इजिप्टमा २ सय ३५ जनाको सामुहिक हत्या, तीन दिन राष्ट्रिय शोकको घोषणा, हमलाको बदला लिइने राष्ट्रपति अब्दुलको घोषणा

Egypt mosque attackसाइनाइस्थित मस्जिदमा कम्तीमा २ सय ३५ जनाको मृत्यु जाने गरी गरिएको हमलामा संलग्न भएको ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ ।

सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ । राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भनेको उक्त कारवाहीप्रति कडा जवाफ दिने बताएका छन । बन्दुकधारीहरुले रावडा मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि आएका मानिसहरुमाथि बम आक्रमण गराएका थिए र भाग्न खोज्नेहरुमाथि गोली प्रहार गरेका थिए । मस्जिद स्थानीय अल सवारका आदिवासीले प्रयोग गर्ने गरेका थिए ।

यो समुदायले इस्लामिक लडाकुहरुविरुद्ध रहेका सुरक्षा फौजलाई सहयोग पुर्याउने गरेको मानिन्थ्यो । त्यो मस्जिद सुफि समुदायका मानिसहरु माझ पनि लोकप्रिय थियो जसलाई लडाकुहरुले विधर्मी मान्छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । आक्रमणमा पर्नेहरुमा पुरुष, महिला तथा बालबालिका पनि थिए ।

सरकारी समाचार एजेन्सीका अनुसार बन्दूकधारीहरुले उत्तरी गाउँ अल रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएका थिए । घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि हमलाकारीले गोली चलाएका थिए । स्थानीय सूत्रहरुले आक्रमणकारीहरुले उक्त मस्जिदमा आउने सुफी समुदायलाई लक्षित गरि आक्रमण गरेको हुनसक्ने बताएका छन् । राजधानी कायरोस्थित सरकारले इजिप्टमा तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । साइनाइमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । त्यहाँ सेनाले इस्लामिक स्टेट विद्रोही समूहप्रति वफादार इस्लामिक समूहसंग लामो समय देखी लड्दै आएको छ । बिबिसी