आज जनै पूर्णिमा

rakhiश्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व जनैपूर्णिमा मनाइँदैछ । आज ब्राह्मण तथा पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने तथा शरीरमा जनै धारण गर्ने प्रचलन रहेको छ । शास्त्रीय मान्यताअनुसार तागाधारी अर्थात ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्षभरि वेद पढ्नुपर्ने र त्यसको समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिने गरेको समेत पाइन्छ ।

जनै पूर्णिमाका दिन स्नान गरी सप्तऋषि, ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । जनैमा रहेको शिखा अर्थात स–साना गाँठालाई जनैको मुटुको रुपमा लिइन्छ । वैज्ञानिक हिसाबले समेत जनैको महत्व रहेको छ । आजकै दिन तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको प्रतिकको रुपमा लिइने राखी बाँध्ने चलन छ ।

यद्यपी यो चलन पछिल्लो समय पहाडी तथा शहरी क्षेत्रमा पनि विस्तार भएको पाइन्छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने गरिन्छ । टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटीले शरीरमा शीक्त प्रदान गर्ने विश्वास छ । जनै धारण गर्नाले शरीरको रक्षा गर्ने, आयु बढाउने, शक्ति प्रदान गर्ने तथा नित्यकर्ममा लाग्न प्रेरित गर्ने धार्मिक विश्वास छ । जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

आज काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यता जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइकुण्डमा बिशेष मेला लागेको छ। नागपन्चमीमा सुरु भइ जनै पूर्णिमाका दिन सम्पन्न हुने मेला भर्न गोसाइकुण्डमा श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ। भmण्डै पैतालिस सय मिटरको उचाइमा रहेको गोसाइकुण्डस्थित त्रिशुलधारामा पूजा गरी मन्दिरमा अर्चना गर्नाले मनोकाँक्षा पूरा हुने विश्वास रहेको छ। विभिन्न नौ कुण्ड रहेको रसुवाको स्याफ्रु गाउँ विकास समितिमा पर्ने गोसाइकुण्डसँगै सूर्यकुण्ड, भैरव कुण्ड, नाग कुण्ड र सरस्वती कुण्डमा स्नान गर्नाले भगवान शिव खुसी हुने विश्वास रही आएको छ । मेला भर्न रसुवा, नुवाकोट, काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु गोसाइकुण्ड पुगेका छन् । उच्च हिमाली भूभाग र निकै चिसो हुनाले स्वास्थ्यमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै नेपाली सेना लगायत विभिन्न संघसंस्थाले स्वास्थ्य शिविर संचालन गरेका छन् । भक्तजनहरुको आवासलाई मध्यनजर गर्दै गोसाइकुण्ड मेला ब्यबस्थापन समितिले लौरीविना, चोलाङपाटी, चन्दनवारी, बुद्धचोक लगायतका स्थानमा अस्थायी आवासको ब्यबस्था गरेको छ। पौराणिक विश्वास अनुसार भगवान शीवजीले पृथ्वीको रक्षाका लागि कालकुट बिष सेवन गरेको र त्यसको असरबाट मुक्त हुन गोसाइकुण्डमा स्नान गरेको मान्यता रही आएको छ। उक्त कुण्डमा रहेको जल बाहिर निकाल्न शिवजीले त्रिशुल प्रहार गरी पानी बाहिर निकालेको बिश्वासमा गोसाइकुण्डबाट सुरु भएको नदिको नाम त्रिशुली रहन गएको हो । अधिकाँश तामाङ समुदायको बसोबास रहेको गोसाइकुण्डमा तामाङ पूजारीहरुले पूजा अर्चना गर्दै आएका छन् । बौद्ध धर्मावलम्वी झाँक्रीले बर्षमा एक पटक जनै पूर्णिमाका दिन मात्र पूजा अर्चना गर्ने चलन रही आएको छ ।