अनमी निशाको ठगी धन्दा, फन्दामा स्वास्थ्यकर्मीहरु

अनमी निशा झा
अनमी निशा झा

‘तिमी स्वास्थ्यकर्मी हित संरक्षण मञ्चकी केन्द्रिय सदस्य फूलकुमारी माझी हैन ? म निरसु थापा, बाल स्वास्थ्य महाशाखा काठमाण्डौबाट बोल्दैछु, मलेसिया, चीन र बङ्गलादेश भ्रमणको लागि पाँच जना मधेशी अनमिहरुको कोटा आएको छ । भ्रमण अवधिमा १७ दिनको ३ लाख ५० हजार रुपैयाँ भत्ता सुविधा समेत छ । तिमीसँग भेट्न मान्छे पठाउँदैछु । यथाशक्य चाँडो  १० हजार ७ सय रुपैयाँ सहित सम्पूर्ण डकुेमेटहरु पठाऊ । मेरो मान्छेले चाँडै सम्पर्क गर्दैछ’ भनि फोन काटियो ।

महिलाले असोज २४ गते ९८०३३४०३८३ नम्वरबाट फोन गरेर यस्तो कुरा भनेपछि सप्तरीको बसबिट्टी गाविस स्थित उप–स्वास्थ्य चौकीमा कार्यरत अनमि माझीको खुशीको सीमा रहेन । त्यसपछि धनुषा जिल्लाको बनिनिया गोपालपुर गाविस स्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी निशा कुमारी झाले सप्तरीकी अनमि माझीलाई फोन गरेर महाशाखाले केही सिमित संख्यामा मात्र प्रतिनिधी चयन गर्न लागेको भन्दै चाँडो रकम व्यवस्था गरी सर्टिफिकेट र नागरिकताको फोटोकपी उपलब्ध गराउन भनिन् ।

सोही अनुसार माझी सहित महदेवा गाविस स्थित उप–स्वास्थ्य चौकीमा कार्यरत अनमि पञ्ची कुमारी यादव, रामपुर जमुवा उप–स्वास्थ्य चौकीमा कार्यरत अनमि पार्वती मण्डल, मलेठ गाविस स्थित उप–स्वास्थ्य चौकीकी अनमि रिमा यादव र बोरिया उप–स्वास्थ्य चौकीमा कार्यरत चन्द्रिका कुमारी यादवले विदेश भ्रमणका लागि पटक–पटक गरी २० हजार ७ सय रुपैयाँ निशालाई बुझाईन् । त्यसपछि विशेष परिस्थितिमा अभिभावक समेत जान पाउने भन्दै सिम्राहा सिंगियौन–२ का रामअधिन यादव र कटैया–१ का रुपेश रामबाट समेत निशाले २० हजार ७ सयका दरले रकम लिईन् ।

कार्तिक १५ गते उनले सबैजनालाई आफै उपस्थित हुनुपर्छ भन्दै काठमाण्डौ बोलाईन् । काठमाण्डौ बोलाएर निरसु थापा दिदिसँग भेंट गराउँछु भन्दै पटक–पटक विभिन्न ठाउँमा बोलाइन् । दुई दिनसम्म यसरी नै विभिन्न बहानाबाजी गरेर आफूहरुलाई बाल स्वास्थ्य महाशाखाको प्रतिक्षालयमा बसाई दिएको पीडित अनमि माझीले सप्तरी जागरणलाई बताईन् । आफूहरुले निरसु दिदीसँग भेंट गराई दिनु भन्दा निशाले ‘दिदी धेरै व्यस्त रहेकोले  अहिले भेट्न मिल्दैन’ भन्दै जवाफ दिएको माझीको भनाई छ । एकछिन पछि निशाले जिल्ला प्रशासन सप्तरीको चिठी भन्दै माथि आफूहरुको समेत नाम लेखिएको चिठी देखाईन् । उक्त चिठी माग गर्दा ‘चिठी अति गोप्य भएकोले म आफै जिल्ला प्रशासनमा बुझाउनेछु’ भनि जवाफ दिएको बताउँदै माझीले भनिन्– केही दिनपछि अनमि निशालाई फोन गर्दा चिठी जिल्ला प्रशासन कार्यालयमा बुझाई सकेको भनि जवाफ पाएँ ।

खोजी गर्दा बाल स्वास्थ्य महाशाखाको कुनै चिठी नआएको थाहा भयो– उनले भनिन् ।  पटक–पटक आफूले ताकेदा गर्दा निशाले रकम आफूले बुझेको भन्दै भर्पाई गरिदिएको बताउँदै अर्का पीडित अनमि पञ्चीले भनिन्– भर्पाईमा मंसिर १५ गतेभित्र विदेश भ्रमण पठाउने समय बितिसकेपछि आफूहरुले मोबाइलमा फोन गर्दा अचेल रिसाएर बोल्नुका साथै धम्की समेत दिने गरेकी छिन् । ‘आफूहरुसँग कुनै विकल्प नभएपछि ठगी तथा मानसिक प्रताडना दिने व्यक्तिलाई कानूनी कार्वाही गराउनका लागि आइतवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिन आएको अनमि पञ्चीले जानकारी दिइन् ।

निशाले बाल स्वास्थ्य महाशाखा काठमाण्डौबाट विदेश भ्रमणका लागि २० हजार ७ सयका दरले १ लाख ४४ हजार ९ सय बुझिलिएँ भन्दै सही छाप गरिदिएको कागज समेत पञ्चीले देखाईन् । मंसिर १५ गतेभित्रमा विदेश भ्रमणको तिथि मिति बैधानिक रुपले तय गरी सो तय भएको मितिमा विदेश भ्रमण गराउनेछु भन्ने कुरा कागजमा उल्लेख छ ।

यता यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देवले अनमि निशाको विषयमा यस्ता कैयौं गुनासाहरु आफूकहाँ आएको स्वीकार गरेका छन् । गुनासाहरुका विषयमा उनलाई भन्दा आफूसँग धेरैजनाको लेनदेन रहेको भन्दै कार्यालय बाहेकका गतिविधि निजी मामिला भएको भन्दै पञ्छिने गरेको जनस्वास्थ्य प्रमुख देवले टेलिफोनमा भने ।

उनले सप्तरीकै भरत साह, अनिरुद्ध यादव, लक्ष्मी चौधरीसमेतका व्यक्तिहरुबाट यसरी नै भ्रमणको नाममा रकम असुली गरेको खुल्न आएको छ । ती व्यक्तिहरुले समेत निशाले ठगी गरेपछि उनीहरुलाई पैसा फिर्ता दिईएको बुझिएको छ ।

यस विषयमा धनुषामा कार्यरत अनमि निशासँग बुझ्न खोज्दा उनले प्रयोग गर्ने गरेको ९८४४१२४२०२ मा शनिवार र आइतवार निरन्तर सम्पर्क गर्दा मोबाइल उठेन ।