आन्दोलन फेरी उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने : राजेन्द्र महतो

 सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो
सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो

काठमाण्डौ / सदंभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले आन्दोलन फेरी उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने दाबी गर्नुभयो।

काठमाण्डौ स्थित पार्टी सम्पर्क कार्यालयमा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले ‘आन्दोलनको माग कुनै नया नभएको, समावेशी समानुपातिक प्रतिनिधित्व देखी लिएर जनसंख्याको आधारमा प्रतिनिधित्व र नागरिक्ता सम्बन्धी प्रावधान अन्तरिम सम्बिधानमा भएकै ब्यवस्था हामीले खोजेका हौं। साथै प्रदेशको सिमाँकन सम्बन्धमा प्रथम सम्बिधान साभाद्वारा गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी,

आदिवासी जनजाति लगायत उत्पीडित समुदायहरूसँग भएको सम्झौताहरू र नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८(१) र १३८(१क) अनुरुप तराई-मधेश-थरुहटमा दुई स्वायत्त प्रदेश खोजेका हौं’ भन्नुभयो। उनले सङ्घीय गणतन्त्र नेपालका सबै अङ्ग, तह (सङ्घ, प्रदेश र स्थानीय निकाय) र निकायहरूमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू गरिनु पर्ने र राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरूमा समानुपातिक समावेशी प्रतिनिधित्व प्रत्याभूति हुनुपर्ने, प्रतिनिधि सभामा प्रदेशहरूको जनसङ्ख्याका आधारमा प्रत्येक

प्रदेशहरूलाई सीट सङ्ख्याको विभाजन गरी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्ने, यसका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु पर्ने, राष्ट्रिय सभामा प्रत्येक प्रदेशहरूबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसङ्ख्याको आधारमा प्रदेश सभाको सदस्यहरू मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनु पर्ने,

वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानुनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने र संवैधानिक पदहरूमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप नै हुनुपर्ने जस्ता आन्दोलनको प्रमुख माग रहेको पनि प्रस्ट पार्नुभयो। महतोले ‘आन्दोलनको दौरान मधेश-थरुहट लगायतका क्षेत्रमा मारिएकाहरूलाई शहीद घोषणा तथा मृतक परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको उपचार, अंगभंग भई अपाङ्गता हुन पुगेकाहरूलाई आवश्यक क्षतिपूर्ति

तथा अन्य सुविधाहरू सरकारले दिनुपर्ने साथै गिरफ्तार गरिएका आन्दोलनकारी नेताहरूलाई विनाशर्त तत्काल रिहा गर्नुपर्ने र राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झुठा मुद्दाहरू खारेज गरी र राज्यद्वारा जारी रहेको राज्य आतंक, हिंसा, हत्या, दमन र गिरफ्तारी तत्काल अन्त्य गरिनु पर्ने’ बताउनुभयो। अहिले सरकार संस्थागत एवं नीतिगत रुपमै भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रमा लागेको,

भूकम्पको एक बर्ष बितिसक्दा पनि भूकम्प पीडितहरूलाई राहत तथा पुनर्वास र पुनर्निर्माणका कार्य गर्न नसकेको महतोले आरोप लगाउनुभयो। आम जनता सम्बिधानमा पनि बिभेदमा पारिएको महसूस गरिरहेको र जनतालाई सुशासनको प्रत्याभूति नभईरहेको अवस्थामा जनता सड़कमा ओर्लिने र आन्दोलन फेरी उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने पनि महतोले ठोकुवा गर्नुभयो।

 

न्याय देउ, की त मृत्यु – संजय साह

…………………………………………………….

  जनकपुरमा / धनुषा क्षेत्र नं ४ का निलम्बित सांसद तथा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष संजय साह सँग भेंटघाँट गरी वहाँ माथि चलिरहेको मुद्दा बारे हालको अवस्था जान्ने प्रयास मैले (उपेन्द्र महतो, केन्द्रीय सदस्य, सदभावना पार्टी) गरें। संजय साह हिरासतमा रहेको अवस्थामा यो मेरो दोस्रो भेंटघाट थियो।

पहीलो भेंट सिरहा कारागारमा भएको थियो। हिजो जनकपुर जिल्ला प्रहरी कार्यालयमा भेंट्दा वहाँको शारीरिक अवस्था पहिलो भेंट भन्दा ज्यादै कमजोर पाएँ। वहाँ करिब एक हप्ता देखी “न्याय देउ, की त मृत्यु” भन्दै आमरण अनसनमा बसीरहेको अवस्था छ। फलामको ग्रिल बिच भएको हाम्रो भेंटमा करिब हप्तौं देखीको आमरण अनसनका कारण वहाँको शारिरिक कमज़ोरीले गर्दा वहाँ उभेर कुरा गर्न असमर्थ रहेको भन्नुभए पछि भुईंमै बसेर कुराकानी गरियो।

संचार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा संलग्न भई फरार रहेर शसस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप गएको चैत १७ गते पक्राउ परेपछि उनको बयानलाई कथित आधारमा संजय साहलाई सिंघानिया हत्याको मुख्य योजनाकार भन्दै अहिले हत्याकाण्डको अनुसन्धान र अदालती प्रक्रियाको निम्ती काठमाण्डौ कारागारबाट ल्याएर जनकपुर जिल्ला प्रहरी कार्यालयमा राखेको अवस्था छ। कुराकानीमा यस अनुसन्धान र बयानको क्रममा संचारमाध्यममा आएको समाचार भन्दा सत्यतथ्य भिन्न पाएँ। वहाँले सिंघानिया हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको र दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो। वहाँलाई जनकपुर ल्याउने बित्तीकै प्रहरी समक्ष पत्रकार एव मानव अधिकारकर्मीहरुको रोहबरमा सत्यतथ्य पतालगाउन आफुलाई पोलीग्राफ टेष्ट गर्न माग गरेको तर संचारमाध्यममा आफुले पोलीग्राफ़ गर्न नमानेको भनेर प्रहरी कार्यालयबाट गलत प्रचार गरिएको बताउनुभयो।

अझ अचम्मको कुरा त के छ भने संचारमाध्यममा वहाँले पोलीग्राफ़ गर्न नमानेको भनेर प्रहरी कार्यालयको हवाला दिएर समाचार आईरहँदा उनले एक पत्रकारको रोहबरमा आफ्नो पोलीग्राफ़ टेस्ट भैईसकेको बताउनु भयो। तर हिजो मात्र अदालतमा पेस गरेको मिसिलमा पोलीग्राफ़को रिपोर्ट सामेल गर्नुको त कुरै छोडौं पोलीग्राफ़ टेस्टको कुनै चर्चा पनि नगरेको वहाँले बताउनु भयो। पोलीग्राफ़ टेस्ट गर्नु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले सरकारको मन्साय माथि नै प्रश्न चिन्ह लागेको छ।

पोलीग्राफ़ टेस्ट गरिनु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले आफु निर्दोश रहेको तर जिल्ला प्रहरी कार्यालय कसैको स्पस्ट निर्देशनमा दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो।

संजय साहले भन्नुभयो वि.स.२०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको जनकपुर शिवचोकमा अज्ञात हतियारधारीले गोली प्रहार गरी हत्या गरेका थिए तर त्यस घटनाको दुई वर्ष पूर्व जनकपुर टुडे पत्रिकामा आफुलाई बदनाम गराउने समाचार प्रकाशन गरेको निहुमा आफुले पत्रिकाका प्रकाशक सञ्चार उद्यमी सिंघानियालाई नै हत्या गराएको प्रहरीले आरोप लगाउनु निराधार हो र दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो।

अहिले टेक्नोलोजीको युगमा बिभिन्न टेक्नोलोजीको प्रयोगबाट बोलेको कुरा साँचों या झुटो पत्ता लगाउन सकिन्छ र आफु ब्रेन मैपिंग देखी लिएर नार्को टेस्ट या अरू कुनै पनि टेस्ट गराउन तयार रहेको उनले बताउनुभयो। वहाँले नेपाल सरकारलाई यस घटनाको सत्यतथ्य पतालगाउन स्वतन्त्र एवं निस्पक्ष छानविन आयोग गठन गर्न पनि माग गर्नुभयो र आफु आमरण अनसनमा बस्नुको मुख्य माग नै स्वतन्त्र एवं निस्पक्ष छानविन आयोग गठन गराउनु हो, भन्नुभयो। साथै उनले राष्ट्रीय/अन्तराष्ट्रीय संचारमाध्यम तथा मानव

अधिकारकर्मीहरुलाई पनि आफुलाई न्याय दिलाई दिन अपिल गर्नुभयो। संजय साह धनुषा क्षेत्र ४ का निर्वाचित सभासद हुन र अहिले वहाँका समर्थकहरूले साह निर्दोष भए पनि फसाउन खोजेको भन्दै वहाँको समर्थनमा जनकपुरमा दिनहु जस्तो प्रदर्शन भईरहेको छ। यहाँका आमजनमानसमा पनि संजय साहको राजनितिक हत्या गर्न वहाँका बिपक्षीहरूले सरकारी संयन्त्रको दुरूपयोग गरिरहेको बुझाई छ।

 

ओलीले नस्लवादी सोंचका कारण मोहना अंसारीलाई हप्काएको – राजेन्द्र महतो

………………………………………………………………………………………………………

कपिलवस्तु। सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री ओली नस्लवादी सोंचका कारण राष्ट्रिय मानवअधिकार पदाधिकारिहरुलाई हप्काएको आरोप लगाएका छन्।

आज तौलिहवामा आयोजित जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा महतोले संवैधानिक र स्वतन्त्र निकाय मानव अधिकार आयोगका पदाधिकारिहरुलाई प्रधानमन्त्रीले आफ्नो पार्टी कार्यकर्तासँग गर्दै आएको सरह गरेको ब्यवहार निन्दनीय छ, भने।

साथै यो घट्ना आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप, लोकतन्त्र र मानव अधिकार मुल्यमान्यता एवं भावना विपरित छ, भने। राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले मार्च १६ राष्ट्रसंघीय मानव अधिकार परिषदको ३१ औं सत्रको विश्वव्यापी आवधिक समीक्षा बैठकमा प्रतिवेदन पेश गर्दै मधेश आन्दोलनमा ५५ जना मारिएको, आन्दोलनमा राज्यपक्षबाट अत्यधिक बल प्रयोग गरेको तथा मधेशमा आन्दोलनको क्रममा मारिएकाहरूको घटनाको विस्तृत छानबिन हुनुपर्ने व्योहोरा उल्लेख गर्नुलाई नै निहु बनाएर प्रधानमन्त्रीले केही दिन अगाडी राष्ट्रिय मानवअधिकार पदाधिकारिहरुलाई हप्काएको कुरा सार्वजनिक भएको थियो।

महतोले मोहना अंसारी महिला, मुस्लीम र मधेशी भएकैले नस्लवादी प्रधानमन्त्री ओलीले हप्काएको आरोप लगाउँदै अंसारीले स्वतन्त्र र संबैधानिक निकायको सदस्यको हैसियतले बिश्वलाई मधेश र मधेशीहरूसँग भईरहेको भेदभाव र दमनको जानकारी गरीएकोमा धन्यवाद पनि दिए। महतोले ‘प्रधानमन्त्री जस्तो पदमा बसी आयोगको संवैधानिक तथा स्वतन्त्र हैसियतको हेक्का राख्नुपर्छ की आयोगसँग प्रधानमन्त्रीले स्पष्टीकरण लिन वा निर्देशन दिन पाउँदैनन्’, भने।