अन्तरजातीय जोडीको बिजोग, कहाँ छन् अधिकारकर्मीहरु ?

घर फर्कने वातावरण मिलाईदिन सिडिओसँग गुहार माग्न आएका जोडी ।
घर फर्कने वातावरण मिलाईदिन सिडिओसँग गुहार माग्न आएका जोडी ।

दुई वर्ष अघि अन्तरजातिय विवाह गरेका कारण समाजबाट वहिष्कृत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–३ का सञ्जय सदा र रमिता चौधरीले घर फर्कन शान्ति सुरक्षा माग गरेका छन् ।

गाउँका केही व्यक्तिहरुले ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै उनीहरुले सोमवार जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गरी निवदेन दिएका हुन् । शम्भुनाथ नगरपालिका वडा नम्वर–३ का २२ वर्षिय सञ्जयले स्थानीय २० वर्षिया रमिता चौधरीसँग दुई वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेका थिए । अन्तरजातीय विवाह गरेका कारण गाउँमा बस्नसक्ने अवस्था नदेखिएपछि उनीहरु विगत दुई वर्षदेखि अन्यत्र शरणार्थी सरह जीवनयापन गर्दैआएका छन् ।

आफूहरुले अन्तरजातीय प्रेम गरी विवाह गरी गाउँबाट भागेर विभिन्न गाउँमा शरण लिएर बस्ने क्रममा एक छोरीको समेत जन्म भईसकेको भए पनि आफ्नै घरमा गएर बस्ने अवस्था नरहेकोले प्रहरी प्रशासनको शरणमा गुहार माग्न पुगेको सदाले बताए । एक वर्षकी छोरी समेतको स्याहार–सुसार तथा संरक्षण गर्न आफूहरुलाई समस्या भईरहेको बताउँदै उनले भने– हामी दुईले एक–अर्कालाई मन परायौं, बा–आमाको मञ्जुरी बेगर अन्तरजातीय विवाह गर्यौं, त्यतिबेला गाउँमा शान्तिपूर्वक बस्न सक्ने अवस्था नभएकोले आफ्नै घर छोड्न बाध्य भयौं ।

दुई वर्षसम्म विभिन्न समस्याहरु झेलेर बस्दैआएकोमा हाल आमा बिरामी परेको थाहा पाई गत पुस १ गते मङ्गलवार गाउँ जाँदा अपशब्द प्रयोग गर्दै गाउँबाट तत्काल नगए ज्यान मारिदिने धम्की दिँदै कुटपीटको प्रयास गरेको पीडित सदाले बताए । स्थानीय तनुकलाल चौधरी, ध्रुब चौधरी, प्रभु चौधरी, नारायण चौधरी, राजेश चौधरी, सुरेश चौधरीसमेतकाले ज्यान मारिदिने धम्की दिँदै कुटपीटको प्रयास गर्दा स्थानीयवासिन्दाहरुले जोगाईदिएको पीडित दम्पतीले दुःखेसो सुनाए ।

आफूहरुलाई अपहरण गरी ज्यानमार्ने लगायतका धम्की दिने व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कार्वाही गर्नुका साथै गाउँमा शान्तिपूर्वक बस्ने व्यवस्था मिलाउनका लागि माग गरिएको निवेदनमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले तोक आदेश गरिसकेको उनीहरुले बताए । यता जिल्ला प्रहरी कार्यालय सप्तरीले सो सम्वन्धमा आवश्यक कार्वाही गर्न मङ्गलवार मातहतका निकायलाई निर्देशन दिईसकेको सदाले जानकारी दिए । आफूहरु आफ्नै गाउँमा गएर बस्न पाउने वातावरण मिलाउन सुरक्षा निकायले पहल गर्नेमा आफूहरु आशावादी रहेको उनले बताए ।

महिला अधिकारको ठूला ठूला कुरा गर्ने महिला अधिकारकर्मीहरु तथा मानवअधिकारकर्मीहरु किन मौन बसेका छन् । डलरको खेती गर्न नथाक्ने सप्तरीका अधिकारकर्मीहरुको कानमा किन अहिलेसम्म सदा र चौधरी जोडीको पीडा पुग्न सकेको छैन ।