एकै परिवारका ६ जनै दृष्टिविहिन, जिवन धान्न धौं धौं

सप्तरीको गम्हीरया प्रवाहा गाविस–४ का शम्भु मण्डलको परिवार ।
सप्तरीको गम्हीरया प्रवाहा गाविस–४ का शम्भु मण्डलको परिवार ।

सप्तरीको गम्हरीया प्रवाहा गाविस(४ पट्टी टोलका ५० बर्षिय शम्भु मण्डल बच्चै देखि दृष्टिविहिन छन् । पारिवारीक गरिबी र विपन्नताका कारण उनको उपचार समेत सम्भव भएन् । दृष्टिविहिनताका विच जसोतसो जिवनको अन्तरालमा आईपुगेको शम्भु बताउँछन् ।

दुई दाजु भाई र एक बहिनी समेत रहेकी शम्भुको परिवारमा हाल १७ जना सदस्यहरु रहेका छन् । अझै सगोलमै बस्दै आएका मण्डल परिवारका ६ जना पुर्ण रुपमै दृष्टिविहिन रहेका छन् । काम गरेर आय आर्जन गर्न सक्ने ६ जना बयस्कहरु नै दृष्टिविहिन भएपछि परिवार धान्न समेत धौ धौ भईरहेको शम्भुको भनाई छ ।

‘काम गर्ने सबै दृष्टिविहिन भए, घरको जोहो गर्न पनि धौं धौं छ’, शम्भुले भने, ‘दुई वटा टिनको छानो भएपनि वरिपरी पर्खाल बिनाको घर छ, घर भित्र पराल ओछ्याएर जसोतसो रात विताउने गर्छु ।’ झुपडी जस्तो सानो घरमा जाडो र वर्षा छल्न निकै समस्या हुने गरेको शम्भु वताउँछन् ।

शम्ुभका भाई ४५ वर्षिय शिव नारायण मण्डल, शिवनारायणकी श्रीमती ४० वर्षिया गिता देवी मण्डल, ८ वर्षिय छोरा भुपेन्द्र मण्डल, शम्भुकी बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र उनका श्रीमान्सहित मण्डल परिवारका ६ जना दृष्टिविहिन रहेका छन् । त्यस मध्ये शिवनारायणका छोरा भुपेन्द्रलाई अहिले केही दिनदेखी साँझपख देख्न छोडेको छ भने बहीनी जयकला नेत्रहीन सँगै शरिरीक अपाङ्गता समेत छिन् ।

‘कम्तीमा छोराको जिवन आफुहरु जस्तो हुँदैन सोच्थे, तर भगवानले उसाई पनि छाडेनन’, भुपेन्द्रका वुवा शिवनारायणले भने, ‘आफुहरु त जसोतसो जिवनको अन्तराल सम्म आईपुगे, यो अवोधको अवस्था कस्तो होला ।’ पारिवारीक आर्थिक अवस्था अत्यन्तै दयनिय रहेका कारण छोरालाई उपचार गराउन समेत नसकेकोमा मण्डल परिवारलाई निकै पछुतो छन् ।

उनीहरुमध्ये दाजु शम्भु, भाई शिव नारायण र बहिनी जयकलाले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधाहरु पाएपनि पछिल्लो दुई वर्षदेखि ती सेवा र सुविधाहरु बञ्चित भएका छन् ।

शम्भुको दुई छोरा र दुई छोरी, शिव नारायणको दुई छोरा र एक छोरी तथा जयकलाको दुई छोरा र एक छोरीको लालन पालनमा निकै समस्या भइरहेको मण्डल परिवारको गुनासो छ । परिवारमा काम गर्न सक्ने एक मात्र व्यक्ति शम्भुकी पत्नी सकुमारीदेवी मण्डल हुन् । उनी पनि अपाङ्ग छिन् तर दृष्टिविहिन छैनन् । १० बर्षकै उमेरमा आगलागिमा परि सुकुमारी अपाङ्ग भएकी हुन् । उनको दुवै स्तन छैन ।

‘सानो तिनो मिहनेत मजदुरीका कामहरु गर्ने गर्छु’, सकुमारीले भनिन्, ‘एकजना महिलाले काम गरेर ल्याएको पैसावाट परिवार चलाउन कहाँ सम्भव छन् र त्यसमा पनि शारिरीक असक्तताका कारण वढि मिहनेत गर्न सक्ने अवस्था छैन ।’ परिवार धान्न निकै धौधौ भईरहेको उनको भनाई छ ।

‘काम गर्न सक्ने अवस्था छैन्, राज्यले कुनै सुविधा दिदैनन्, यो जिवन पहाड जस्तै लाग्छ’, शिवनारायणकी पत्नी गिताले भनिन्, ‘अरुको घरवाट मागेर ल्याएको तथा छर छिमेकले गर्ने सहयोगवाट जसोतसो निर्वाह गरिरहेको छु ।’ राज्यले थोरै सुविधा उपलब्ध गराई दिन जिवन धन्न अलि सहज हुने उनीहरुको भनाई छ ।

सरकारले अहिले पूर्ण अपाङ्गता भएकालाई रातो कार्ड, समान्य अपाङ्गलाई हरियो कार्ड लगायतका व्यवस्था गरेपछि उनीहरुले रातो कार्डका लागि बालबालिका कार्यालयदेखि लिएर सगरमाथा अपाङ्ग संघ लगायतका विभिन्न निकायमा महिनौ दिनसम्म धाउँदा पनि कुनै सुनुवाई भइरहेको छैन् ।

गम्हरीया प्रवाहाका गाबिस सचिव हरेराम यादव यसअघि गाबिसबाट पाउने सेवा र सुबिधाहरु उनीहरुलाई दिदै आएपनि पछिल्लो वर्ष राज्यले रातो कार्ड रहेकाहरुलाई मात्रै सेवा सुबिधा दिने निर्णाय गरेपछि उनीहरुको सेवा सुविधा रोकिएको वताउँछन् । उनले भने, ‘पुर्ण अपाङ्गता भएकालाई महिला तथा बालबालिका कार्यालयले रातो कार्ड दिने गर्दछन्, उनीहरुसँग रातो कार्ड नरहेकोले उनीहरुलाई सेवा सुविधा नदिईएको हो ।’

यता महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ आफुहरुलाई केन्द्रले जारी गरेको निर्देशन अनुसार दृष्टिविहिनहरुलाई रातो कार्ड दिने व्यवस्था नरहेको बताउँछिन् । ‘केहि गर्न नसक्नेलाई मात्रै हामिले रातो कार्ड दिने हो, तर दृष्टि विहिन भनेको त्यो श्रेणिमा पर्दैन, दृष्टि विहिनको हकमा निलो कार्ड दिने प्राबधान रहेकोले उनीहरुलाई रातो कार्ड दिन नसकिएको हो’, उनले भनिन्, ‘निलो कार्डवालाहरुका लागि पनि सुविधा हुन्छ तर गाविसको स्रोत साधनमा त्यो निर्भर गर्ने गर्छन ।’

सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल अपाङ्ग प्रति सरकारको नीति र परिभाषा नै विभेदकारी भएकोले शम्भु जस्ता अपाङ्गहरु सेवा सुविधा वाट बञ्चीत हुने अवस्था रहेको वताउँछन् । ‘काठमाण्डौ वा ठुला सहरका कुलिन परिवारमा वस्ने दुई-चार जना दृष्टिविहिन नदेखेर पनि केहि काम गरिरहेका छन् भने त्यसको आधारमा अरुलाई परिभाषित गर्नु उपयुक्त होईनन्’, उनले भने, ‘सरकारको निर्देशिका भन्छन् केहि गर्ने नसक्नै मात्र पुर्ण अपाङ्ग हुन तर दृष्टि विहिन भएर हिडडुल वाहेक अन्य काम त गर्न सक्ने अवस्था हुँदैन, तसर्थ यस्तालाई पुर्ण अपाङ्गकै श्रेणिमा राख्नु उपयुक्त हुन्छ ।’