काग्रेस मधेश जाऊ !

nc-flagनयाँ संविधान जारी भएपछि मुलुकमा भएको सत्ता परिवर्तनमा वामपन्थीहरुको एकछत्र बर्चस्व भएको छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसम्म एमाले र एमाओवादीको पकड भएको छ । संसदमा सबै भन्दा ठूलो दल काँग्रेस भने प्रमुख प्रतिपक्षको कित्तामा पुगेको छ ।
प्रधानमन्त्रीमा उम्मेदवारी दिएर काँग्रेसले पराज्यको सामना गर्नु प¥यो । सभामुख उपसभामुखमा त्यही कारणले हुन सक्छ उसले उम्मेदवारी दिएन र ती दुवै पदमा सहमतिका साथ चुनाव सम्पन्न हुन पुग्यो । तर राष्ट्रपति र उप–राष्ट्रपतिमा उम्मेदवारी दिएको काँग्रेसले परिणाम आफ्नो पक्षमा पार्न सकेन । सत्तासीन दलहरुको गठबन्धनका बीच काँग्रेस एक्लैको बलबुतामा राष्ट्रप्रमुखको पद हासिल हुनु सम्भव थिएन, परिणामले पनि त्यही देखायो । खासगरी एमाले प्रति बढी रुष्ट देखिएका आन्दोलनरत मधेशवादी दलहरुले एमाले सुप्रियो खड्ग प्रसाद शर्मा (केपी शर्मांं) ओलीलाई प्रधानमन्त्री बन्न नदिने मनायका साथ उनको विपक्षमा काँग्रेस उम्मेदवार सुशिल कोइरालालाई सघाएका थिए ।
तैपनि परिणाम चाही उनीहरुले सोचे जस्तो आएन । त्यही अनुभवलाई मनन गरेर हुन सक्छ । आन्दोलनरत मधेवादी दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागिता नजनाएका हुन् । मुलुकको इतिहासमै यस पटक वामपन्थी शक्तिहरुको पहिलो चोटी यति ठूलो पकड जमेको छ । प्रजातान्त्रिक आन्दोलनको अगुवा मानिएको लामो ऐतिहासिक पृष्ठभुमि भएको काँग्रेसले सत्ताको पकडबाट यस पटक पूर्ण रुपले अलगिनु परेको अवस्थालाई मध्यनजर गर्दै उक्त पार्टीका केन्द्रिय नेताहरु बीच नै ठूलो खैलाबैला मच्चिन थालेको छ ।
हुन त लोकतन्त्रमा बलियो प्रतिपक्ष हुनु भनेको पनि सुन्दर पक्ष हो । अहिले बामपन्थी बर्चस्वको सरकार छ, तर मुलुक चाही संकटले जेलिएको स्थिति विद्यमान छ । खासगरी मधेशवादी दलहरुले सुरु गरेको आन्दोलन उनीहरुका माग सम्बोेधन नहुँदा लम्बिने क्रममा छ । आन्दोलनले सम्पूर्ण मुलुक नै प्रभावित भए पनि सरकारले त्यसको निकासको उपाय पत्ता लगाउन नसक्दा जनताले दुःख पाईरहेका छन् ।

जिम्मेवार प्रतिपक्ष मात्र होइन, लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेर आफ्नो स्थान बनाएको काँग्रेसले मधेशवादी दलहरुलाई विश्वासमा लिन सक्नु आजको आवश्यकता बनेको छ । काँग्रेसको मधेशमा नै ठूलो जनाधार रहेको कुरालाई समेत दृष्टिगत गरी उसको ध्यान त्यति बेला मधेशको समस्या प्रति केन्द्रित हुन आवश्यक छ । मधेशका जनताहरुको भावनाप्रति एकात्मकता दर्शाउन र जनमत सुरक्षित राख्न पनि अब काँग्रेसले मधेशमा जान र मधेशवादी दलसित दरिलो सम्बन्ध कायम गरी मधेशी जनभावना प्रति नजिक रहनु पर्दछ ।