एमाले अभियानको विरोधमा मोर्चाको प्रदर्शन

mashalएमालेको मेची–महाकाली अभियानको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेका छन ।

एमालेले शनिबारदेखि सुरु गरेको अभियानअन्तर्गत भोलि राजरंगशालामा गर्ने तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बताए ।औद्योगिक क्षेत्रमा भेला गर्न लागेको खबर पाएपछि मोर्चाका कार्यकर्ताले बिहान नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताले आइबार बिहानै देखि प्रदर्शनमा उत्रिएको छ ।
‘एमालेले मधेसमा मुठभेड निम्त्याउनका लागि मेची–महाकाली अभियान सञ्चालन गरेको छ, यो अभियानलाई हामी कदापि सफल हुन दिँदैनौँ,’ यादवले भने ।

morchaतराई मधेस लोकतान्त्रिक पार्टीका सह महामन्त्री जय प्रकाश ठाकुरले मधेसी जनताले एमालेलाई मधेस पस्न नदिने बताए । महामन्त्री ठाकुरले मधेसको अधिकार प्राप्तिमा सबैभन्दा ठूलो बाधक एमाले नै भएको दाबी गरे । ‘एमालेको चरित्र मधेसी जनताले बुझिसकेका छन्, त्यसैले मधेसी जनताले एमालेलाई मधेसमा पस्न दिँदैनन्,’ नेता ठाकुरले भने ।

आजकै जस्तै तनावपूर्ण प्रदर्शनमा कुनै पनि लचकता नआए मुख्य विपक्षी एमाले र संयुुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सोमबार सप्तरीमा सिधा आमनेसामने भीडन्त हुने खतरा बढेको छ । एमालेले पूर्वनिर्धारित कार्यक्रम भन्दै अभियानअन्तर्गत राजविराज औद्योगिक क्षेत्रमा गर्नलागेको प्रदर्शन कुनै पनि हालतमा भाँड्ने र बिथोल्ने नियतका साथ मोर्चाले आइतबारदेखि नै प्रदर्शन र विरोधका कडा कार्यक्रम अघि बढाइसकेको छ । एमाले र मोर्चाको तर्फबाट गर या मरको शैलीमा हठ प्रदर्शन गरिरहेका कारण भीडन्तको मुखैमा राजविराज मनोवैज्ञानिक त्रासमा डुुबेको छ । शनिबार झापाबाट सुरु भएको नेकपा एमालेको मेची–महाकाली जागरण अभियान सप्तरीको राजविराज पुग्नै लाग्दा सप्तरीको राजविराजमा कडा प्रतिरोध गर्ने मधेशी मोर्चाको तयारी तीव्र छ ।

आइतबार बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका युवाहरू प्रदर्शनमा उत्रिएका कारण निकै तनावपूर्ण वातावरण बनिरहेको मात्रै छैन, बढिरहेको छ । सदरमुकाम राजविराजको सुरक्षा अवस्था कडा पारिएको प्रशासनले जनाए पनि सडक चोक र बजार क्षेत्र पूरै मधेशी मोर्चाका कार्यकर्ताको नियन्त्रणमा छ । सडकमा प्रहरी गस्ती बढाइएको छ । तर पनि स्थानीय मोर्चाको चक्काजाम र प्रदर्शन रोकिने संकेत छैन ।
एमालेका नेता सुमन प्याकुरेलको घरमा ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ भने एमाले जिल्ला अध्यक्ष गोविन्द न्योपानेको सुरक्षामा दर्जनभन्दा बढी पुलिस खटिएका छन् । गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख संजय थापाले औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रम हुनलागेकामा चिन्ता व्यक्त गरेका छन् । औद्योगिक क्षेत्रका प्रमुख थापा भन्छन्, “मलाई बलीको बोका नबनाई देऊ, भर्खर वामे सर्न लागेको औद्यौगिक क्षेत्रलाई कुरूक्षेत्र नबनाऊ । राजनीतिक अखडा नबनाइदेऊ । मेरो कुरा सुन्नै चाहँदैन सप्तरी प्रशासन ।’

मधेसी मोर्चाले आज लाठीजुलुस निकालेका छन । सरकारले संविधान संशोधन नगरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएको मोर्चाले आज लाठीजुलुस निकाल्ने निर्णय गरेको थियो । बसेको मधेसी मोर्चाको बैठकले १५ दिने भण्डाफोर कार्यक्रमअन्तर्गत २३ फागुनमा सप्तरी बन्दको आहाबन गरेका छन।जिल्लाको भारदह,कंचनपुर, रुपनी र राजबिराजमा लाठीजुलुस सहित एमालेको कार्यक्रम जहाँ भए पनि बिथोल्ने तयारीमा मोर्चा आबद्ध दलका नेता तथा कार्यकर्ता अग्रसर भएका छन् । मोर्चाले एमालेको कार्यक्रमस्थललाई नै निशाना बनाएर प्रदर्शन र विरोध तथा बन्द आह्वान गरेको छ । सोमबार एमालेले सप्तरीमा गर्नलागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।police

त्यसैगरी पूर्व—पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकालिने भएको छ । सोमबार राजविराजको सभा सकेर एमाले नेताहरुको टोली सप्तरीको कञ्चनपुरमा बास बस्ने कार्यक्रम पनि मोर्चाले बिथोल्ने तयारी तीव्र बनाएको छ । मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ गाउँबाट कार्यकर्ताहरु शहरी ईलाकामा उतारिरहेको छ । एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भए पनि त्यहा पनि भाँड्ने मोर्चाले जनाएको छ । औद्योगिक क्षेत्रमा मोर्चाका कार्यकर्ताले त्यहाँ पुगेर मधेश आन्दोलनका सहिदहरुको पोष्टर टाँसेर कडा लाठी जुलुस प्रदर्शन गरिसकेका छन । आइतबार औद्योगिक क्षेत्र आसपास मोर्चाका कार्यकर्ताहरुले लाठी जुलुससहित प्रदर्शन गरिरहेका छन् ।