तयारी छ । केही दिन पहिले शान्ति सम्झौताको घोषणा भएपछि कोलम्बियामा पाँच दशक लामो गृहयुद्ध अन्त्य गर्ने प्रक्रियाले गति लिएको हो ।

फार्क विद्रोही समूहले सन् उन्नाइ सय पैसठ्ठी  यताको आफ्नो १० औँ सम्मेलन दक्षिणी कोलम्बियाको विकट क्षेत्रमा १३ देखि १९ सेप्टेम्बरसम्म आयोजना गर्ने बताएको छ । कोलम्बियाको गृहयुद्धले २ लाख ६० हजार जनाको ज्यान लिएको छ र झण्डै ७० लाख मानिसहरुलाई विस्थापित बनाएको छ ।