इम्जा हिमतालको पानी खोल्न सुरु

Nimja photoसोलुखुम्बुस्थित इम्जा हिमतालको पानी निकास गर्न लागिएको भन्दै सरकारले दुधकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपील गरेको छ । जल तथा मौसम विज्ञान विभागले विज्ञप्तिमार्फत फुट्ने जोखिम बढेपछि हिमतालको पानीलाई निकास दिन लागिएको जनाएको छ ।

इम्जाबाट एक सातासम्म पानीको निकास गरिने भन्दै विभागले दुधकोसी नदीको तटीय क्षेत्र आसपास र सोलुखुम्बुको छुकुङदेखि जुभिङसम्मका बासिन्दालाई सतर्क रहन भनेको हो । विभागले शनिवारदेखि १५ गतेसम्म पानीको नियमित निकास गरिने पनि जनाएको छ ।

दुधकोसी नदीमा पानीको बहाव बढे तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै बिभागले हटलाइन नम्बर एक एक पाँच पाँचमा सम्पर्क गर्न अथवा जिल्ला तथा ईलाका प्रशासन कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ । करिब ३० करोड लागतमा ३.४ मिटर पानी घटाउने जिम्मा नेपाली सेनाले लिएको थियो । शनिबारदेखि परीक्षणको रुपमा पानी खोलिने समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट न्यूनीकरण आयोजनाका लैङ्गिग तथा सामाजिक समावेशी विशेषज्ञ हुस्न बानु शेखले बताइन् ।

पहिलो चरणमा सातदिनसम्म लगातार पानी खोलिनेछ । यदि सातदिन भित्रमा पानीको सतह ३.४ मिटर नघटेमा पुनः अर्को चरणमा खोल्न सकिनेछ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार नै विज्ञप्ति निकालेर कुनैपनि बेला पानीको बहाव बढ्न सक्ने भएकोले यदि अस्वाभाविक रुपमा पानीको वहाब बढेमा नदी किनार आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । खासगरि तल्लो तटीय क्षेत्रहरु छुकुङदेखि जुभिङसम्मका बासिन्दाले सतर्कता अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । ५० किलोमिटर दुरी आसपासका कार्यरत कार्यदलहरुलाई सक्रिय रही सूचना आदानप्रदान गर्न समेत अनुरोध गरिएको छ ।