कास्की बाडि पहिरो, ३७ जनाको मृत्यु

pairo-3अविरल वर्षापछि कास्की र म्याग्दीमा गएको पहिरामा परी बिहीबार  साझसम्म  ३७ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् । पहिरामै परी २० जनाभन्दा बढी नै घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लुम्लेमा २३, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुई जनाको मृत्यु भएको छ । यसैगरी उता म्याग्दीको मुदी र मुना गाविसमा सात जनाको ज्यान गएको छ । भदौरे तामागीमा ३ र लुम्लेमा १० गरी १३ जना बेपत्ता भएका छन् ।

बुधबार दिउँसोदेखि परेको पानीका कारण कमजोर बनेका जमिन चर्केेर खस्दा पहिरो गएको हो । भूकम्पले कमजोर बनाएको जमिनमा थोरै मात्र पानी पर्दा पनि पहिरो खसेको प्राविधिकहरु बताउँछन् । लुम्ले गाविसको माझघर गाउँ माथिबाट झरेको सानो पहिरोले खानेपानी ट्यांकीमा क्षति पु¥याएपछि एक विद्यालयसहित १० घर पूर्ण रुपमा भत्केका छन् ।

रातिको समयमा पहिरो आएका कारण घरमा सुतेकाहरु भाग्न नसकेर ज्यान गुमाउनु परेको स्थानीय ले बताए । पहिरोमा परी एकै घरका सातजना मृत्यु भएको प्रहरी निरीक्षक देवी पौडेलले बताए । लुम्ले– ६ का बसन्ते विकको घरमा पत्नी, बुहारी नाति नातिनीसहित सातजना परेका छन् ।

सोलुखुम्बुबाट कामको लागि ८ वर्षअघि आएका छिरिङ राईका दुई छोराहरु बाँच्न सफल भए पनि परिवारका पाँच जनालाई पहिरोले खाएको छ । पहिरामो परी घाइते भएका उनी बिहानसम्म बोल्दै गरेको र छिमेकीले नुहाइ दिएर सफा कपडा लगाइदिएपछि अचेत भएपछि मृत्यु भएको स्थानीय बसन्त देवकोटाले बताए ।

पहिरोबाट बच्न सफल कृष्णमाया क्षेत्रीले राति १२ बजेबाट गड्याङगुडुङ गरेर आफू सुत्न नसकेको बताउँदै सवा एक बजेतिर त आफ्नै घरको पछाडिको गाह्रो भत्केको बताइन् । उनले भनिन–‘ हतारमा ढोका खोलेर भागे, त्यसपछि त पुरै घर ढल्यो, भाग्दै छिमेकीलाई गुहार्न पुगें । बाहिर निस्केर हेर्दा त छिमेकीका घर भएको ठाउँमा पहिरो बगेको उनले बताइन् ।’

प्रहरीका अनुसार लुम्लेमा मृत्यु हुनेमा अर्जुन गुरुङ, रत्ना पौडेल, वसन्ती विक, चिजा विक, सम्झना विक, सलिना विक, सुनिल विक, मञ्जु सुनार, उनकी तीन महिनाकी छोरी सिमा, सुनकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई र उनकी पत्नी छन् ।

यसैगरी खिमौरी विक, पद्मी देवकोटा, तीलकुमारी देवकोटा, तुलसी देवकोटा र गुरुदत्त देवकोटाको शव भेटिएको छ । लुम्लेमा अझै १० जना बेपत्ता छन् । लुम्लेमा प्रहरीले मुचुल्का उठाउने बित्तिकै चिकित्सकको टोलीले सोही ठाउँमा पोष्टमार्टम गरी शब आफन्तलाई बुझाइएको छ ।

अविरल वर्षाकै कारण कास्कीको भदौरे तामागी गाविस ५ डुडेको फाँटमा ५ जनाले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता र १४ जना अस्पतालमा स्वास्थ्य उपचारमा छन् । फेवातालको मुहान भनेर परिचित भदौरे तामागी ५ डुडाफाँटमा राति करिब १ बजेतिर आएको पहिराले घर पुरेको हो । घाइतेहरुको पोखराको पश्चिम क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

पहिरोले एक कुखुुराको खोरसहित १० घर पुरिएका छन् भने अन्य घरहरु जोखिममा परेका छन् ।साँझ ९ बजेदेखि आएको पानीले विस्तार विस्तार गति लिँदा डुडेफाँट नजिकैबाट बग्ने हर्पन खोलाको सुस्केरा पनि बढ्दै गएको थियो ।

खोलाको सुस्केरा बढ्दै जान थाले पछि फाँटमा रहेकाहरु खोला गाउँतिर पस्योकी भन्दै घरभित्र बाहिर गर्दै थिए स्थानीय दामुदर पराजुलीले बताए । खोला ठुलै भएर आयो जस्तो लागेपछि कोही आफ्नै घरमा बसे भने कोही सुरक्षित ठाउँ खोज्न डाँडातिर लागे उनले भने । सुरक्षी ठाउँ खोज्दै डाँडातिर गएकाहरुलाई माथिबाट पहिरोले घर सगै बगायो उनले भने ।

करिब २ किलोमिटरमाथि भदौरे तामागी ५ सिमपानीबाट आएको जल्कीनी खेलाले घरसहित उनीहरुलाई बगाएको स्थानीय उपेन्द्र पराजुलीले बताए । उनले भने –‘हामी पनि घर मै थियो खोलामा बाढी आएर खोला कराइरहेको थियो ।

त्यसै बेला बचाऊ बचाऊ भन्ने आवाज सुनेर बाहिर निस्कँदा त माथिबाट पहिरो आएको रहेछ ।’ उनका अनुसार तलका घरहरु सुरक्षित छैनन् भन्दै माथिडाँडाँतिर लागेकाहरुलाई माथिबाटै आएको पहिरोले पुरेको थियो । तीमध्ये धेरै बगेको र केहीको ज्यान गएको थियो ।भदौरेतामागी–५ डँुडेफाँटको पहिरोमा परी टिकाराम विक, ६५, रामकुमारी विक, ५५, गौरी पराजुली, ३१, करण पराजुली, ७ र नन्दकली पराजुली, ६५, को ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केदार रजौरेले जानकारी दिए ।

त्यसैगरी ढिकुरपोखरी ९ ठुलाचौरमा खहेर खोलामा आएको बाढीका कारण २ जनाको ज्यान गएको छ । १७ वर्षकी अस्मिता दाहाल र १९ वर्षका प्रेमराज दाहाल रहेका छन् । वर्षाका कारण खहरे खोलामा आएको बाढीले चापाकोट गाविसको नौ विसेमा रहेको ठूला भण्डारीको घर क्षति पु¥याएको छ भने अन्य घर पनि भत्केको प्रहरीले जानकारी दिएको छ ।

वर्षाका कारण पोखरा– बाग्लुङ राजमार्गको दर्जनौं स्थानमा पहिरो गएपछि रातिबाट नै यातायात सेवा अवरुद्ध बनेको छ । बिहानैदेखि डोजर लगाएर बाटो खुलाउने प्रयास गरिए पनि सफल हुन नसकेकोे प्रहरीले जनाएको छ । रुख सहितको लेदो माटो सडकमा थुप्रिएका कारण समस्या आएको हो ।