काठमाण्डौ र कञ्चनपुर जिल्लाको लागि ने.रु. ७.६५५ करोड भारतीय सहयोग

DSC04908 (2)भारतीय राजदूतावास, काठमाडौं, जिल्ला विकास समिति, कञ्चनपुर र श्री सिद्धार्थ उच्च माध्यामिक विद्यालयबीच र शहरी बिकास तथा भवन निर्माण विभाग र श्री अरुविन्दो योगा मन्दिरबीच दुई विद्यालय भवन निर्माणका लागि दुई अलग–अलग सम्झौतापत्रमा आज हस्ताक्षर सम्पन्न भयो ।
सन् १९६२ मा प्राथमिक विद्यालयको रुपमा स्थापित तथा २००५ मा उच्च माविमा स्तरोन्नती गरिएको श्री सिद्धार्थ उच्च माध्यामिक विद्यालय कञ्चनपुर जिल्लाको महेन्द्रनगर नगरपालिका वार्ड नं. १० मा अवस्थित छ । विद्यालयमा हाल उपलव्ध पूर्वाधार जिर्ण हुनुको साथै सवै विद्यार्थीहरु अटाउन सकिएकोे छैन ।  भारत सरकारको ३.२३३ करोड अनुदान सहयोगमा निर्माण गरिने नयाँ भवनबाट विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरु उपलब्ध भै करिव ५०% छात्रा सहित १२०० जना भन्दा धेरै विद्यार्थीलाई सहज शैक्षिक वातावरण सृजना हुनुको साथै जिल्लाको शिक्षा विकासमा समेत टेवा पुग्ने  छ ।
यस परियोजना अतिरिक्त, भारतको ने.रु. ७.३३ करोड अनुदानमा जिल्लामा अन्य पाँच परियोजना निर्माण गरिनुको साथै ने.रु. ७.४१ करोड लागतमा अन्य तीन परियोजनाहरुको निर्माणकार्य जारी छ । भारतले ५ ओटा एम्वुलेन्ससमेत यस जिल्लालाई प्रदान गरिसकेको छ ।
भारतले काठमाण्डौ जिल्लाको श्री अरुविन्दो योगा मन्दिरमा विद्यालय भवन निर्माण गर्न ने.रु. ४.४४२ करोड समेत सहयोग प्रदान गर्ने छ । १९८३ मा स्थापित श्री अरुविन्दो योगा मन्दिर टुहुरा र अनाथहरुको हेरचाह गर्ने नाफारहित संस्था हो । विद्यालय भवन निर्माणले आश्रमका विद्यार्थीलाई सहज शैक्षिक वातावरण सृजन गर्न मद्धत गर्ने छ ।
यसको अतिरिक्त भारतीय सहयोगमा काठमाण्डौ जिल्लामा अन्य चार परियोजनाहरु सम्पन्न भैसकेका छन् । काठमाण्डौमा ने.रु. ५४.२४ करोड लागतमा १५ ओटा साना विकास परियोजनाहरु सुचारु हुनुको साथै विभिन्न संस्थाहरुलाई ३३ ओटा एम्वुलेन्स, २८ ओटा स्कूल बस र ३ ओटा विशेष मेडिकल भ्यान समेत उपहारस्वरुप प्रदान गरिएको छ । यस बाहेक ने.रु. १६० करोडको अनुमानित लागतमा भारतले काठमाण्डौको ट्रमा सेन्टर समेत निर्माण गरेको छ ।
कञ्चनपुर जिल्लाको परियोजना जिल्ला विकास समिति, कञ्चनपुरद्वारा नेपाल सरकारको विद्यमान नीति नियम अनुसार कार्यान्वयन गरिनेछ भने काठमाण्डौ जिल्लाको परियोजना शहरी बिकास तथा भवन निर्माण विभाग, काठमाण्डौले कार्यान्वयन गर्ने छ । यी निकायहरु परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि समेत जिम्मेवार रहनेछन् ।