उपराष्ट्रपतिमा यादव र पुन उम्‍मेदवारी

11उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता र भोलि मतदानको कार्यक्रम छ । उपराष्ट्रपतिमा चारजनाको  उम्‍मेदवारी परे पनि दुईजनाले फिर्ता लिएका छन्।

नेपाली  कांग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दर्ता गरेका छन् ।एमाओवादीसहित सत्तारुढ गठबन्धनको तर्फबाट एमाओवादीका नन्दकिशोर पुन पासाङले उम्मेदवारी दर्ता गर्दैछन् । यसैगरी स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका दयाराम कँडेललेले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराए पनि दुवैले फिर्ता लिएका छन्।

उपराष्ट्रपतिको उम्मेदवारी तय गर्न बालुवाटारमा बसेको उच्चस्तरीय बैठकमा केही विवाद भएको थियो। साना दलहरुले मधेसी तथा दलित समुदायबाट उपराष्‍ट्रपति बनाउनुपर्ने माग राखेका थिए।

पुनको प्रस्तावकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् भने समर्थकमा राप्रपा नेपालका दिलानाथ गिरीलगायत छन्। उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री, प्रचण्डलगायतका नेताहरु संसद्‍ भवन पुगेका थिए। शनिबार बिहान ११ बजेदेखि मतदान सुरु हुने भएको छ।

यादवको प्रस्तावकमा काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहेका छन् । सिराहा जिल्लावासी यादव काँग्रेसका पुराना नेता हुन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले हिमाल, पहाड तराईका जनताको बीचमा एकता र भातृत्वको भावनालाई आत्मसात् गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले मुलुकमा देखिएको विद्यमान समस्यालाई समाधान गर्न विशेष पहल गर्ने र सबैलाई मिलाएर लैजाने।

सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १:३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २:३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २:३० बजे मतगणना, ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।