एसपी अमात्यले अख्तियार गरेको बाटो अवलम्बन गर्न बोहरालाई संचारकर्मीहरुको आग्रह

पत्रकार सम्मेलनमा बोल्दै एसपी बोहरा ।
पत्रकार सम्मेलनमा बोल्दै एसपी बोहरा ।

“सप्तरी जिल्लामा तत्कालिन प्रहरी प्रमुख दिनेश आमात्य आउनु भन्दा अगाडी मातहतका प्रहरी चौकी, इलाका प्रहरी कार्यालयका इन्चार्जहरुले आफ्ना हाकिमलाई महिनाको ५ हजार देखि २५ हजार सम्म बुझाउँथे, ठूलो तस्करी चल्दा पातो र बोदेबरसाइन प्रहरीले मात्रै ३ लाख बुझाउँथे, दिनदहाडै अपहरण हुन्थे, मोवाईल आतंक कायम थियो । तर एसपी आमात्यको १४ महिने कार्यकालमा यी सबै बन्द भए । जनताले राहत महसुस गर्न थाल्यो । तपाईले पनि अमात्यले अख्तियार गरेको बाटो अबलम्बन गर्नुस् ।’ सप्तरीका संचारकर्मीहरुको सुझाव थियो – नवआगन्तुक सप्तरीका प्रहरी प्रमुख दानसिंह बोहरालाई ।

राष्ट्रिय दैनिक तथा राष्ट्रिय टेलिभिजनका स्थानीय प्रतिनिधिको न्यून उपस्थिति रहेको पत्रकार सम्मेलनमा गैरपत्रकारहरुको संख्या बढि देखिन्थ्यो । प्र्रहरीको क्रियाकलाप प्रति नाकारात्मक र भ्रामक सामाचार सम्प्रेषण गर्ने केही पत्रकारहरुले तत्कालिन प्रहरी प्रमुखको विरोध गर्दै वर्तमान एसपी बोहराको मन जित्ने प्रयास गरिरहँदा अधिकाश पत्रकारहरुले कानेखुशी गरिरहेको देखिन्थ्यो । केही पत्रकारहरुले प्रहरी र पत्रकार बीच नङ्ग र मासुको सम्बन्ध हुनुपर्ने पटक पटक जिकिर गरिरहेका थिए भने बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले बेल्ही चपेनाको प्रमिला हत्या काण्ड र त्रिकौलको निर्माला साह हत्या काण्डको रहस्य पत्ता लगाएर सार्वजनिक गर्न बोहरालाई चुनौती नै दिए ।

प्रतिउत्तरमा नवआगन्तुक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक दानसिंह बोहराले जिल्लाको शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

प्रहरी कार्यालयमा सोमवार आयोजित पत्रकार भेंटघाट कार्यक्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । तराईका जिल्लाहरुमध्ये सप्तरी सुरक्षाको दृष्टिकोणले सम्वेदनशील रहेको बताउँदै उनले भने– सप्तरी जिल्लाको शान्ति सुरक्षा, चोरी, तस्करी लगायतका अपराधिक गतिविधिहरु न्यूनिकरण गर्न हामी प्रतिवद्ध छौं, यस कार्यमा आम जिल्लावासीको सहयोग आवश्यक छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु ।

डेढ दशक अघि सप्तरीमा प्रहरी नायव उपरीक्षक भएर काम गरिसकेका प्रहरी उपरीक्षक बोहराले विधिको शासन कायम गराउन सप्तरी प्रहरी सशक्त रुपमा अगाडि बढ्ने बताए । गत–विगतमा भएका कमीकमजोरीहरुबाट पाठ सिक्दै आगामी दिनहरुमा उक्त कमजोरीहरुलाई सच्याएर आफूहरु अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने– जनताको सुरक्षा दिनु प्रहरीको कर्तव्य हो, राज्यबाट पाएको जिम्मेवारी वहन गर्न हामीहरु कुनै कसर बाँकीराख्दैनौं ।

प्रहरीद्वारा हुने कार्यहरु सम्पादनका क्रममा गल्ती कमजोरी हुनु सामान्य भएको भन्दै प्रहरी उपरीक्षक बोहराले जहाँ समाज हुन्छ त्यहाँ अपराध हुनु स्वाभाविकै भए पनि त्यस्ता अपराध न्यूनिकरण गर्न आफूहरु रतिभर पछाडि नहट्ने बताए । जनताको सुरक्षा तथा सेवा प्रदान गर्नमा सप्तरी प्रहरी कुनै सम्झौता नगर्ने प्रहरी उपरीक्षक बोहराले प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले समन्वय, सहकार्य, सूचना र सुरक्षामा प्रहरीको सक्रियता रहनुपर्ने सुझाव दिए । कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तथा तराई संचार समुहका केन्द्रिय अध्यक्ष बैद्यनाथ यादव, पार्षद् एवम् मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देव, पत्रकार राजु विश्वकर्मालगायतकाले सुझाव दिएका थिए ।