किर्ते नागरिकता बनाउने एक गिरोह पक्राउ

kirteप्रहरीले किर्ते नेपाली नागरिकता बनाउने एक गिरोहलाई पक्राउ गरेको छ ।दुई कर्मचारीसहित ६ जनालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका वडा नम्वर ७ स्थित राजरंङ्गशालाबाट उनीहरुलाई पक्राउ गरी विहिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्वर १० का सचिव ४९ वर्षिय मो.वकिल मियाँ र जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगी पदमा कार्यरत ३० वर्षीय अजयकुमार यादव रहेका छन् । यस्तै, भारतको उत्तरदेनापुर जिल्लाको अन्तकोठा ग्राम पञ्चायत निवासी ३१ वर्षीय मो.लतिफुर रहमान, भारतकै किसनगंज जिल्लाको तिवरीया ग्राम पञ्चायत निवासी २६ वर्षीय मो. नवेदन, सुनसरीको हरिपुर निवासी ५५ वर्षीय कलिम मियाँ र झापाको विर्तामोड निवासी २० वर्षीय मो.सईरो रहेको छ ।

वडा सचिव वकिल मियाँको साथबाट नगद एक लाखसहित दुई जनाको किर्ते नागरिकता प्रमाण पत्र फेला परेको छ ।उनको साथबाट मो.वकिल अन्सारीको नाम र फोटोसहित जारी मिति २०६९-०३-२६ उल्लेख गरी जिप्रका सप्तरीको नागरिकता कार्डमा तयार भएको नागरिकता प्रमाणपत्र र मो.हदिस नामको फोटो सहितको २०३८-११-२४ मितिमा जारी भएको उल्लेख गरिएको नागरिकता भेटिएको छ ।

भारतीय नागरिक लतिफुर रहमानको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीको १६८९५७ नम्बरको जारी मिति २०६७-०३-२९ उल्लेख भएको नेपाली नागरिकता प्रमाण पत्रका कार्ड एक थान बरामद भएको छ । नागरिकतामा फोटो निजको भएतापनि नाम मो.लतिरा लेखिएको पाईएको छ । उनको साथबाट नगद दश हजार ४४५ रुपैयाँ समेत बरामद भएको प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।

कलिम मियाँको साथबाट मो.सईरो नाम र फोटोसहित नेपाली नागरिकताको कार्ड एक थान, बरामद भएको छ । भारतीय नागरिक नवेदको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नेपाली नागरिकता बरामद भएको छ । प्रहरी उपरीक्षक सिंहले उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको बताए ।