इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु

इंग्लिस प्रिमियरइंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ । सिजनको पहिलो खेलमा गएको सिजनको विजेता लिसेस्टर सिटी हल सिटीसँग दुई एक गोल अन्तरले पराजित भएको छ । हल सिटीका लागि पहिलो हाफको अतिरिक्त समयमा डायोमान्डीले गोल गर्दै अग्रता दिलाए ।

लिसेस्टरका लागि म्हारेजले ४७ औँ मिनेटमा गोल फर्काएका थिए । ५७ औँ मिनेटमा स्नोडग्रासले गोल गर्दै हल सिटीलाई जित दिलाए । अर्को खेलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराति भएको यो सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई दुई एकले हराएर लिगमा विजयी सुरुवात गरेको हो । सन्डरल्याण्डका प्याट्रिक भान आनहोल्टले रहिम स्ट्रलिङलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सर्जियो अग्युरोले सिटीलाई चौथो मिनेटमा नै अग्रता दिलाएका थिए ।

७१ औं मिनेटमा जर्मेन डिफोले सन्डरल्याण्डका लागि बराबरी गोल फर्काए । तर ८७ औं मिनेटमा सन्डरल्याण्डका पेड्डी मेकनाएरले आत्मघाती गोल गरेपछि सिटी विजयी भयो । रातिनै भएको खेलमा यो सिजन प्रिमियर लिगमा फर्किएको बर्नली स्वान्सीसँग पराजित भएको छ । स्वान्सीको जितमा लिरोय फेरले ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै अर्को खेलमा वेष्ट ब्रोमले क्रिष्टल प्यालेसलाई हराएर विजयी सुरुवात गरेको छ । ७४ औं मिनेटमा सालोमोन रोनडनले गोल गर्दै वेष्ट ब्रोमलाई जित दिलाए । अरु खेलमा टोटनह्याम एभर्टनसँग, स्टोक सिटी मिडल्सबर्गसँग तथा साउथह्यामप्टन वाटफोर्डसँग समान एक एकको बराबरीमा रोकिए ।