अंगिकृतलाइ उच्च पद मान्य हुदैन : सांसद उमेशकुमार यादव

press meetनेकपा माओवादी (केन्द्र)का पोलिटब्युरो सदस्य एवम् सप्तरी क्षेत्र नं ३ का सांसद उमेशकुमार यादवले अंगिकृत नागरिकलाई पनि राज्यका उच्च पद दिनुपर्ने ब्यवस्था मधेशी मोर्चाको सामुहिक माग नरहेको कुरा वताएका छन् ।

शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले भने–‘अंगिकृतलाई उच्च पद दिने कुरा कुनै हालतमा पनि सम्भव छैन, मोर्चाको पनि सामुहिक माग होईन ।’ ‘अंगिकृत नागरिक्ताको विषय कुनै दल विशेषको वा ब्यक्ति विशेषको कुरा हुन सक्ला’ पुर्व सिचाई मन्त्री समेत रहेका यादवले थपे–‘हामी यसमा कुनै हालतमा पनि सहमत हुन सक्दैनौं, यसले मधेशका भुमि पुत्र (मुल निवासी)हरुलाई पनि समस्यामा पार्न सक्छ ।’

अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रश्तावका वारेमा संचारकर्मीहरुले राखेको जिज्ञासामा नेता यादवले स्वेच्छाचारी ढंगवाट समानान्तर सरकार चलाउन खोेजेका कारण उनलाई हटाउनुको विकल्प नरहेको स्पष्ट पारे ।

उनले भने–‘लोकमानले मन्त्री, सचिव, राजदुतदेखि पिउन नियुक्ति समेतमा हस्तक्षेप गर्न थाले, अदालत र संसदिय समिति समेतको आदेशलाई पनि उलंघन गर्न थालेपछि हटाउनुको विकल्प रहेन ।’ आफनै गलत कार्यशैलीका कारण लोकमानको पतन सुरु भएको यादवको कथन छ । ‘देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा रहेको वेला शान्तिपुर्ण ‘कु’ गर्न खोजेकैले पतनको सुरुवात भएको हो’– उनले भने ।

‘जनतासँग सांसद’ अभियान सुभारम्भको घाषणाका लागि आयोजित पत्रकार सम्मेलनमा यादवले आफनो संसदिय निर्वाचन क्षेत्र नं. ३ मा एक वर्षे अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम सुरु भएको जानकारी दिए । मंसिरदेखि फागुन मसान्तसम्मको प्रथम चरणमा आफना क्षेत्रका प्रत्येक जनताको घरदैलोमा पुगी विकासीय कामको अवस्था र सुधार गर्नुपर्ने पक्षका वारेमा जानकरी लिने उनले वताए ।

यादवले आफु सांसदमा निर्वाचित भएपछि सुरु गरेका कामलाई निरन्तरता दिनुका साथै सरसफाई, साक्षरता, वृक्षारोपण, युवा परिचालन लगायत सरकारी कार्यालय र निर्माण ब्यवसायीका कारण काममा ढिलासुस्ती नहोस भन्नका लागि शान्तिपुर्ण आन्दोलन गर्न समेत पछि नपर्ने उदघोष गरे । उनले जनताका लागि हुने विकासीय काममा जनताको समेत निगरानीका लागि आग्रह गरे ।