करोडौंको लगानी, वालुवामा पानी सप्तरीमा समानुपातिकतर्फ प्रतिनिधि र प्रदेश सभा गरी १ लाखभन्दा वढि मत वदर

electioncommissionनिर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी तुल्याएको दावी गरे पनि सप्तरीमा समानुपातिकतर्फको परिणाम हेर्दा दावी हावादारी सावित भएको छ । प्रदेश र प्रतिनिधि सभाको समानुपातिक तर्फको परिणाम सार्वजनिक गरिए पछि देखाएको अत्याधिक वदर मतले निर्वाचन आयोगको दावीलाई गलत प्रमाणीत गरिदिएको हो ।

सप्तरीमा समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश सभा गरी १ लाख भन्दा वढि मत वदर भएको चकित पार्ने तथ्यांक निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । जिल्लामा समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि २ लाख ३६ हजार ८ सय मत खसेकोमा ५० हजार २२३ मत वदर भएको छ । प्रतिनिधि सभाका लागि खसेको कुल मत मध्ये १ लाख ८६ हजार ५७६ मत मात्र सदर भयो । यस्तै प्रदेश सभाको समानुपातिक तर्फ २ लाख ३६ हजार ८ सय मत खसेकोमा ६४ हजार ८६० मत वदर भएको छ । प्रदेशसभा तर्फ खसेको कुल मत मध्ये १ लाख ७१ हजार ९४० मत मात्र सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ सवैभन्दा वढि वदर मत क्षेत्र नं. ४ मा देखिएको छ । जहाँ ६० हजार ७८० मत खसेकोमा १६ हजार २९६ मत वदर भएको छ । यस्तै प्रदेशसभा तर्फ सवैभन्दा वढि प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को (१) र (२) मा देखिएको छ । जहाँ कुल ६३ हजार ८८४ मत खसेकोमा १७ हजार ३५० मत वदर भएको छ ।

मतगणनामा खटिएका कर्मचारीहरुका अनुसार मतगणनाका क्रममा धेरै यस्ता मत फेला परे जहाँ एकै मतपत्रमा दुई वा दुईभन्दा वढि छाप लगाईएको थियो । ‘एउटै मत पत्रमा कतै छाता र मसाल त कतै रुख र छातामा छाप लगाईएको पनि पाईयो’–एक कर्मचारीले भने । यति मात्रै होईन कतिपय मतपत्रमा स्वस्तिक छापको सट्टा ल्याप्चे लगाईको र कतिमा अछापे पनि फेला परेको गणनामा खटिएका कर्मचारीहरुले वताएका छन् ।

सवैतिर मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्नु र त्यसको प्रभावकारी अनुगमन समेत नहुँदा यस्तो अवस्था आएको मतगणनामा खटिएका कर्मचारी तथा स्थानीय वुद्धिजिवीहरु वताउँछन् । सरकारले वदर मत संख्या घटाउन निर्वाचन आयोग मार्फत मतदाता शिक्षाका लागि करोडौं रुपैयाँ खर्च गरेपनि जिल्लामा देखिएको अत्याधिक वदर मतको संख्याले लगानी वालुवामा पानी खन्याए सरह भएको नागरीक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवको भनाई छ ।

सप्तरीमा समानुपातिकतर्फ राजपा पहिलो

सप्तरीमा समानुपातिकतर्फ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पहिलो दल वनेको छ । कुल १ लाख ८६ हजार ५७६ सदर मत मध्ये राजपाले ४५ हजार ९८४ मत पाएको छ । यस्तै कांग्रेसले ४२ हजार ७२८ मत प्राप्त गरी दोश्रो, संघिय समाजवादी फोरम नेपालले ३२ हजार ८५६ मत प्राप्त गरी तेश्रो तथा नेकपा एमालेले २९ हजार ४२० मत प्राप्त गरी चौथो स्थान प्राप्त गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश सभामा खाताखोल्न नसकेको माओवादी केन्द्रले १८ हजार ७२६ मत प्राप्त गरी पाँचौ र २ हजार ४५२ मत प्राप्त गरी नयाँ शक्ति पार्टी छैठौ स्थानमा छ ।

प्रदेश सभामा राजपाले ४२ हजार ६ सय, कांग्रेसले ३८ हजार ७७५, संघिय समाजवादी फोरम नेपालले ३१ हजार २८८, नेकपा एमालेले २८ हजार ९०, माओवादी केन्द्रले १६ हजार ५८४ र नयाँ शक्तिले २ हजार ७७१ मत प्राप्त गरेका छन् ।

सप्तरीमा ३ लाख ४६ हजार २ सय मतदाता मध्ये २ लाख ३६ हजार ८ सय मत खसेको थियो । जसमध्ये प्रतिनिधि सभाको समानुपातिक तर्फ ५० हजार २ सय २३ र प्रदेशसभा तर्फ ६४ हजार ८६० मत वदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।