इङलिस लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियरइङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको छ । जीतसँगै शिर्षस्थानमा रहेको सिटीले आठ अंकको अग्रता कायम गरेको छ ।

म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिसस र केविन डि ब्राउनले एक–एक गोल गरे । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई चार एकले हराएको छ । युनाइटेडको जितमा एन्थोनी मार्शल, क्रिस स्मलिङ, पउल पोग्बा र रामेलु लुकाकुले एक–एक गोल गरे । न्युक्यासलका लागि ड्वाइट गेलले एक मात्रै गोल फर्काए ।

अर्को खेलमा चेल्सीले वेष्ट ब्रोमलाई चार शुन्य गोल अन्तरले पराजित गरेको छ । चेल्सीका लागि इडन हजार्डले दुई तथा अल्भारो मोराटा र मार्कस एलोन्सोले एक–एक गोल गरे । रातिकै खेलमा आर्सनलले टोटनह्यामलाई दुई शुन्यले हराएको छ । आर्सनलका लागि स्कोद्रान मुस्ताफी र एलेक्स सान्चेजले एक–एक गोल गरे । त्यसैगरि लिभरपुलले साउथह्याम्पटनलाई तीन शुन्यले हराएको छ । लिभरपुलको जितमा मोहम्मद सालहले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे ।

राति नै भएका अरु खेलमा बर्नलीले स्वान्सी सिटीलाई दुई शुन्यले हरायो भने क्रिष्टल प्यालेस र एभर्टनले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । गएरातिका खेलपछि शीर्ष स्थानको म्यानचेष्टर सिटीको १२ खेलबाट ३४ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १२ खेलबाट २६ अंक भएको छ । तेस्रो स्थानमा उक्लिएको चेल्सीको १२ खेलबाट २५ अंक भएको छ ।